१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

गाजा युद्धमा कति पूर्वाग्रही देखिए पश्चिमा सञ्चारमाध्यम ?



एजेन्सी ।
अप्रमाणित दाबी प्रकाशित गर्नु, कथाको एक पाटो मात्रै भन्नु र प्यालेस्टिनीहरुलाई हमासको कठपुतलीका रुपमा चित्रित गर्नु। यी इजरायल र हमासबीचको द्वन्द्वका विषयमा प्रकाशन–प्रसारण गर्दा पश्चिमा सञ्चारमाध्यमले गरेका गल्ती भएको विज्ञहरु बताउँछन्।

इजरायलको पक्षमा देखिने यस्तो पूर्वाग्रहले मूलधार मानिने पश्चिमा मिडियाको विश्वसनीयतमा अपुरणीय क्षति पुगेको उनीहरुको भनाइ छ।

पश्चिमा सञ्चार संस्थाहरुले ‘प्यालेस्टाइनीहरुको अमानवीकरण’ गर्दै ‘इजरायलले गरेको अन्तर्राष्ट्रिय कानुन उल्लंघन’लाई वैधानिकता दिँदै गर्दा गत ७५ वर्षमा प्यालेस्टाइनीहरुले भोग्दै आएको पीडाको सन्दर्भलाई पनि बिर्सेको उनीहरु बताउँछन्।

एकपक्षीय
अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलका सुरक्षा चौकी र बस्तीहरुमा अभूतपूर्व आक्रमण गर्‍यो। जसमा १४ सय इजरायली मारिए भने २०० भन्दा बढीलाई हमासले बन्दी बनाएर गाजामा ल्यायो।

त्यही दिनदेखि इजरायलले गाजामा अविराम बमबारी गरिरहेको छ। जसमा ८ हजारभन्दा बढी मारिइसकेका छन्। तीमध्ये ४० प्रतिशतजति बालबालिका छन्।

बमबारीले गाजाको स्वास्थ्य क्षेत्र तहसनहस पारेको छ। अधिकांश पूर्वाधार नष्ट भएका छन् भने इन्धन, पानी र खाना रोकेर कठोर नाकाबन्दी लगाइएको छ। जुन अन्तर्राष्ट्रिय मानवीय कानुनअनुसार युद्ध अपराध हुनसक्छ।

राष्ट्रसंघका विज्ञहरुको भनाइमा गाजाबासीहरुले नरसंहारको जोखिम सामना गरिरहेका छन्।

पश्चिमा संवाददाताहरु इजरायल गएका छन्। तिनले इजरायली परिवारले भोगेको पीडाको विस्तृत रिपोर्ट गरेका छन्। तर, इजरायलले कुनै पनि विदेशी पत्रकारलाई गाजा प्रवेश गर्न दिएको छैन। यसको अर्थ पश्चिमा सञ्चारमाध्यमले महत्वपूर्ण पक्ष छुटाएका छन्।

‘तपाईं गाजामा हुनुहुन्न भने, प्रियजन गुमाउँदा प्यालेस्टाइनीहरुले गर्ने प्रार्थना तपाईंले सुन्नुभएको छैन भने, ती मारिएका प्रियजनको जीवनकथा थाहा पाउनुभएको छैन भने तपाईंले सुनाएको गाजाको कथा इजरायलको कथाजत्तिको हुने छैन,’ विश्लेषक तगरिद एल कोदरीले नेदरल्यान्ड्सबाट भनिन्, ‘यसको अर्थ उनीहरु इजरायली भाष्य मात्र सुनाइरहेका छैनन्, इजरायली भाष्य बाँचिरहेका छन्।’

गाजाका अधिकांश जनता ती प्यालेस्टाइनीहरुका छोराछोरी वा नातिनातिना हुन्, जसलाई १९४८ मा इजरायल स्थापना हुँदा आफ्नो घरबारबाट लखेटिएको थियो।

अधिकारवादी संस्थाहरुले २३ लाख मानिस बस्ने ४१ किमि लामो र १० किमि चौडा गाजापट्टीलाई विश्वको सबैभन्दा ठूलो जेल भन्ने गरेका छन्।

‘इजरायली पक्षको रिपोर्टिङ गर्दा ‘पीडित’ शब्दको प्रयोग जति हुन्छ, त्यति प्यालेस्टाइनीका बारेमा हुँदैन,’ एल कोदरी भन्छिन्।

