५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

भारतीय सवारीबाट कपिलवस्तुमा एक हप्ताको फरकमा एउटै स्थानमा दुई जनाको निधन



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुमा फाल्गुणको अन्तिम हप्ता कहालीलाग्दो सडक दुर्घटना भएको छ । जिल्लाको वाणगंगा नगरपालिका वडा नं. ११ ओदारीमा एक हप्ताको फरकमा एकै स्थानमा दुई भारतीय सवारीले फरक फरक दुर्घटना मार्फत दुई जना युवा युवतीको ज्यान लिएको छ ।

फाल्गुण २२ गते साँझ ९ बजे भारतीय ट्रकले एक अटोलाई ठक्कर दियो । ओदारी बजार क्षेत्र मै उक्त भारतीय ट्रकले अटोलाई ठक्कर मात्र दिएन करिब ५० मिटर घिसार्दै चालकको ज्यान लियो ।

असाध्यै दर्दनाक उक्त सवारी दुर्घटना पश्चात ओदारीबासी दोषि उपर कारबाहीको माग गर्दै तत्कालै सडकमा उत्रिए ।

दुर्घटना पश्चात उक्त भारतीय ट्रक र चालक ओदारीमै रहेको प्रहरी अस्थायी पोस्ट्मा पुगे । प्रहरी नियन्त्रणमा रहेको ट्रक र चालक माथि कारबाहीको माग गर्दै स्थानीयबासी हड्ताल सम्ममा उत्रिए ।

यतिसम्म की स्थिति नियन्त्रणमा लिन प्रहरीले उक्त दिन अश्रृग्यास प्रहार गर्नु परेको थियो भने पटक पटक हवाई फायर गरेको थियो ।
घटना घटेको अर्को दिन फाल्गुण २३ गते मृतक परिवार, स्थानीयबासी र प्रहरी बीच सहमती पश्चात स्थिति सामान्यमा फर्कियो । बन्द रहेको तौलिहवा–चारनम्बर सडक पनि सुचारु भयो ।

उक्त दुर्घटनामा २५ बर्षीय युवा अनिल मगरको निधन भएको थियो ।

उक्त दिनको दर्दनाक घटनाको आलो घाउ सेलाउन नपाउँदै फाल्गुण २७ गते फेरि बजार क्षेत्रमा अर्को दुर्घटना घट्यो । ओदारी माविमा पढ्ने छात्रा सृजना यादवलाई भारतीय ट्रकले ठक्कर दियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी यादवको उपचारको क्रममा सोमबार निधन भएको छ ।

छात्रालाई ट्रकले ठक्कर दिएपछि पुनः ओदारीको स्थिती तनावपूर्ण नै रह्यो । विद्यार्थीले ठक्कर दिने ट्रक चालकमाथि कडा कारबाहीको माग गर्दै सडकमा नाराबाजी गरेका थिए । घाइते छात्रा यादवको बाच्ने आशा गरेका विद्यार्थीले सोमबार पीडादायी सन्देश सुने ।

एकै प्रकृतिको दुई दुर्घटनाबारे जिल्ला ट्राफिक कार्यालय गोरुसिंगेका प्रमुख दिलिप कार्कीले विभिन्न कारण बताउन्छन् । दुवै घटना घटाएका चालकले मापसे प्रयोग गरेको नपाइएको भए पनि पहिलो दुर्घटनामा चालकको गम्भीर लापरबाही देखिएको उनले बताए ।

अटोलाई ठक्कर दिइ सकेपछि पनि ट्रकले घाइतेलाई घिसार्दै अगाडी बढ्नु लापरबाही नै भएको उनले बताए । यद्यपि चालकले थप घटना घट्ने डरले हो की अन्य कारणले हो चालकसंग अनुसन्धान गरिरहेको उनको भनाईँ छ ।

दोस्रो घटनाका बारेमा पनि अनुसन्धान गरिरहेको उनले जनाएका छन् ।

दुर्घटनाको मुख्य दोष चालकमा भएपनि सडकमा सवार जो कोहीले पनि लेन अनुशासनको पालना गर्नुपर्नेमा उनको जोड छ । लेन अनुशासन पालना गरेको खण्डमा अधिकांश दुर्घटनामा कमी आउने उनले विश्वास व्यक्त गरे ।

यता फाल्गुण ९ गते ओदारीमै ४० बर्षीय कचहरी थारुको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको थियो । थारु बाटो काट्नेक्रममा मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७८ मंगलबार ००:००  ३ : ३७ बजे