२१ फाल्गुन २०८०, सोमबार | Mon Mar 4 2024

कृषिका बहुविकल्प प्रयोग गर्दै अधिकारी



गण्डकी ।
पोखरा महानगरपालिका-३३ बाघमाराका खगेन्द्र अधिकारीको परिवार विगत चार दशकयता व्यावसायिक कृषिमा निरन्तर जुटिरहेको छ ।

देशमा कृषिप्रतिको अनिच्छाका कारण खेतबारी बाँझिदै गएका अवस्थामा अधिकारी परिवारको क्रियाशीलता र सफलताको कथा अरूका लागि प्रेरणादायी बनेको छ ।

२०३९/४० सालतिर बाघमारामा गोलभेँडा खेतीबाट व्यावसायिक कृषि थालेका अधिकारीले त्यसयता सुन्तला खेतीका साथै पशुपालन, कुखुरापालन, हिउँदे एवं वर्षे तरकारी हुँदै नयाँ जातका बोट बिरुवा उत्पादन गरिरहेका छन् ।

अधिकारीले आफ्नो व्यावसायिक कृषिकै माध्यमबाट परिवारको पालनपोषण र राम्रो शिक्षादिक्षा पनि दिएका छन् ।

गोलभेँडा खेतीसँगै २०४३ सालमा चैनपुर फेदीमा आठ रोपनी क्षेत्रफलमा लगाइएका सुन्तलाले झन्डै २५ वर्षसम्म राम्रो उत्पादन दिएको अधिकारीले सुनाए । २०४४/४५ सालदेखि २०६३ सालसम्म सक्रिय रुपमा गरिएको व्यावसायिक गोलभेँडा खेतीमा वार्षिक रु डेढदेखि दुई लाखसम्म आम्दानी गरिएको उनको अनुभव छ ।

उक्त समयमा बेमौसमी काँक्रा खेतीबाट वार्षिक रु ६० देखि ८० हजारसम्म आम्दानी गरिएको उनले बताए । कृषिका नयाँ नयाँ प्रयोगमा रमाउने र सफल बन्ने अधिकारीले २०६१र६२ देखि गाईपालन थालेका थिए ।

२०७४ सालसम्म गाईपालन गरेका उहाँले दैनिक एक सय ५० लिटरसम्म दूध पनि बेच्थे । २०४६ सालयता कुखुरापालन गर्दै आएका अधिकारीले रोगजन्य प्रकोप नहुँदा कुखुराबाटै वार्षिक रु तीनरचार लाखसम्मको आम्दानी गरेको अनुभव ताजै छ ।

पछिल्लो समय वार्षिक रु साढे पाँच लाखसम्मको आम्दानी गरिएको उनको अनुभव छ । त्यसपछि भने सुन्तलामा देखिएको सिक्टस ग्रिनिङ रोगका कारण सुन्तला सखाप भएको उनले सुनाए ।

‘सुन्तलाका बोट मर्न थालेसँगै हामीले सुन्तला टिप्नै छोडेको १० वर्ष भइसक्यो’, उनले भने, ‘त्यसयता विकल्पको खोजी गर्दै जाँदा सुन्तला भएकै ठाउँमा पाउलोनिया लगाएका छौँ ।’

सुन्तला सखाप भएसँगै त्यस ठाउँमा के लगाउने भन्ने सोच बढ्दै जाँदा आफूले पाउलोनियाबारे केही बुझेपछि यहाँको आठ रोपनी क्षेत्रफलमा सुरुमा आठ सय बोट पाउलोनिया लगाएको उनले जानकारी दिए ।

आठ सय बोटमध्ये हाल ६ सय बोट कायम रहेको जानकारी दिँदै उनले पाउलोनियाका बोट राम्रैसँग हुर्किएको बताए । बिरुवा लगाएको १० वर्षमा पूर्ण रुपमा उपयोग गर्न सकिने भएकोले अबको चार वर्ष यसको पर्खाइमा रहने उनको भनाइ छ ।

मलिलो माटोका साथै यसको उचित संरक्षण र संवद्र्धन भएमा पाउलोनियाको बिरुवा रोपेको एक वर्षको अवधिमा २० देखि २५ फिट अग्लो हुन्छ ।तीव्र वृद्धिदर रहेको मानिने पाउलोनिया रोपेको १० वर्षमा एउटा बोटबाट ४० देखि ६० क्युफिट काठ उत्पादन भई रु एक लाखदेखि एक लाख ५० हजारसम्म आम्दानी गर्न सकिन्छ ।

