१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

राेल्पामा जीप दुर्घटना: ज्यान गुमाएका २० जनाकै सनाखत



काठमाण्डाै ।

राेल्पाकाे जलजलामा हिजाे भएकाे जीप दुर्घटनामा ज्यान गुमाएका सबैकाे सनाखत भएकाे छ । जीप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै सनाखत जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएकाे छ ।

ज्यान गुमाउनेहरूमा रुकुम पूर्वकाे सिस्ने गाउँपालिका–५ टाकुराका ३२ वर्षीय गोर्ख बुढाथोकी, ५३ वर्षीया तिलकुमारी बुढाथोकी, २८ वर्षीय युवा बिसी, १० वर्षीय दिव्यन बिसी, २४ वर्षीया सृजना बुढाथोकी, १३ वर्षीय सुदीप बुढाथोकी र ४० वर्षीया ओमकुमारी बुढाथोकी रहेका छन् ।

यस्तै दाङको घोराही उपमहानगरपालिका–१६ रतनपुर बस्ने ५४ वर्षीया द्रौपति जिसी, ३२ वर्षीया तिला जिसी, ७ वर्षीय जेनिस जिसी, १२ वर्षीया जेनिसा जिसी, ७ वर्षीय संयोग जिसी, २५ वर्षीया  एलिना जिसी, उमेर नखुलेका लमजुङका यमबहादुर जिसी र घोराही–१३ बस्ने धनमाया विष्ट रहेका छन् ।

यस्तै दाङकाे शान्तिनगर गाउँपालिका स्थायी घर भई अहिले रुकुम पूर्वकाे सिस्ने–५ बस्ने जीप चालक ४२ वर्षीय बेदबहादुर विक, सिस्ने–५ की ६० वर्षीया मीना कामी र ६० वर्षीया लक्ष्मी शाह, रुकुम पूर्वकै भूमे गाउँपालिका–५ का टेकप्रसाद बस्नेत र सिस्ने–५ कै २७ वर्षीया रुक्मिणा बस्नेत रहेका छन् ।

रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिकाको जलजलातर्फ गुडिरहेकाे लु १ ज ४१६७ नम्बरको जीप हिजाे दिउँसो ३ बजे दुर्घटनामा परेकाे थियाे ।

जीपमा चालकसहित २१ जना सवार रहेका थिए । तीमध्ये रुकुम पूर्वकाे सिस्ने–५ का ३२ वर्षीय समीर कामी मात्रै जीवित रहेका छन् । समीरले जीप दुर्घटना हुन लाग्दा छतबाट हाम फालेर रुखको जरामा समातिँदै ज्यान जोगाउनुभएकाे हाे ।

प्रकाशित मिति : १८ बैशाख २०८३ शुक्रबार ००:००  ७ : १९ बजे