१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

देशको अर्थतन्त्र जलविद्युतको केन्द्रमा छः मन्त्री भुसाल



काठमाण्डौ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले देशको अर्थतन्त्र जलविद्युतको केन्द्रमा रहेको बताउनुभएको छ । आज सोमवार ललितपुरमा आयोजित ‘जलविद्युत् परियोजनामा बाढी पूर्वसूचना प्रणालीको व्यवस्था तथा स्थानीय निकायहरूसँगको सहकार्य र समन्वय’ विषयक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री भुसालले देशभित्रका निजी क्षेत्र, सबै वित्तीय क्षेत्र र अन्तर्राष्ट्रिय क्षेत्रको समेत लगानी विद्युतमा रहेकाले त्यो लगानीलाई जोखिममा पर्न दिनु नहुने उहाँले बताउनुभयो । सरकारले जोखिम न्यूनीकरण गरी आयोजना निर्माण गर्नका लागि आवश्यक नीति तथा निर्देशिका बनाउन र विभिन्न निकायहरूसँग समन्वय गरी आवश्यक पहल गरिरहेको उहाँको भनाइ छ ।

कार्यक्रममा मन्त्री भुसालले उहाँले बिजुलीको आन्तरिक खपत बढाउन सरकारले आवश्यक काम अगाडि बढाएको बताउनुभयो । नेपाल नवीकरणीय ऊर्जाका लागि दक्षिण एसियाकै केन्द्र बन्न लागेको उल्लेख गर्दै उहाँले जलविद्युत् आयोजनाहरूको निर्माणको काम उत्साहित रूपमा अगाडि बढिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘वर्तमान परिस्थितिमा नवीकरणीय ऊर्जा विश्वकै लागि अपरिहार्य आवश्यकता रहेको हामीले देखेका छौँ । छिमेकी देशका साथै समग्र दक्षिण एसियाकै लागि पनि नेपालको नवीकरणीय ऊर्जा केन्द्र बन्ने हामीले देखिराखेका छौँ । त्यसका लागि नेपालले जलविद्युत् आयोजनाहरूको काम उत्साहका साथ काम अगाडि बढाएको छ ।’

सरकारले सन् २०२८ सम्ममा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेको उहाँले बताउनुभयो । मन्त्री भुसालले जलविद्युत् आयोजनाहरू गुणस्तरीय र दिगो बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले छिमेकी देशहरूलाई बिजुली निर्यात गर्न आवश्यक नीति, नियम र वातावरण पनि तयार गरिएको स्पष्ट पार्नुभयो ।

मन्त्री भुसालले जल तथा मौसम विज्ञान विभागमार्फत देशभर भएका जल तथा मौसम स्टेशन तथा नयाँ स्टेशनहरू थप गरी अझ वैज्ञानिक र विश्वसनीय रूपमा अगाडि बढ्ने पनि बताउनुभयो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८ सोमबार ००:००  २ : २१ बजे