२४ भाद्र २०८१, सोमबार | Mon Sep 9 2024

जितपुर–तौलिहवा सडकखण्डमा बिजुलीका पोलहरु ढल्न थाले, जोखिममा यात्रा



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको जितपुर–तौलिहवा सडकखण्डमा रहेका अधिकांश बिजुलीका पोलहरु ढल्ने अवस्थामा पुगेका छन् ।

जिल्लाको व्यस्त सडकखण्डका पोलहरु ढल्ने अवस्थामा पुग्दा पनि सम्बन्धित निकाय मौन देखिन्छ भने, यात्रारत यात्रुहरु उत्तिकै जोखिममा रहेका छन् ।

सिंगल लेनबाट डबल लेनमा हालै स्तरउन्नती भएको जितपुर–तौलिहवा सडकखण्डका पोलहरु हतारमा सार्दा ढल्ने अवस्थामा पुगेको स्थानीय बताउँछन् ।

पोलहरुमा बिजुलीका तारहरु यत्रतत्र छन् । कुन बेला हावाहुरीले पोलहरु ढाल्ने हो यसै भन्ने अवस्था छैन् । नांगा बिजुलीका तार रहेका यी पोल मध्ये कुनै एउटा ढल्यो भने ठूलै मानवीय तथा भौतिक क्षति हुने देखिन्छ ।

यो सडकखण्डको पचेहरा देखि तौलिहवासम्म कै बिजुलीका पोलहरु ढल्ने अवस्थामा पुगेका छन् ।

कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले ढल्न थालेका बिजुलीका पोलहरु तुरुन्तै सिधा गर्नुपर्नेमा जोड दिए ।

‘बिजुलीका पोलहरु जुनसुकै बेला ढल्न सक्छन्, छिटो भन्दा छिटो विद्युत प्राधिकरण तौलिहवाले यस विषयमा ध्यान दिनुपर्छ, नगर प्रमुख पौडेलले भने, ‘नांगा तारहरु रहेको स्थानमा पनि उत्तिकै गम्भीर बन्नुपर्छ । म यस विषयमा चाडै सम्बन्धित निकाय समक्ष कुरा गर्छु ।’

यता विद्युत प्राधिकरण तौलिहवाका सूचना अधिकृत भुपेन्द्र खनालले सडक विस्तारको क्रममा नभई गत चैत्र बैशाखमा आएको हावाहुरीका कारण बिजलुीका पोलहरु ढलेको बताए । त्यति बेला तत्काल बत्ति बाल्नका लागि हतारमा पोलहरु गाड्नु परेको बाध्यता सुनाउँदै उनले भने,-‘हावाहुरीले बिजुलीका पोलहरु ढाल्यो, बत्ति सुचारु गर्नका लागि पानी पानी पोलहरु गाड्यौं, त्यसले गर्दा अहिले ढल्न लागेको जस्तो देखिएको हो ।’

यस विषयमा थप जानकारी कार्यालय प्रमुखसंग लिन खोजेपनि सम्पर्क हुन सकेन् ।

प्रकाशित मिति : २४ श्रावण २०७९ मंगलबार ००:००  १२ : २० बजे