४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मनसुन थप सक्रिय हुँदै, धेरै ठाउँमा वर्षाको सम्भावना



काठमाडौँ ।
भोलिदेखि केही दिन मनसुन थप सक्रिय हुने मौसमविद्को अनुमान छ । यसले गर्दा भोलि बेलुकापछि केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

मौसमविद् राजु प्रधानाङ्गका अनुसार मनसुनको न्यून चापीय रेखा नेपाल नजिकै छ । यसका साथै भारतको बिहारको उत्तर पश्चिम क्षेत्र तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभावसमेत परेको छ ।

भोलिदेखि थप सक्रिय हुने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम बढेको उहाँले बताउनुभयो । गएको सोमवार राति र मङ्गलवार देशका धेरै ठाउँमा ठूलो वर्षा भएको थियो । यसले ठाउँठाउँमा बाढी पहिरो गएको छ भने केही ठाउँमा डुबानसमेत भएको थियो । सोमवारदेखि नै देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ।

यस्तै, धेरै ठाउँमा हल्कादेखि मध्यम तथा केही ठाउँमा ठूलो वर्षा भइरहेको छ । आज पनि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

अझै केही दिन वर्षाको सम्भावना रहेकाले बाढी पहिरो तथा डुबान हुने ठाउँका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्को आग्रह छ।

प्रकाशित मिति : २६ श्रावण २०८० शुक्रबार ००:००  ८ : २४ बजे