१७ मंसिर २०८१, सोमबार | Tue Dec 3 2024

बहिष्कृत नातिनीदेखि राष्ट्रिय सभा उपाध्यक्षसम्म



काठमाडौं ।
मधेसको कपिलवस्तु वाणगंगा निवासी विमला घिमिरेको जन्मथलो भने पहाडको अर्घाखाँची हो । मध्यम वर्गीय परिवारमा २०२९ साउन १२ गते जन्मिएकी घिमिरेको परिवारलाई राजनीतिले छोएको थिएन । तर, उनलाई भने स्कुले जीवनमै राजनीतिले समायो । तीन दशक अघि २०४७ सालतिर महिलालाई राजनीतिमा आउन त्यति सहज थिएन । त्यसमाथि राजनीतिको चस्का नपसेको परिवारका सदस्यलाई त झनै अप्ठेरो थियो यतातिर उठबस गर्न ।

विमलाका पिता दिन प्रसाद घिमिरे तत्कालीन समयमा रोजगारीको सिलसिलामा भारत पसेका थिए । आमा रुपकला र हजुरआमाको रेखदेखमा हुर्किएकी थिइन् विमला । विद्यार्थी छँदै उनलाई कम्युनिस्ट शब्द सुनेर निकै कौतूहल जागेको थियो । कम्युनिस्ट शब्द र आन्दोलनले उनलाई यसरी आकर्षित गर्दै लग्यो कि विमलाले त्यसबारेमा अरू कुरा बुझ्ने प्रयत्न गरिन् । यस्तै जिज्ञासाको तृष्णा पूरा गर्दै जाँदा आफू थाहै नपाई राजनीतिको तलाउमा पौडिन थालेको उनको अनुभव छ ।

लाग्न त लागिन् राजनीतिमा तर विमलाका ती दिन त्यति सजिला भने थिएनन् । उनले निकै कष्ट झेल्दै अघि बढ्नुपर्‍यो । परिवारका सदस्यहरू राजनीतिप्रति चासो नराख्ने भए पनि उनको छरछिमेक र अलि परका आफन्त समेत सबै गैरवामपन्थी राजनीतिसँग नजिक थिए । यस्तो परिवेशमा कम्युनिस्ट पार्टीसँग नजिक हुनु त परको कुरा शब्द मात्रै उच्चारण गरे पनि जिब्रो नै थुतिने हो कि भन्ने भय रहन्थ्यो भन्छिन् विमला । तैपनि साहसी विमलाको कम्युनिस्ट प्रतिको उत्सुकता त्यतिमै खुम्चिएन । अनि त उनी १५ वर्षकै उमेरमा भूमिगत रूपमा कम्युनिस्ट पार्टीमा संलग्न भइन्, उनी विरुद्ध गठबन्धन गरेको परिवारले सुइँको पनि पाएन ।

यी उनै विमला हुन् जो हालै सङ्घीय संसद् राष्ट्रिय सभाको उपाध्यक्ष चुनिएकी छन् । विमलाको करिब तीन दशकको राजनीतिक जीवनको सक्रिय यात्रा २०४७ सालमा अखिल नेपाल महिला सङ्घबाट सुरु हुन्छ । त्यसपछि लगातार सक्रिय रहेकी उनी ०४९ सालमा पार्टी संस्कृतिको अनुसरण गर्दै दुर्गाप्रसाद आचार्यसँग प्रगतिशील विवाह गर्छिन् । अनि पार्टीका विभिन्न तहमा काम गर्दै उनी २०७१ मा आइपुग्दा एमालेको केन्द्रीय कमिटीको स्कुल विभागमा सदस्य बन्छिन् । अनि २०७८ मा एमालेको केन्द्रीय कमिटीमा निर्वाचित सदस्य भएपछि उनी पोलिटब्युरो सदस्यमा मनोनीत हुन्छिन् । उनको यो अविश्रान्त यात्रा २०७६ सालमा आएर सङ्घीय संसद्को राष्ट्रिय सभा सदस्यमा आरोहण गर्न सफल हुन्छ । उनी लुम्बिनी प्रदेशबाट सदस्यमा विजयी भएकी थिइन् । राष्ट्रिय सभामा दिगो विकास तथा सु–शासन समितिमा सदस्य रहेकी घिमिरे २०८० चैत्र २८ गते राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचित भएकी हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा कपिलवस्तुको वाणगंगा नगरपालिका प्रमुखमा पराजय व्यहोरेको बाहेक उनले पराजयको अनुहार देख्नुपरेको छैन ।

