मायादेवी अनलाइन, बाणगंगा ।
चार घण्टाको लामो वार्ता पछि नेपाल पब्लिक क्याम्पस संघ कपिलवस्तुले बढाएको शूल्क समायोजन भएको छ ।
संघले मासिक शूल्कमा ९ सय ७५ बाट बढाएर १५ सय पुर्याएको थियो ।
शुक्रबार सिद्धार्थ क्याम्पसमा बसेको दुबै पक्ष बीचको वार्ता पश्चात १५ सयलाई घटाएर मासिक शूल्क १२ सय कायम गरिएको संघका जिल्ला अध्यक्ष डा. विनय पाण्डेयले जानकारी दिए ।
लामो छलफल पश्चात बढेको शूल्क घटाउन सफल विद्यार्थी संगठनहरुले पब्लिक क्याम्पस संघसंग थप ५ बुँदे लिखित सहमति गरेका छन् ।
नेविसंघका जिल्ला नेता अच्युत अर्यालका अनुसार अब जिल्लाका सामुदायिक क्याम्पसले दिदैं आएको निशूल्क पुस्तकको संख्या बढ्ने छ । गरिब, विपन्न, मजदुर, लगनशिल र आर्थिक रुपमा कमजोर वर्गको विद्यार्थीलाई सम्बन्धित क्याम्पसमा रहेका विद्यार्थी संगठनका प्रतिनिधिलाई राखेर निशूल्क अध्ययनको व्यवस्था गर्ने सहमति भएको छ ।
त्रिविले जिल्लामा कायम गरेका दुई परीक्षा केन्द्र कपिलवस्तु बहुमुखी क्याम्पस र सिद्धार्थ क्याम्पस बुङ्ची भन्दा अर्को स्थानमा पनि कायम गर्न पहल गर्ने सहमति भएको छ । पश्चिमी क्षेत्रका विद्यार्थीलाई मध्यनजर गरि उतै कुनै क्याम्पसमा परीक्षा केन्द्र बनाउनुपर्ने विद्यार्थी संगठनको माग छ । पश्चिमका विद्यार्थी परीक्षा दिन तौलिहवा जानु पर्दा आर्थिकभार परेको विद्यार्थी संगठनको भनाई छ ।
यस्तै सामुदायिक क्याम्पसमा रहेको आर्थिक अभावको अवस्थालाई मध्यनजर गरी संघ र विद्यार्थी संगठन सामुहिक रुपमा स्थानीय र प्रदेश सरकार सामु गएर सहयोगको माग गर्ने सहमति छ ।
वार्ताम संघ र विद्यार्थी संगठनका साथै स्ववियू सभापतिहरुको पनि उपस्थिति रहेको थियो ।
संघले बढाएको शूल्कलाई लिएर जिल्लाका ६ विद्यार्थी संगठनले सामुहिक ज्ञापनपत्र बुझाएका थिए । यद्यपि हालै समायोजन भएको शूल्क वृद्धिमा कतिपय विद्यार्थी संगठन अझै सहमतिमा आइसकेका छैन् । वार्तामा बसे पनि विप्लव निकट अखिल (क्रान्तिकारी)ले निर्णयमा हस्ताक्षर नगरेको जनाइएको छ ।
यता माओवादी निकट अनेरास्ववियू (क्रान्तिकारी) कपिलवस्तुका अध्यक्ष हरिशचन्द्र खनालले पनि यो निर्णयको विरोध गरेका छन् ।
प्रतिक्रिया