१३ जेष्ठ २०८१, आइतबार | Sun May 26 2024

पाइपलाइनबाट घरघरमा ग्यास



भजनी।
कैलालीको टीकापुर नगरपालिका–२ सीतापुरका भुवन चौधरी अचेल निकै खुसी छ।

दाउराकै भरमा जीवनयापन गर्दै आएका उनलाई पाइप लाइनबाट घरमा ग्यास आउला भन्ने विश्वास थिएन।

तर, हिजोआज चौधरीको घरमा पाइपलाइनबाट ग्यास उपलब्ध छ। वर्षौँदेखि दाउराबाट खाना पाक्ने उनको घरमा अहिले खाना ग्यासमा पाक्न थालेको छ।

‘नजिकै जंगल छ। दाउराको समस्या हुँदैन। आर्थिक स्थितिले ग्यास सिलिन्डर किन्न सकिएको थिएन। दाउराकै भरमा अहिलेसम्म जीवनयापन हुँदै आएको थियो,’ चौधरी भन्छन्, ‘अहिले घरमा पाइप लाइनबाट ग्यास पुगेको छ। यो त सोचेकै थिइँन।’

टीकापुर नगरपालिका–५ स्थित सामुदायिक चौपाया व्यवस्थापन गरिएको क्षेत्रमा निर्माण गरिएको बायो ग्यास प्लान्ट सञ्चालनमा आएपछि स्थानीयको घर–घरमा पाइपलाइनबाट ग्यास पुगेको हो। स्थानीय धनादेवी चौधरी ग्यास उपलब्ध भएपछि दुःखका दिन सकिएको बताउँछिन्।

‘दाउराको भरमा खाना पकाउन समस्या थियो,’ उनी भन्छिन्, ‘अहिले एक घन्टामा खाना पाक्छ। समयमा काममा जान सकिएको छ। भाँडाकुडा माझ्न पनि समय लाग्दैन। हाम्रा लागि नसोचेको भएको छ।’

ग्यास नियमित नहुँदा भने कहिलेकाहीँ समस्या हुने गरेको चौधरीको गुनासो छ।

ग्यास प्लान्ट परीक्षणमा रहेकाले नियमित भने छैन। अहिले दिनमा चार घन्टा ग्यास आउने गरेको स्थानीय फरहरि थारू बताउँछन्।

उनले कहिलेकाहीँ भनेको समयमा ग्यास नआउने र खाना पकाउँदै जाने हुँदा समस्या भएको भन्दै नियमित गर्न आग्रह गरेका छन्।

ग्यास प्लान्ट परीक्षणका क्रममा हुँदा स्थानीयले निःशुल्क ग्यास उपभोग गर्न पाएका छन्। दुई महिनादेखि परीक्षणका लागि ग्यास प्लान्ट सञ्चालनमा रहेको छ।

ग्यास नियमित भए वर्षौँदेखिको दाउराबाट खाना पकाउनुपर्ने बाध्यताको अन्त्य हुने स्थानीय बबिता चौधरी बताउँछिन्।

‘दीर्घकालीन बन्नेरनबन्ने थाहा भएन, दीर्घकालीन भयो भने हाम्रा लागि धेरै राम्रो छ। हामीले नियमित खोजेका छौँ,’ उनी भन्छन्।

दुई सय घनमिटर क्षमताको बायो ग्यास प्लान्टले उत्पादन सुरु गरेसँगै अहिले ५५ घरधुरीमा ग्यास पुगेको छ।

ग्यास प्लान्टको क्षमता १ सय ५० घरधुरीका लागि छ। ग्यास घर–घरमा पुगेपछि वन विनाशको क्रम रोकिने विश्वास नगरपालिकाको छ। १ करोड ६० लाख रुपैयाँ लागतमा निर्माण पूरा भएको प्लान्ट निर्माणको काम नेपाल ऊर्जा विकास कम्पनीले पाएको थियो।

गौशालामा चौपायाको गोबरबाट ग्यास उत्पादन गरेर त्यो ग्यास गाउँमा पठाउने गरिएको छ।

‘चौपायाको गोबरलाई संलन गरेर प्लान्टमा राख्छौँ। त्यसबाट प्रशोधन भएर ग्यास बस्तीमा जान्छ। त्यसबाट निस्केको गोबरलाई कम्पोस्ट मलका रूपमा बिक्री सुरु गरेका छौँ,’ सामुदायिक चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिका अध्यक्ष लोकबहादुर बुढाक्षेत्रीले भने, ‘गोबर पर्याप्त छैन। आवश्यकतानुसार गोबर अभावका कारण दिनमा चार घन्टामात्रै ग्यास प्लान्ट सञ्चालन हुँदै आएको छ।’

गौशालामा कम्पोस्ट मल उत्पादन सुरु भइसकेको छ। मल भण्डारका लागि भण्डारकक्षसमेत नगरपालिकाले निर्माण गरेको छ। प्रशोधन भएर आएको गोबरबाट गड्यौला मल उत्पादनको तयारी भइरहेको समितिका अध्यक्ष बुढाक्षेत्री बताउँछन्।

‘एकातिर मल बेचेर आम्दानी गर्न सकिन्छ भने अर्कोतिर स्थानीयलाई सहुलियत ग्यास वितरण गरेर,’ बुढाक्षेत्रीले भने, ‘नगरपालिकाले एक वर्षको लागि परीक्षणकालका रूपमा सञ्चालनको जिम्मा दिएको छ। त्यो अवधिमा गौशालालाई व्यावसायिक गौशालाका रूपमा स्थापित गरेर छाड्छौँ।’

नगरपालिकाका इन्जिनियर नवराज जोशीले यसबाट नगरपालिकाभित्रका सामुदायिक चौपाया व्यवस्थापन हुनु, स्थानीयले ग्यास प्राप्त गर्नुका साथै खेतका लागि कम्पोस्ट मलसमेत उत्पादन हुने बताए।

नगरपालिकाले उक्त बायो ग्यास प्लान्टबाटै बजार क्षेत्रबाट संकलन भएको फोहोर व्यवस्थापन गर्ने तयारीसमेत गरेको छ।

त्यसका लागि बजार क्षेत्रमा कुहिने र नकुहिने फोहरको वर्गीकरण गरेर व्यवस्थापनका लागि डस्टबिनको व्यवस्था गरिएको नगरपालिकाका फोहर व्यवस्थापन उपशाखा प्रमुख लोकबहादुर बुढाले बताए।

गौशालासँग सुदूरपश्चिम प्रदेशको नवप्रवर्द्धन आयोजना जोडिएको छ। नगरपालिकाले प्रदेश सरकारलाई पेस गरेको प्रस्तावनाअनुसार गौशालालाई व्यावसायिक बनाउनका लागि सहयोग गरेको छ।

गौशालाका गाईबाट दूध उत्पादन गरेर बजारीकरणका लागि आवश्यक भाँडाकुँडा, ग्यास प्लान्टबाट प्रशोधन भएको गोबरलाई भण्डारणका लागि भण्डारकक्ष, ग्यासका लागि बजार क्षेत्रमा संकलन हुने कुहिने फोहरको छुट्टै व्यवस्थापनका लागि डस्टबिनको व्यवस्थालगायतमा सहयोग गरेको इन्जिनियर जोशीले बताए।

प्रकाशित मिति : १ भाद्र २०८० शुक्रबार ००:००  ३ : १३ बजे