‘२०४७ सालदेखि २०८० चैत्र २८ गते राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित हुनुपूर्व चैत २७ गतेसम्म मैले पार्टीभित्रमा कमिटी विहीन भएर बसेको एक दिन, एक क्षण पनि छैन । कुनै न कुनै कमिटीमा कुनै न कुनै भूमिकामा म सधैँ नै आबद्ध रहे राजनीतिमा निरन्तरता सधैँ रह्यो’ घिमिरेले सुनाइन् ।

पतिको हात परिवारको साथ
एक सफल पुरुषको पछाडि नारीको साथ र हात हुन्छ भनेझैँ आफ्नो राजनीतिक जीवनको सफलताका पछाडि श्रीमानको साथ रहेको सुनाउँछिन् घिमिरे । सासू ससुरादेखि श्रीमानसम्मले घरपरिवार सम्हालेर आफूलाई पार्टीभित्र १५ वर्ष पूर्णकालीन समय काम गर्न दिइएको अवसरले नै राजनीतिमा अगाडि बढ्न सम्भव भएको उपाध्यक्ष घिमिरेको भनाई छ ।

उनले भनिन्, ‘श्रीमान् टिचिङबाट रिटायर हुने तयारीमा हुनुहुन्छ । श्रीमान् र सासू ससुराले घर परिवार र दुई बच्चालाई हेर्ने काम गर्नुभयो । यो बिचमा पूर्णकालीन रूपमा शुद्ध पार्टीको काममा मैले करिब १५ वर्ष दिए, अरू बेलामा पार्टीको काम र घरलाई सँगै हेरे । उहाँहरूको साथ सहयोग नभएको भए यहाँसम्म आइपुग्न गाह्रो हुने थियो ।’ उनले थपिन, ‘ दुई वर्षको अन्तरालमा दुई बच्चा भए । ती साना छँदा केही कम जिम्मेवारी लिए, दुई छोरा हुर्किएपछि २०५४ सालपछि जिल्ला स्तरको जिम्मेवारी लिएर काम गरेँ । पार्टीमा दिएको समय हिसाब गर्ने हो भने कपिलवस्तु जिल्लामा म दोस्रो नम्बरमा पर्छु भन्ने दाबी छ । त्यसका लागि परिवार,स्थानीय कमिटी र केन्द्रीय नेतृत्व सबैले मलाई विश्वास र माया गरेर अवसर प्रदान गर्नुभयो । मैले आफूले पाएको अवसरलाई कहिल्यै पार्टीभन्दा बाहिर व्यक्तिगत कामका लागि समेत दुरुपयोग गरेको इतिहास छैन । अबको बाँकी दुई वर्षे कार्यकाल पनि म त्यसै गरी बिताउन चाहन्छु ।’

बहिस्कृत नातिनी
देशमा बहुदल आयो र त्यो बहुदल गाउँमा पनि पस्यो । बहुदल गाउँमा पसेपछि नेपाली कांग्रेसको फुर्तिफार्ती यस्तो थियो कि सिङ्गो गाउँमा कोही पनि कम्युनिस्ट थिएनन् । त्यति बेला कांग्रेस र कम्युनिस्ट भनेपछि चर्काचर्की परिहाल्ने अवस्था थियो । कम्युनिस्टलाई जातपात नमान्ने, ६० वर्ष पुगेका बूढाबूढीलाई गोली ठोक्ने पार्टी भनेर गाउँलेलाई तर्साउने गरिन्थ्यो ।

गाउँ घरमा विमलाले कम्युनिस्ट पार्टीमा लागि भन्ने खबर फैलिएपछि गाउँले र परिवारमा पानी बाराबारको अवस्था आयो । एकातिर गाउँलेले हेप्थे भने अर्कातिर नजिकका आफन्तले नै पानी बारेको स्मरण सुनाउँछिन् उनी । घरमुली बुवा रोजगारीको लागि भारतमा थिए, फुपू, हजुरआमा र आमा सँगै विमलाको भाइबहिनी बस्थे । उतिबेला बुवाको मामाले परिवारलाई अभिभावकत्व प्रदान गरेका थिए । कट्टर कांग्रेस थिए मावलका हजुरबुबा । उनले आफ्नै बहिनीसँग सम्बन्ध नै तोडे । यतिसम्मकी दुई दिदी भाइले कैयौँ वर्ष तिहारको सप्तरङ्गी टिका समेत लगाएनन् । यो थियो राजनीतिक अनुभवहीनताको परिणाम ।

