७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कपिलवस्तुमा छाडा चौपाया व्यवस्थापनको काम थालियो, गब्दाहवामा गौशाला बनाइने



मायादेवी अनलाइन, तौलिहवा ।
छाडा चौपाया व्यवस्थापनका लागि कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ को गब्दाहवामा सय हेक्टर क्षेत्रमा तारबार गर्ने निर्णय गरिएको छ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको अध्यक्षतामा विहीबार बसेको सुरक्षा प्रमुख र पालिका प्रमुखहरुको बैठकले सो निर्णय गरेको हो । छाडा चौपायाको ब्यवस्थापन प्रयोजनका लागि सो क्षेत्रमा डिभिजन वन कार्यालय गौतमबुद्धसंग समन्वय गरी तारबार गरी संरक्षण गर्ने निर्णय भएको प्रजिअ मिश्रले बताए।

प्रस्तावित जग्गा प्रचलित कानून बमोजिम लिज र भोगाधिकार प्राप्तिका लागि सम्बन्धित केन्द्रीय तहमा आवश्यक प्रकृया पूरा गरि सिफारिश गर्ने तथा प्रस्तावित छाडा चौपायाको व्यवस्थापन गर्न जिल्लाका सम्पूर्ण स्थानीय तहहरूले रकम व्यवस्थापन गरी बुद्धभूमि नगरपालिकासंग सहकार्य गर्ने निर्णय भएको हो ।

छाडा चौपायाका कारण धानबाली सखाफ भएको, दुर्घटना तथा फोहोर र दुर्गन्ध बढेको कपिलवस्तु नगरपालिका मेयर सुदीप पौडेलले बताए। भारतीय नाकाहरुबाट भारतीय कृषकहरुले गाई गोरुहरु धपाएर नेपाल पठाउने गरेकाले झन यो समस्या जटिल भएको बताए। उनले यसमा सबै सजग हुनुपर्ने र यसबारे प्रहरी प्रशासन र पालिकाहरुलाई जानकारी गराउन उनले आग्रह गरे।

उता प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले सीमा नाकाका प्रहरी युनिटलाई छाडा गाईबस्तुहरु पस्न नदिन निर्देशन दिएको बताए। उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई छाडा चौपायालाई नेपाल तिर छिर्न नदिन र निगरानी गर्न भनिएको उनले बताए।

बैठकमा जिल्ला समन्वय समिति प्रमुख बावुराम आचार्य, कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडल, बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ, महराजगंज नगरपालिकाका मेयर अब्दुल कलाम, कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह, शिवराज नगरपालिकाका मेयर अजथ थापा, मायादेवी गाउँपालिकाका प्रमुख वलीउद्दीन मुसलमान, शुद्धोधन गाउँपालिकाका प्रमुख कमलेशशरण चौधरी, सशस्त्र प्रहरी उपरिक्षक सूर्य बहादुर सेन, राष्ट्रिय अनुसन्धानका प्रमुख योगेन्द्र केसी लगायतको सहभागीता थियो।

बुधबार प्रजिअ मिश्रको अध्यक्षतामा गब्दाहामा छाडा चौपाया ब्यवस्थापनका लागि स्थलगत अनुगमन र निरीक्षण गरिएको थियो।

प्रकाशित मिति : २७ श्रावण २०७९ शुक्रबार ००:००  ६ : २७ बजे