२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

बुङ्चीमा मोटरसाइकल र ट्र्याक्टर ठोक्किँदा १ युवक गम्भीर घाइते



जितपुर ।  कपिलवस्तुको बाणगंगा नगरपालिका–१ बुङ्चीस्थित पूर्व–पश्चिम राजमार्गमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा एक युवक गम्भीर घाइते भएका छन् ।

बिहान करिब ११ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००५ प २३८७ नम्बरको मोटरसाइकल बुङ्चीको भित्री सडकबाट पूर्व–पश्चिम राजमार्गमा निस्किरहेको लु ४ त २६७९ नम्बरको ट्र्याक्टरको ट्रलीमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक बाणगंगा नगरपालिका–८ चप्परगाउँ निवासी २२ वर्षीय आकाश भन्ने सुनिल बेल्बासे गम्भीर घाइते भएका छन्।  उनको टाउको, मुख तथा घाँटीमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। घाइते बेल्बासेलाई तत्काल उद्धार गरी बाणगंगा सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको थियो ।

अस्पतालमा प्रारम्भिक उपचारपछि स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै थप उपचारका लागि भैरहवा रिफर गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ।

दुर्घटनापछि ट्र्याक्टर घटनास्थलमै रहेको भए पनि चालक फरार भएका छन् । फरार चालकको खोजी कार्य तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीयवासीको अनुसार उक्त स्थानमा भित्री सडकबाट राजमार्गमा सवारीसाधन प्रवेश गर्ने क्रममा पर्याप्त सावधानी नअपनाउँदा बेला–बेलामा दुर्घटना हुने गरेको छ । त्यस क्षेत्रमा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन तथा सवारी चालकलाई विशेष सतर्कता अपनाउन स्थानीयले सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८३ बिहिबार ००:००  ६ : ३० बजे