गाजामा भएको मानवीय क्षतिको चर्चा गर्नुभन्दा पनि थुप्रै पश्चिमा सञ्चारमाध्यमहरु मारिएका प्यालेस्टिनीहरुको संख्या बताउने वा अमेरिकी र इजरायलीहरुले चाहेको जस्तो इजरायलको ‘प्रतिरक्षाको अधिकार’ अनि हमासले गाजाका बासिन्दालाई ‘मानवढाल’ बनाएको बताउँछन्।

अन्तर्राष्ट्रिय कानुनअनुसार वेस्ट ब्यांक र गाजामा इजरायलले अवैध कब्जा जमाएको छ। दशकौँदेखि उसले ती क्षेत्रमा अवैध बस्ती विस्तार गरिरहेको छ। गाजामा २००७ देखि नै कठोर नाकाबन्दी छ।

एमनेस्टी इन्टरनेसनलले ‘गाजामा सिंगो परिवार नै नामेट हुनेगरी आक्रमण गर्नु इजरायली युद्ध अपराधको स्पष्ट प्रमाण भएको’ जनाएको छ। स्याटलाइट तस्बिरहरुमा गाजाका समग्र बस्ती नै धुलिसात पारिएको देखिन्छ।

पश्चिमा मिडियाको यो ‘दोहोरो मापदण्ड’ अरब र मुस्लिमहरुलाई ‘मान्छेभन्दा कम ठान्ने’ प्रवृत्तिकै हिस्सा भएको सीएनएनकी पूर्वसंवाददाता तथा हाल एट्लान्टिक काउन्सिलकी अध्येता अरवा डेमन बताउँछिन्।

‘अहिले हामी जे देखिरहेका छौँ, त्यो सेप्टेम्बर ११ पछि अरब र मुस्लिमहरुलाई चित्रित गर्ने तरिकाकै पुनरावृत्ति हो,’ उनी भन्छिन्।

पश्चिमा न्युज च्यानलमा बोल्न निम्त्याइएका प्यालेस्टाइनीहरुलाई बारम्बार सोधिन्छः तपाईं हमासको भर्त्सना गर्नुहुन्छ कि गर्नुहुन्नरु जबकि इजरायलीहरुलाई तिनको सरकारले वेस्ट ब्यांकमा लागू गरेको रंगभेदी नीति वा गाजामाथिको नाकाबन्दीको भर्त्सना गर्न लगाइँदैन।

‘हरेक पश्चिमा न्युज रिपोर्टमा उनीहरु हमास आतंकवादी समूह भएको उल्लेख गरिराख्छन्,’ एल कोदरी भन्छिन्, ‘तर, इजरायलले जे गरिरहेको छ, त्यसको चर्चा खैरु उसले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरिरहेको छ, नरसंहार मच्चाइरहेको छ। उसले वेस्ट ब्यांकमा रंगभेदी व्यवस्था लादेको छ। गाजामा १६ वर्ष लामो नाकाबन्दी लगाएको छ।’

‘यो सन्दर्भ कहाँ छरु हमास आतंकवादी समूह हो भन्ने सन्दर्भ मात्रै उनीहरुले दिइरहेका छन्,’ उनी थप्छिन्।

इजरायलको पक्षमा समर्थन जुटाउँदै
इजरायलले गरेको अप्रमाणित दाबीहरुले पनि पश्चिमा पत्रिकाका मुख्यपृष्ठमा ठाउँ पाउँछन्। पछिल्लो उदाहरण हो, हमासले ‘चालीस शिशुको टाउको काटेको’ दाबी।

कुनै प्रमाण नभए पनि त्यो आरोपलाई दि इन्डिपेन्डेन्ट, सीएनएन, फक्स न्युज र न्युयोर्क पोस्टले प्रकाशन–प्रसारण गरे।

अमेरिकी राष्ट्रपति जो बाइडेनले समेत अक्टोबर १२ मा ती बच्चाको शवको फोटो आफूले हेरेको बताए। पछि ह्वाइट हाउसले उनको भनाइको खण्डन गर्‍यो। बाइडेनले त्यस्तो फोटो नहेरेको, बरु त्यसबारे समाचार हेरेको बताइयो।

त्यो र हमासले सयौँ इजरायली महिलालाई बलात्कार गरेको जस्ता अप्रमाणित दाबीहरु गाजामा इजरायली सेनाले गरेको आक्रमणप्रति जनमसर्थन जुटाउने प्रयास भएको लेबनानी लेखक लिना मुन्जर बताउछिन्।