सुन्तलाको विकल्पका रुपमा पाउलोनिया आफूहरूको नयाँ प्रयोग भएको बताउने अधिकारीका छोरा सुरजराज अधिकारीले राम्रोसँग फस्टाएका बोटको गोलाई एकदेखि डेढ मिटरसम्म र उचाइ २५ देखि ३० फिटसम्म पुगेको जानकारी दिए ।

‘म वनस्पति शास्त्रको विद्यार्थी पनि हुँ, आफ्नो अध्ययनका सिकाइ तथा अनुभवलाई पनि यहाँ प्रयोग गर्ने गरेको छु’, उनले भने, ‘हामीहरूले पाउलोनियासँगै कफीखेती पनि सँगसँगै सुरु गरेका छौं।’

कफीका लागि छहारी आवश्यक हुने भएकाले पाउलोनियाको फेदमा कफी पनि राम्रो फस्टाएको बताउँदै उहाँले अघिल्लो वर्ष करिब दुई सय ५० किलो बिक्री गरेको जानकारी दिए । अधिकारीले पोखराको पृथ्वीनारायण क्याम्पसमा वनस्पति शास्त्रको अध्यापनसमेत गराउँदै आएका छन् ।

पाउलोनियाका बोट चाररचार मिटरको दूरीमा लगाउन सकिने र त्यसको तल दुईरदुई मिटरको दूरीमा कफीका बोट लगाउन सकिने उनको भनाइ छ ।

पाउलोनिया पशुवस्तुलाई घाँसका लागि पनि उपयुक्त हुने बताउँदै उनले अग्लो रूखका कारण चढेर घाँस काट्न नसकिने भए पनि झरेका पात बाख्रा तथा गाईका लागि उपयुक्त हुने बताए ।

अधिकारी परिवारले पाउलोनियाका काठबाट कुर्चीलगायत फर्निचर बनाउनसमेत सुरु गरेको छ। पाउलोनियाबाट फर्निचरसँगै मौरीका घारसमेत बनाउन थालिएको उनका छोरा सुदनराज अधिकारीले जानकारी दिए ।

पानीले नबिगार्ने र हल्का हुने भएकाले यसबाट उत्पादित समान उपयोगी बन्ने विश्वास लिइएको बताउँदै उनले आगामी दिनमा यसबाट फर्निचरजन्य सामग्री नै तयार गर्ने लक्ष्य लिइएको जानकारी दिए । व्यावसायिक कृषिमा एक पछि अर्को विकल्पका प्रयोग भइरहेको र प्रत्येक विकल्पमा सफलता मिलेको आँफूहरूले अनुभूति गरेको अधिकारीले बताए ।

अधिकारी परिवारले आफ्नो गृहलक्ष्मी मल्टी एग्रो फर्मबाट पाउलोनियाका साथै बहुउपयोगी औषधिजन्य वनस्पति अगरुड, मलेसियन साल, सुन कागतीजस्ता बोट बिरुवाको नर्सरीसमेत सुरु गरेका छन् ।

पछिल्लो समयमा चितवन, तनहुँ, गोरखा, स्याङजा, बागलुङ, म्याग्दी, पर्वतलगायतका स्थानमा उहाँहरूले वितरण गरेका पाउलोनियाका बिरुवा पुगिसकेका छन् ।

आफूहरूको सम्पूर्ण परिवार नै व्यावसायिक कृषितर्फ लागेको बताउनुहुने ६३ वर्षीय खगेन्द्र गर्नसक्ने हो भने व्यावसायिक कृषिमा धेरै सम्भावना रहेको बताउँछन् । उनीहरूकै सक्रियतामा कास्कीको रुपा गाउँपालिकाको देउरालीमा ७० रोपनी जग्गामा पनि पाउलोनियाका बिरुवा लगाइएको र बोट राम्रेसँग हुर्किरहेका छन् ।

अधिकारी विसं २०५३ मा उत्कृष्ट किसानका रुपमा पुरस्कृत भएका थिए । ‘मेहनत गर्ने हो भने रोजगारीका लागि कोही विदेश भौतारिनु पर्दैन’, उनले भने, ‘हाम्रो बाँझो खेतबारी, पाखापखेरालाई धेरै तवरबाट आम्दानीको स्रोत बनाउँदै गाउँगाउँमा रोजगारी वृद्धि गर्न सकिन्छ ।’

प्रकाशित मिति : २४ आश्विन २०८० बुधबार ००:००  ३ : ३६ बजे