१३ जेष्ठ २०८१, आइतबार | Sun May 26 2024

हिमाल र पहाड खाली हुँदै



काठमाडौं ।
राष्ट्रिय जनगणना २०७८ को विवरणअनुसार हिमाली तथा पहाडी क्षेत्रमा जनघनत्व क्रमशः कम हुँदै गएको पाइएको छ । तराईमा प्रतिवर्गकिलोमिटर चार सय ६० बराबरको जनघनत्व रहँदा हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्गकिलोमिटर रहेको छ ।

मनाङमा प्रतिवर्गकिलोमिटर तीनजना बराबरको मात्रै जनघनत्व रहेको छ । काठमाडौँ उपत्यकामा प्रतिवर्गकिलोमिटर पाँच हजार एक सय ६९ बराबरको जनघनत्व छ ।

प्राप्त विवरणअनुसार सबैभन्दा बढी जनसंख्या काठमाडौँ जिल्लामा रहेको छ । यस जिल्लामा कूल २० लाख ४१ हजार पाँच सय ८७ जनसङ्ख्या छ । मनाङमा कूल पाँच हजार छ सय ५८ जनाको अक्सर बसोबास रहेको छ । मोरङ, रुपन्देही, झापा र सुनसरीमा सबैभन्दा बढी जनसङ्ख्याको चाप परेको छ ।

यस्तै, मुस्ताङ, डोल्पा, रसुवा, हुम्लामा भने जनसख्या कम रहेको छ । तराई कूल जनसङ्ख्याको ५३ दशमलव ६१ प्रतिशत जनसङ्ख्या रहेको छ । त्यो भनेको तराई क्षेत्रमा मात्रै एक करोड ५६ लाख ३४ हजार छजनाको बसोबास रहेको छ । पहाडमा ४० दशमलव ३१ प्रतिशत अर्थात् एक करोड १७ लाख ५७ हजार छ सय २४ बराबरको बसोबास छ । हिमाली क्षेत्रमा छ दशमलव शून्य आठ प्रतिशत अर्थात् १७ लाख ७२ हजार नौ सय ४८ को बसोबास छ ।

दश वर्षपहिले तराईमा ५० दशमलव २७ प्रतिशत, पहाडमा ४३ दशमलव शून्य एक प्रतिशत र हिमाली क्षेत्रमा छ दशमलव ७३ प्रतिशत जनसङ्ख्याको बसोबास थियो ।

बिजुली विस्तारमा फड्को

सबै घरपरिवारमा बिजुली पुर्‍याउने सरकारको लक्ष्य क्रमशः पूरा हुने चरणमा पुगेको छ । कूल ९२ दशमलव दुई प्रतिशत घरपरिवारमा बत्ती बाल्नका लागि बिजुलीको प्रयोग भएको पाइएको छ । आफू बसोबास गरेको घर तथा आवासीय इकाइमा बत्ती बाल्न मानिसले बिजुली प्रयोग गरेका छन् ।

दश वर्षपहिले बिजुली प्रयोग गर्ने परिवार मात्रै ६७ दशमलव तीन प्रतिशत मात्रै थिए । बत्ती बाल्न सोलार, सौर्य ऊर्जा प्रयोग गर्ने परिवार छ दशमलव छ प्रतिशत छन् । यस आधारमा हेर्दा स्वच्छ ऊर्जाको पहुँच ९८ दशमलव आठ प्रतिशत बराबर हुन पुगेको । मट्टीतेल र अन्य इन्धन प्रयोग गर्ने परिवार एक प्रतिशतभन्दा कम रहेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७९ शुक्रबार ००:००  ७ : ३४ बजे