८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नवनिर्वाचित बाणगंगाका नगर प्रमुख अर्यालले दिए सबैलाई धन्यवाद



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख चक्रपाणी अर्यालले बाणगंगा नगरपालिकाको निर्वाचनमा उत्साहपूर्वक मतदान प्रकृयामा सहभागी भई आफ्नो अमुल्य मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण मतदाता प्रति विशेष धन्यवाद एवम् आभार ब्यक्त गर्नु भएको छ ।

नवनिर्वाचित नगर प्रमुख अर्यालले निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न भूमिका खेल्नुहुने निर्वाचन प्रमुख, सहायक निर्वाचन अधिकृत, राजनैतिक दलका प्रतिनिधी, सुरक्षा निकाय, निर्वाचन प्रक्रियामा खटिनुहुने कर्मचारी, संचारकर्मी, पर्यवेक्षक, एवम् प्रत्यक्ष तथा परोक्ष रुपमा निर्वाचन सु–सम्पन्न गर्न सहयोग पुर्‍याउने सबै पक्षलाई विशेष धन्यवाद ज्ञापन गर्नु भएको छ ।

नगर प्रमुख अर्यालले नगरबासीले अमूल्य मत दिएर समृद्ध नगर, सुखी बाणगंगा नगरबासीको संकल्प पुरा गर्न महत्वपूर्ण योगदान पुर्‍याएको प्रति विशेष धन्यवाद ज्ञापन गर्दै नगर प्रमुखको प्राप्त जिम्मेवारीबाट बाणगंगा नगरबासीको अभिभावकत्व ग्रहण गर्दै आफुलाई थप जिम्मेवार वोध गराएको धारणा राख्नु भएको छ ।

नगर प्रमुख अर्यालले ‘हाम्रो मूल ध्येय भनेकै ‘समृद्ध नगर, सुखी वाणगंगा बासी ’ हो । यस ध्येयलाई साकार पार्नका निमित्त निर्वाचनका सन्दर्भमा जनताका सामु गरिएका प्रतिवद्धता अनुरुप विकास र सुशासनलाई तीब्र गतिमा अघि बढाउन नगरको स्पष्ट दृष्टिकोण, नीति र कार्यक्रम मार्फत अगाडी बढने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ ।

नव निर्वाचित नगर प्रमुख अर्यालले लोकतन्त्रको सुन्दर पक्ष भनेकै आवधिक निर्वाचन भएको बताउदै निर्वाचनमा विजेता र उपविजेता हुने कुरा स्वभाविक हुने धारणा राख्नु भएको छ । नगर प्रमुख अर्यालले समृद्ध नगर, सुखी बाणगंगा नगरबासीको संकल्प पुरा गर्न राजनैतिक दल, स्थानिय संघ, संस्था, विषयगत क्षेत्र, नागरिक समाज, सबै क्षेत्र, पक्ष, समुदाय एवम् नगरबासीको इच्छा, चाहना अनुरुप प्राप्त रचनात्मक सुझावहरु ग्रहण गर्दै सवै पक्षसंगको समन्वय, सहकार्यमा नगरले आगामी दिनमा आफ्ना नीति, कार्यक्रम अगाडी बढाउने प्रतिवद्धता ब्यक्त गर्दै सम्पूर्ण मतदाता प्रति पुनः धन्यवाद एवम् आभार प्रकट गर्नु भएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९ शुक्रबार ००:००  १० : १३ बजे