१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नायक शाहको मुद्दा स्थगित, पुस ११ गते सुनुवाइ हुने



तनहुँ ।

नायक पल शाहमाथि लागेको बलात्कारको मुद्दामाथिको सुनुवाइ पाँचौँ पटक स्थगित भएको छ । नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका शाहमाथिको सुनुवाइ आइतबार स्थगित भएपछि पुस ११ गते पेसी तोकिएको तनहुँ जिल्ला अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले जानकारी दिनुभयो ।

शाहको मुद्दामा आइतबार सुनुवाइ हुने भनिएको थियो । तर त्यस दिन न्यायाधीश हरिश्चन्द्र ढुङ्गाना अनुपस्थित हुनु भएकाले सुनुवाइ हुन सकेन । अभिनेता शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो । तर नवलपुरले भदौ २१ गते शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारका अभियोगमा साढे २ वर्षको कैद सजाय तोकेको छ ।

त्यसविरुद्ध पलले उच्च अदालत पोखरामा निवेदन दिनुभएको छ । गत फागुन ११ गते बालिकाका बुबाले आफ्नी बालिका छोरीमाथि शाहले पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिनु भएको थियो ।

शाह फागुन १५ गते उक्त प्रहरी कार्यालयमा आफैँ सम्पर्कमा आउनुभएको थियो । पहिले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएपछि पीडित भनिएकी बालिका र उहाँका बुबाले समेत दुवै अदालतमा बलात्कार हैन भनी बयान फेरेकाले यो मुद्दालाई चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९ मंगलबार ००:००  ३ : १९ बजे