२५ कार्तिक २०८१, आइतबार | Sun Nov 10 2024

वाणगंगाको नगर उप–प्रमुखका उम्मेद्वारमा अब्बल कमल भट्टराई



मायादेवी अनलाइन, वाणगंगा ।
३७ बर्षीय युवा नेता कमल भट्टराई कपिलवस्तु वाणगंगा नगरपालिकाको उप-प्रमुखको दौडमा छन् । आउँदो बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा चार दलीय गठबन्धनबाट उप-प्रमुखको साझा उम्मेद्वार बनेका भट्टराई वाक कलामा मात्र होइन्, अध्ययनको क्षेत्रमा पनि उत्कृष्ट छन् ।

सानै देखि विद्यार्थी राजनीति थालेका भट्टराई २०६२ सालको सिद्धार्थ क्याम्पस बुङ्चीको स्ववियू सभापति पनि हुन् । अनेरास्ववियूको प्रारम्भिक कमिटीबाट राजनीति थालेका भट्टराई जिल्लाका विभिन्न पदमा रहदै केन्द्रीय सदस्यसम्म बनेका थिए ।

अनेरास्ववियूको लुम्बिनी अञ्चल प्रमुख समेत भएर काम गरेका भट्टराई अनेरास्ववियूको २० औं राष्ट्रिय महाधिवेशनमा भारी मतले केन्द्रीय सदस्य जितेका थिए ।

तत्कालिन एमाले भित्र चर्चित रहेका भट्टराई पार्टीको अन्तर विरोध चर्कदै जादा माधव कुमार नेपाल पक्षमा थिए । नेकपा (एकीकृत समाजवादी) गठन पश्चात यतै लागेका भट्टराई हाल जिल्लाका उप-सचिव छन् ।

व्यवस्थापन संकायमा स्नातक गरेका भट्टराई पढाईमा समेत अब्बल छन् । ग्रामीण विकासमा हाल मास्टर्स गर्दै गरेका उनले कानुन संकायबाट पनि एलएलबी गर्दै छन् ।

अध्ययन र वाककलाका धनी उनी आर्थिक विपन्नता छाउदा समेत राजनीतिमा अविचलित रुपमा लागेका नेता हुन् । उनलाई नजिकबाट चिन्नेहरु निकै साहसी, धैर्यवान नेताका रुपमा चिन्दछन् ।

बाबुलाई क्यान्सर लाग्दा आर्थिक अभावका कारण राम्रो उपचार गराउन उनले सकेनन् । क्यान्सरले थलिएका उनका बाबुको अल्पायुमै निधन हुन पुग्यो । आर्थिक संकटले थिच्दै जादा समेत भट्टराईले राजनीति छाड्न सकेनन् । घरका एकल सन्तानका रुपमा रहेका भट्टराई बाबुको उपचारमा सधै सम्पत्ति सकिए पछि कोरियाको सपना देखे ।

आर्थिक भारलाई कम गर्ने उद्धेश्य लिएर भट्टराईले समय निकालेर कोरियन भाषा सिके । उनी भाषा परिक्षामा १ सय अंकका साथ उत्रिर्ण भए ।

कोरिया जादा पनि राजनीति गतिविधिमा जोडिएका भट्टराई तत्कालिन एमाले निकट प्रवासी नेपाली मञ्च कोरियाको केन्द्रीय सदस्य भएर काम गरे । ५ बर्ष कोरिया बस्दा उनी थुप्रै राजनीति कार्यक्रममा सरिक बने ।

आर्थिक रुपमा संकटग्रस्त भट्टराई ऋण तिर्ने अवस्थामा आए पछि नेपाल फर्किएर पुनः राजनीति गतिविधिमा संलग्न हुँदै नगर उप-प्रमुखको उम्मेद्वार बनेका हुन् ।

वडा नं. ५ मधौली निवासी भट्टराई चुनावी मैदानमा दौडिरहदा उनलाई नजिकबाट नियाल्नेहरुले हौसला थपिरहेका छन् । अन्य पार्टीले उठाएका उप-प्रमुखको तुलनामा भट्टराई अब्बल रहेको अधिकांश बताउँछन् । संगठनका हिसाबले चार दलीय गठबन्धन वाणगंगामा एमाले, कांग्रेस भन्दा कमजोर छ । यद्यपि कलम चुनाव चिह्न लिएर लडेका भट्टराईलाई आम मतदाताले कसरी हेर्छन् बैशाख ३० कुर्नै पर्ने छ।

मत माग्दै मतदाताको घरदैलोमा पुग्दा भट्टराईले वाणगंगामा सुशासनलाई प्रमुख मुद्धा बनाएका छन् । सुशासनमा राम्रो हुँदा मात्र विकास सम्भव भएको ठान्ने भट्टराई भ्रष्ट्राचार निर्मुल पार्दै युवा पिढीलाई राजनीतिमा सक्रिय बनाउनुपर्ने मत राख्छन् । विचारसहितका युवाले मात्र समाजको रुपान्तरमा महत्वपूर्ण भूमिका खेल्ने भट्टराई बताउँछन् ।

५ बर्ष कोरिया बस्दा त्यहाँको विकासलाई नजिकबाट नियालेका भट्टराईले देशमा राजनीति दलको इच्छा शक्ति नभएकै कारण मुलुक पछाडी परेको उनको धारणा छ । योग्य नागरिक मात्र राजनीतिमा आउँन सके मुलुक बन्ने भन्दै अब चुनावमा आम मतदाताले हाम्रो भन्दा पनि राम्रोलाई छनौट गर्नुपर्नेमा उनले जोड दिन्छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७९ मंगलबार ००:००  ८ : ४६ बजे