९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

चीनबाट २ सय ३२ मेट्रिक टन रासायनिक मल तातोपानी भित्रियो



काठमाण्डौ ।

चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ ।

तातोपानी नाका भएर हिजो दुई सय ३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताउनुभयो । शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो ।

भन्सार विभागबाट रिपोर्ट आउनासाथ मल काठमाण्डौ पठाइने गौतमले बताउनुभयो । बोलपत्र पाएपछि ६ महिनाअघि शिल्कले पहिलो खेपमा एक हजार ५ सय मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ । बाँकी आठ हजार ५ सय मेट्रिक टन मल ल्याउन थालिएको शिल्क मार्केटले जनाएको छ ।

६ महिनाअघि नै आउनुपर्ने मल बल्ल भित्रिन थालेको छ । पहिलो खेप ल्याएपछि चीनले रासायनिक मल निर्यातमा रोक लगाएपछि ल्याउन ढिलाइ भएको शिल्क मार्केटले जनाएको छ । ग्लोबल टेन्डरमा शिल्कले प्रतिमेट्रिक टन रासायनिक मल ६ सय ६१ अमेरिकी डलरमा आयात गर्ने सम्झौता गरेको थियो ।

यो सँगै रासायनिक मलमा चीन नेपालको नयाँ बजार बनेको छ । रासायनिक मलका लागि यसअघि नेपाल भारतसँग निर्भर थियो । किसानले मलको अभाव खेप्दै आएका छन् । एउटा देशसँग मात्र परनिर्भर बन्दा खेतीपातीको समयमा नेपालमा रासायनिक मलको चरम अभाव हुँदै आएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७८ बिहिबार ००:००  ७ : ३५ बजे