८ फाल्गुन २०८०, मंगलबार | Tue Feb 20 2024

गिद्धको सङ्ख्या घटेकामा चिन्ता



पाल्पा ।
पारिस्थितिकीय प्रणालीमा अह्म भूमिका खेल्ने लोपोन्मुख पक्षी गिद्धको संरक्षणमा सरोकारवालासँगै पशुपालकले पनि ध्यान दिन सुझाव दिइएको छ । पाल्पाको रामपुरमा बिहीबार सम्पन्न ‘भेटेरीनरी औषधिको प्रयोगमा निगरानी तथा गिद्ध संरक्षणसम्बन्धी क्षमता विकास तालिम’मा ‘प्रकृतिका कूचीकार’ उपनामले परिचित गिद्धको सङ्ख्या घटेकामा चिन्ता व्यक्त समेत गरियो ।

सो अवसरमा पक्षीविद् भुपाल नेपालीले मानव जातिलाई प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सेवादिने गिद्धको संरक्षण गर्न आवश्यक रहेको बताए । “हालसम्म विश्वमा २३ प्रजाति तथा दक्षिण एशियमा नौ प्रजातिका गिद्ध पाइन्छन् र ती सबै नौ प्रजातिका गिद्ध नेपालमा पनि पाइन्छन्”, उनले भने । नेपाल पंक्षी संरक्षण सङ्घका परियोजना अधिकृतसमेत रहेका नेपालीका अनुसार नौमध्ये छ प्रजातिका गिद्ध नेपालकै रैथाने हुन, यसले नेपालमै गुँड बनाइ बच्चा कोरल्छन् ।

बाँकी तीन प्रजाति हिउँदे आगन्तुक र बटुवाका रुपमा आउने गरेको उनले बताए । उनले भने, “नौ प्रजातिका गिद्धमध्ये डङ्गर, सानो खैरो, लामो ठुडे, सुन अतिसङ्कटापन्न र सेतो गिद्ध सङ्कटापन्न अवस्थामा रहेका छन् ।” उनले भने, “जनावरको सिनो तत्काल खाने भएकाले गिद्धले पारिस्थितिकीय प्रणालीमा अति महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् ।” कार्यक्रममा गिद्धको महत्व, गिद्ध घट्नुका कारण, गिद्ध संरक्षणका बारेमा भएका प्रयास, गिद्ध सुरक्षित क्षेत्र र अगामी दिनमा गिद्ध संरक्षणका लागि गरिने पहलका बारेमा नेपाल पक्षी संरक्षण सङ्घका परियोजना अधिकृत नेपालीले प्रशिक्षण दिएका थिए ।

सो अवसरमा भारत, नेपाल र पाकिस्तानमा गरिएको विस्तृत अनुसन्धानबाट गिद्धको सङ्ख्यामा ह्रास आउनुको मुख्य कारण नन्स्टेरोइडल एन्टी–इन्फ्लेमेटरी औषधि डाइक्लोफेनेक भएको भेटेरीनरी डा. अशोक भण्डारीले बताए । 

“धेरै प्रकारका दुखाई र सुन्निने अवस्थामा औषधिका रुपमा मानिस र पशु दुवैमा डाइक्लोफेनेक प्रयोग गरिन्छ । त्यसरी डाइक्लोफेनेक प्रयोग गरी उपचार गरिएका गाईबस्तुको सिनो गिद्धले खाँदा त्यसको असरका कारण मिर्गौलाले काम नगर्ने भई मर्दछन् । उनले भने, “पछिल्लो अनुसन्धानले फ्लुनिक्सीन, कारप्रोफेन, निमुसुलाइड, एसिक्लोफनेक, किटोप्रोफेन र फिनाइबुटाजोन आदि औषधि गिद्धका लागि विषाक्तता मानिएको छ ।” 

मेलोक्सीक्याम र पछिल्लो समयमा उत्पादन गरिएको टोल्फेनामिक एसिड गिद्धका लागि सुरक्षित मानिएको डा।भण्डारीले बताए । गिद्धलाई हानि गर्ने औषधि चौपायामा प्रयोग नगर्ने, मानिसको डाइक्लोफनेक चौपायामा प्रयोग नगर्ने र गिद्धलाई हानी नगर्ने र सुरक्षित मानिएको औषधि मेलोक्सिक्याम र टोल्फेनामिक एसिड चौपायाहरुमा प्रयोग गर्ने भन्ने विषयमा उनले प्रशिक्षण दिएका थिए । 

कार्यक्रममा पशुपालक कृषक, भेटेरीनरी प्राविधिक, डिभिजन वनकार्यालय, गिद्धका गुँड भएको क्षेत्रका सामुदायिक वनउपभोक्ता समूह, नगर गौशालाका प्रतिनिधि, रामपुर नगरपालिका वडा नं ८ अध्यक्ष, गङ्गा माध्यमिक विद्यालयका शिक्षक, संरक्षणकर्मी र सञ्चारकर्मीको सहभागिता रहेको थियो । 

वडा अध्यक्ष दिनेश आचार्य, डिभिजन वन कार्यालय सुजन राजभण्डारी, स्थानीय बुद्धिजीवी नरनारायण अर्याल, नगर गौशालाका अध्यक्ष हुमनाथ न्यौपाने र खैरेनी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष छायाँचन्द्र पङ्गेनीले गिद्ध संरक्षण, जैविक विविधता संरक्षण, पशु चौपायको बीमा, गिद्धको आहारा तथा व्यवस्थापन, गिद्ध संरक्षणबारेमा चेतना अभिवृद्धि गर्ने विषमा आआफ्नो विचार व्यक्त गरेका थिए ।

डिभिजन वन कार्यालय पाल्पा र खैरेनी सामुदायिक वन उपभोक्ता समूह रामपुर पाल्पाको समन्वय तथा नेपाल पक्षी संरक्षण सङ्घ काठमाडौँको आयोजनामा गङ्गा माध्यामिक विद्यालय रामपुर पाल्पाको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको थियो ।  रासस

प्रकाशित मिति : १ पुस २०७९ शुक्रबार ००:००  २ : ३६ बजे