१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

एसईईमा ४ जिपिए ल्याउने होराइजनका घिमिरेलाई सम्मान



मायादेवी अनलाइन, बाणगंगा ।
एसईई परीक्षा-२०७८ मा ४ जेपिए ल्याएर कपिलवस्तुमै उत्कृष्ट भएका करुण घिमिरेलाई सम्मान गरिएको छ ।

जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ४, सिद्धिपुरस्थित होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालयबाट एसईई दिएका घिमिरेलाई आइतबार एक विशेष समारोह आयोजना गरि सम्मान गरिएको हो ।

घिमिरेको सम्मान कार्यक्रममा उपस्थित बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले घिमिरेले ल्याएको नतिजाले कपिलवस्तुवासीकै शिर ठाडो बनेको बताए ।

‘कपिलवस्तुले पनि गुणस्तरीय शिक्षा दिन सक्छ भन्ने उदाहरण घिमिरेले दिएका छन्, मेयर अर्यालले भने, ‘शिक्षा क्षेत्रमा हेपिएको कपिलवस्तुबाट एसईईमा ४ जिपिए ल्याउनु जिल्लाकै लागि खुसीको कुरा हो ।’

कार्यक्रममा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले कपिलवस्तुबाट ४ जिपिए आउँदा आफ्नो पनि शीर ठाडो भएको बताए । आगामी दिनमा बाणगंगाले लागू औषध र दुर्घटना न्यूनीकरण जस्ता क्षेत्रमा काम गर्नुपर्नेमा उनले जोड दिए ।

होराइजनका प्राचार्य बासुदेव घिमिरेले जिल्लामा ४ जिपिए अहिलेसम्म कुनै विद्यार्थीले नल्याएको भन्दै अहिले आफ्नो विद्यालयले पहिलो पटक ल्याएको बताए । घिमिरेले होराइजन कपिलवस्तु जिल्लामै पहिलो ‘क’ वर्गको विद्यालय हुनुका साथै राष्ट्रियस्तरमा विभिन्न विधामा सम्मान पनि प्राप्त गरिसकेको र शिक्षा क्षेत्रमा अब्बल विद्यालयको रुपमा आफ्नो परिचय स्थापित गर्न सफल रहेको बताए ।

विद्यालयका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजूले उत्कृष्ट नतिजा ल्याउने सपनाले रुपन्देही र कपिलवस्तुका बौद्धिक व्यक्तित्वहरुको हातेमालोबाट विद्यालय संचालन गरिएको बताउँदै आफूहरुको सपना थोरै मात्र पूरा भए पनि अझै धेरै कुरा गर्न बाँकी रहेको र शिक्षा क्षेत्रमा कपिलवस्तु जिल्लाका लागि अनुकरणीय कार्यहरु गर्ने बताए ।

सोही अवसरमा बोल्दै घिमिरेले आफ्नो दिदी पनि विगतमा यसै विद्यालयबाट एसईई दिएर जिल्ला प्रथम भएको र दिदीको हौसला, शिक्षकहरुको मेहनत, साथीभाई, घरपरिवारको प्रेरणाले ४ जिपिए ल्याउन सफल भएको सुनाए ।

घिमिरेलाई बाजागाजासहित बाणगंगा नगर परिक्रमा पनि गराइएको थियो । होराइजनका सयौं विद्यार्थी, शिक्षक, अभिभावकको सहभागीतामा नगर परिक्रमा गराइएको हो ।

सो अवसरमा घिमिरेसहित एसईईमा उत्रिर्ण हुने अरु विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।

यो बर्ष होराइजनबाट एसईइ दिएका मध्ये एक जनाले ४ जिपिए, ए प्लस ल्याउने १६ जना, ए ल्याउने २४ जना, बी प्लस ल्याउने ४ जना, बी ल्याउने १ जना र सी प्लस ल्याउने १ जना छन् । यी सबै विद्यार्थी र माध्यमिक तहका शिक्षकहरुलाई होराजइनले सम्मान गरेको थियो ।

यस्तै कार्यक्रममा ३.९ जिपिए प्राप्त गरी छात्रातर्फ जिल्लाकै उत्कृष्छ बनेकी होराइजनकै अदिती खत्रीलाई पनि सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०७९ सोमबार ००:००  ६ : ३६ बजे