एमनेस्टी इन्टरनेसनलको रिपोर्टअनुसार हमासको आक्रमणमा बालबालिका मारिएका छन् तर, इजरायली अधिकारी, पश्चिमा पत्रकार वा अधिकारवादी समूहले ‘टाउको काटिएका शिशु’ को कुनै प्रमाण फेला पारेका छैनन्।

‘टाउको काटिएका ४० बालबालिका र महिलाको सामूहिक बलात्कारको दाबी गरेर उनीहरुले इजरायलले प्रत्याक्रमणमा अपनाएको क्रुरतालाई उचित ठहर्‍याइरहेका हुन्छन्,’ मुन्जर भन्छिन्, ‘नत्र करिबकरिब एउटा यातनाशिविरजस्तो ठाउँमा गरिएको बमबारीलाई आत्मरक्षा कसरी भन्न सकिन्छरु’

प्यालेस्टाइनीप्रति सहानुभूति देखाउँदा जान्छ जागिर
पश्चिमा सञ्चारमाध्यमका केही पत्रकारहरु रिपोर्टिङमार्फत केही गर्ने चाहना राख्छन्। तर, आफ्नो सञ्चारमाध्यमको पक्षपातबारे बोल्दा आफ्नो रोजीरोटी गुम्ने र करिअर बरबाद हुने डर थुप्रैलाई भएको फ्रिलान्स पत्रकार लैला मग्रिबी बताउँछिन्।

उनको एक अरब सहकर्मीलाई उनी काम गर्ने संस्थाले कुनै प्रदर्शनमा सहभागी नहुन तथा प्यालेस्टाइनीप्रति सहानुभूति जनाउने कुनै पोस्ट सामाजिक सञ्जालमा नराख्न निर्देशन दिएको उनले बताइन्।

‘मेरा एक यहुदी सहकर्मी पनि उनको सम्पादकको शैलीबाट वाक्क भएका छन्,’ उनी भन्छिन्।

यो लडाइँबारे रिपोर्टिङ नगरे पनि गाजाका पीडितप्रति सहानुभूति जनाउने अन्य पत्रकारले जागिर गुमाएका छन्।

ईलाइफ नामक जर्नलमा काम गर्ने यहुदी पत्रकार माइकल आइजनले एक्समा अमेरिकी व्यंग्य वेबसाइट द अनियनको एउटा शीर्षक सेयर गर्दा आफूलाई कामबाट निकालिएको बताएका छन्।

अक्टोबर १३ मा प्रकाशित सो व्यंग्यात्मक शीर्षक थियो, ‘मर्नेबेलामा आफ्नो अन्तिम वाक्यमा हमासको निन्दा नगरेकोमा गाजाबासीको आलोचना।’

गाजा युद्धको चित्रणका विषयमा बीबीसीका पत्रकारले समेत आपत्ति जनाएको बुझिएको छ।

इजरायलमा हमासको आक्रमणबारे रिपोर्टिङ गर्दा ‘नरसंहार’, ‘वध’ र ‘अत्याचार’ जस्ता पदावली प्रयोग गरेको बीबीसीले गाजामा इजरायली बमबारीबारे यस्ता शब्द प्रयोग नगरेको भन्दै बीबीसी स्टाफहरुले महानिर्देशक टिम डेभीलाई इमेल पठाएको बेलायती पत्रिका टाइम्सले जनाएको छ।

पत्रकारविरुद्धको यस्तो डरधम्कीको वातावरण र मूलधारका भनिने सञ्चारमाध्यमले प्यालेस्टाइनीहरुलाई मानवीय रुपमा चित्रित गर्न नसक्दा पश्चिमा मिडियामाथि अरबीभाषी विश्व र डायस्पोराले विश्वास गर्न छोडेको मग्रिबी बताउँछिन्।

‘हामी मनावतामा आएको गिरावट मात्र देखिरहेका छैनौँ,’ उनी भन्छिन्, ‘यो (पत्रकारिता) पेसामा आएको गिरावट पनि देखिरहेका छौँ।’

(अल जजिरामा प्रकाशित म्याट नासिदको रिपोर्टको अनुवाद)

प्रकाशित मिति : १४ कार्तिक २०८० मंगलबार ००:००  ८ : ०५ बजे