१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

गाई, भैँसीमा प्रकोपकै रुपमा फैलिँदै लम्पी स्किन रोग, यस्तो दिए विज्ञले सुझाव



काठमाडौं ।
गाई, भैँसीलगायत पशुचौपायामा लाग्ने ‘लम्पी स्किन’ रोग प्रकोपकै रुपमा फैलिएको छ । अहिलेसम्म ३५ जिल्लामा लम्पी स्किन रोग फैलिएको छ ।

१५ हजारभन्दा धेरै पशुचौपायामा सङ्क्रमण भएको पशु सेवा विभागले जनाएको छ । यसवर्ष गएको पुसदेखि नै पशुचौपायामा फाट्टफुट्ट रोगको सङ्क्रमण देखिन थालेको थियो । त्यसबेला मकवानपुर, चितवन, बैतडी, पाल्पा, इलाम, सङ्खुवासभा, खोटाङलगायतका जिल्लामा देखिएको लम्पी स्किन रोग अहिले अरु जिल्लामा पनि फैलिएको छ ।

हिमाली जिल्ला हुम्लामा वैशाख दोस्रो हप्तादेखि देखिएको यो रोगले अहिलेसम्म एक सय २७ वटा पशुचौपाया मरेका पशु सेवा कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख कृष्ण रोकायाले बताउनुभयो । हुम्लामा एक हजार ६ सयभन्दा धेरै गाईरगोरु सङ्क्रमित भएका छन् ।

त्यस्तै, मकवानपुरमा ७३ वटा गाईगोरु मरेका छन् । तीन हजारभन्दा धेरै गाईरगोरु सङ्क्रमित भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कार्यालय हेटौँडाले जनाएको छ ।

गुल्मीमा पनि गाईभैँसीमा रोग देखिएको छ । विभिन्न जिल्लाबाट सङ्क्रमण देखिएकोबारे जानकारी निरन्तर आइरहेको र सङ्क्रमण अवस्थाबारे तथ्यरतथ्याङ्क सङ्कलन भैरहेको पशु सेवा विभागले जनाएको छ । साथै रोग लागेका क्षेत्रका पालिकालाई रोगको लक्षण अनुसार उपचार विधि अपनाउन, लम्पी स्किन सार्ने झिँगा, लामखुट्टे र किर्ना मार्ने विषादी वितरण गर्न भनिएको छ । तर किसानले पालिका तथा कृषि ज्ञान केन्द्रबाट लम्पी स्किन रोगको प्रभावकारी उपचारविधि पाउन नसकेको गुनासो गरेका छन् ।

नेपाल कृषि अनुसन्धान परिषद् नार्कको पशु तथा मत्स्य अनुसन्धान निर्देशक डा। दोजराज खनालका अनुसार लम्पी स्किन रोग लागेका गाईरभैँसीमा ज्वरो आउने र शरीरको विभिन्न भाग तथा भित्रि तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाउने, दुब्लाउँदै जाने, खुट्टा खोच्याउने, दूध उत्पादन घट्नेलगायत लक्षण देखिने गर्छ । लम्पी स्किन रोग नियन्त्रणका लागि अहिलेसम्म ठोस उपचार र खोप अर्थात् भ्याक्सिन विकास नभएकाले रोगको लक्षण अनुसार उपचार हुँदै आएको विज्ञको भनाइ छ ।

रोग लागेका पशुचौपायालाई चरनमा नलैजान तथा क्वरेन्टिनमा राखेर उपचार गर्न पशु सेवा विभागका उपमहानिर्देशक एवं पशुपक्षी रोग अन्वेषण तथा नियन्त्रण महाशाखाका प्रमुख डा।वरुणकुमार शर्माको सुझाव छ । उहाँका अनुसार लम्पी स्किन रोगविरुद्धको खोप सहज छैन ।

खोप सहज नभएको र सङ्क्रमित भइसकेका पशुचौपायालाई खोपले काम नगर्ने भएकाले रोग लागेका पशुलाई अन्य पशुसँग सम्पर्कमा आउन नदिने, जैविक सुरक्षामा ध्यान दिने, गोठको सरसफाइ गरी किराको टोकाइबाट जोगाउन पनि उहाँको आग्रह छ । भारत तथा चीनमा सन् २०१९ मा देखिएको यो रोग नेपालमा मोरङ हुँदै भित्रिएको थियो । २०७७ साल असारमा नेपालमा लम्पी स्किन रोग भित्रिएको थियो ।

विगतमा अफ्रिकी महादेशमा मात्रै सीमित यो रोग सन् २०१२ मा दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तान हुँदै सन् २०१९ मा बङ्लादेश र चीन तथा सन् २०१९ को अन्तिमतिर भारतमा समेत देखा परेको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०८० शुक्रबार ००:००  ९ : ०३ बजे