६ असार २०८३, शनिबार | Sun Jun 21 2026

कांग्रेसका केही नेताले तुच्छ भाषा बोल्नुभयो – प्रचण्ड



पोखरा ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका केही नेताले तुच्छ भाषा बोलेको भन्दै मन दुखाएका छन्। तर अहिलेको अवस्थामा एमालेसँग चुनावी तालमेल नहुने उनले स्पष्ट पारे।
पोखरामा आइतबार बिहान पत्रकारसँग कुराकानी गर्दै उनले चुनावी तालमेलबारे सबै सम्भावना खुला रहेको बताए।

‘कांग्रेसका केही नेताले तुच्छ भाषा बोल्नुभयो। त्यसैले मैले एमालेसँग पनि गठबन्धन हुनसक्ने कुराको संकेत गरेको हुँ’, प्रचण्डले भने, ‘तर अहिले एमालेसँग गठबन्धन गर्ने कुरा छैन। यही गठबन्धन कायम रहन्छ।’

उनले माओवादी एक्लै आफ्नै खुट्टामा उभिने गरी चुनावको तयारीमा लागेको सुनाए। ‘निर्वाचन गठबन्धनबाट हुन्छ कि एक्लै हुन्छ भन्ने आम सवाल छ। हामी गठबन्धन होला र चुनाव जितौंला भनेर बस्ने होइन’, प्रचण्डले भने, ‘आफ्नै खुट्टामा उभिने हो। आफ्नै संगठनलाई बलियो पार्ने हो।’

जनताका मुद्दा माओवादीको प्रमुख एजेण्डा भएको भन्दै उनले त्यसैलाई लिएर चुनावमा जाने बताए। उनले निर्वाचन तोकिएकै मितिमा हुने दावी गरे।

‘हुन त नेपालमा चुनावको बिहान पनि हुन्छ कि हुँदैन भनेर शंका गर्छन्। म भन्छु स्थानीय निर्वाचन बैशाख ३० गते नै हुन्छ,’ उनले भने, ‘यसमा दुविधा पाल्नुपर्ने कुनै कारण छैन। चुनावको तयारीमा लाग्न म आग्रह गर्छु।’

संविधान र अहिलेको व्यवस्थाको रक्षा गर्न माओवादी अन्तिमसम्म लड्ने प्रचण्डले बताए।

प्रकाशित मिति : ६ चैत्र २०७८ आइतबार ००:००  १ : ०८ बजे