९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

श्रममन्त्री श्रेष्ठ नेतृत्वको टोली यूएई, सेसेल्स र कतार भ्रमणमा जाँदै



काठमाण्डौ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली यूएई, सेसेल्स र कतारको भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्दैछ ।

नेपाल–यूएई संयुक्त समितिको बैठकका साथै रोजगारीका लागि पर्यटन भिसामा संयुक्त अरब इमिरेट्स पुगी अलपत्र परेका नेपालीको समस्या समाधानका लागि मन्त्री श्रेष्ठ नेतृत्वको टोली यूएई जान लागेको हो ।

भ्रमण टोलीमा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा. थानेश्वर भुसाल, परराष्ट्र मन्त्रालयका उपसचिव प्रकाश अधिकारी र केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक रोशन खड्का हुनुहुन्छ ।

भिजिट भिसामा लैजाने व्यक्तिरसंस्थालाई कानुनी दायरामा ल्याउन केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षकलाई पनि टोलीमा समावेश गरिएको हो । भ्रमणका क्रममा मन्त्री श्रेष्ठले संयुक्त अरब इमिरेट्सका आफ्ना समकक्षीका अतिरिक्त त्यहाँका उच्चपदस्थ अधिकारी र नेपाली श्रमिकहरूसँग पनि छलफल गर्ने कार्यक्रम छ ।

मन्त्री श्रेष्ठले भोलि भिजिट भिसा र त्यसबाट सिर्जित समस्या समाधानका उपायबारे यूएईका मानव संशाधनमन्त्री डा. अब्दुलरहमान अब्दुलमानन अल अवारसँग छलफल गर्नुहुनेछ । भोलि नै नेपाल–यूएई संयुक्त समितिको बैठक उद्घाटन सत्रमा मन्त्री श्रेष्ठले सम्बोधन गर्नुहुनेछ ।

नेपाल–यूएई संयुक्त समिति बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सहसचिव राजीव पोखरेलले गर्नुहुनेछ । नेपाल–यूएई संयुक्त समितिको बैठकमा सन् २०१९ मा भएको श्रम–सम्झौता कार्यान्वयनमा देखा परेका समस्या समाधानबारे छलफल हुनेछ ।

पर्सि मन्त्री श्रेष्ठले आबुधाबीमा रहेको नेपाली दूतावासमा नेपाली श्रमिकले भोगेका समस्या र समाधानबारे नेपाली समुदायसँग छलफल गर्नुहुनेछ । मन्त्री श्रेष्ठ नेतृत्वको टोलीले पर्सि नै यूएईमा सरकार मातहत रहेका आप्रवासी घरेलु श्रमिक सेवा प्रदायक संस्थाहरु (तडवीर सेन्टर) मा भ्रमण गर्ने कार्यक्रम छ । त्यही दिन उहाँले यूएईमा रहेका नेपाली समुदाय तथा श्रमिकहरुसँग अन्तर्क्रिया गर्नुहुनेछ । मन्त्री श्रेष्ठ नेतृत्वको टोली बिहीवार बेलुका अफ्रिकी देश गणतन्त्र सेसेल्स प्रस्थान गर्नेछ ।

वैदेशिक रोजगारीका लागि नेपाली श्रमिक लैजान गणतन्त्र सेसेल्सबाट प्राप्त द्विपक्षीय श्रम सम्झौताको प्रस्ताव र रोजगारीका थप अवसरहरुबारे त्यहाँका उच्च अधिकारीहरुसँग छलफल हुनेछ। भ्रमण टोली आउँदो आइतवार कतार जाने र सोमवार कतारसँगको श्रम सम्झौता नवीकरणबारे उच्चस्तरीय छलफल गर्ने कार्यक्रम छ । मन्त्री श्रेष्ठ नेतृत्वको टोली मङ्गलवार स्वदेश फर्किने छ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८ सोमबार ००:००  ७ : ५५ बजे