‘मैले पार्टीमा लाग्दा यति धेरै विरोध भयो कि मेरो हजुरबुवा हामी एउटै गाउँमा बस्थ्यौँ । बुवा भारतमा भएको हुनाले मामाघर नजिकै थियो, उहाँहरू नै हाम्रो अभिभावक हुनुहुन्थ्यो । अहिले हजुरबुवा स्वर्गीय हुनुभयो तर उतिबेला उहाँहरू हाम्रो घरमै आउन छोड्नुभयो । मावली हजुरबुवा एउटा दिदी एउटा भाइ मात्रै हुनुहुन्थ्यो । हामी कम्युनिस्ट भएपछि उहाँले तीजमा पनि एक्लो दिदीलाई बोलाउनु भएन, तिहारमा पनि टिका लगाउनुभएन, आउजाउ नै बन्द भयो ।’

रोकिएन यात्रा
एकातिर तत्कालीन परिवेश, अर्कातिर गाउँले छरछिमेक देखि बुवाको मावलीसम्म सबै कांग्रेस १ यो बिचमा १५ वर्षकी एक्ली बालिका कम्युनिस्ट भनेर आफूलाई चिनाउँदा उनका परिवारले पनि सुरुमा साथ दिने कुरै थिएन । आमा देखि हजुरआमा सम्मले सम्झाए विमलालाई, मावली हजुरबुवा र थप गाउँले त छँदै थिए । तर, जति गरे पनि विमलाको कम्युनिस्ट प्रतिको चासो घटेन । एक दिन त्यस्तो आयो घरकाले एक सातासम्म घरबाहिर निस्कनै दिएनन् । जसोतसो संगठनमा पुगेर समस्या सुनाएपछि विमलाको परिवारलाई सम्झाउन कम्युनिस्टहरू उनको घरै पुगे । त्यसपछि भने उनले परिवारको साथ पाउन थालिन् अनि निरन्तर अघि बढिन् ।

मकै छर्न समेत दिएनन्
‘हाम्रो घरको छेउमा एउटा बोरिङ छ, त्यो अझै छ । त्यही बोरिङको पानीबाट खेतमा मकै छर्ने गथ्र्यौँ । त्यो बोरिङको पानी समेत यो कम्युनिस्टको घर हो यिनीहरूलाई पानी पनि दिनुहुँदैन भनेर त्यति बेला जसले बोरिङ चलाउनुहुन्थ्यो, उहाँले हामीलाई पानी पनि चलाइदिनुभएन । हामीले मकै छर्न पाएनौँ ।’ गाउँलेले पानी समेत नदिएर खेती गर्न वाधा पुर्‍याएको कुरा ओल्लो पल्को गाउँमा फिँजिएको र त्यहाँका कम्युनिस्टले आफूहरूलाई माया गरेर मकै ल्याएर दिएको स्मरण सुनाउँछिन् विमला ।

‘गाउँमा पानी नदिएर हामीले मकै छर्नबाट वञ्चित हुनुपरेको कुरा सबै गाउँतिर थाहा भयो । त्यसपछि जुन गाउँमा अलि बढी कम्युनिस्टहरू बस्नुहुन्थ्यो उहाँहरूले तिमिहरूले खाने जति मकै लिएर जाऊ भनेर सबैले मकै हाम्रो घरमै ल्याइदिए। छरेर फलेको भन्दा धेरै मकै हाम्रो घरमा भयो ।’

‘अहिले हजुरबुवा त हुनुहुन्न तर, त्यति बेला त्यो हदसम्म पुगेर असहयोग गर्ने गाउँलेहरू पनि अहिले मलाई यति धेरै माया गर्नुहुन्छ नि म राष्ट्रिय सभामा निर्वाचित हुँदा सबैभन्दा पहिला उहाँहरूले नै बधाई दिनुभयो । गाउँमा आउनुपर्छ भन्नुहुन्छ ।’ उनले थपिन्, ‘हुन त त्यतिबेलाको माहौल नै त्यस्तै थियो, उहाँहरूको व्यवहारबाट आजित भएर म निष्क्रिय भएको भए आज मैले उहाँहरूलाई दोष दिएर गाली गर्ने थिएँ होला तर, उहाँहरूकै व्यवहारले ऊर्जा थपेर म अगाडि बढेँ, उहाँहरूलाई अझै धन्यवाद दिइरहन्छु ।’

अवसरले पछ्याउँछ
महिलालाई राजनीतिमा आउनै अत्यन्तै कठिन भएको समयमा उनले आफ्नो राजनीतिक यात्रा सुरु गरिन । खुलेर राजनीतिमा लागिसकेपछि उनलाई कठिनाइको सामना गर्नै परेन भन्ने चाहिँ होइन । पार्टीले सजिलै उनलाई मात्रै अवसर दियो भन्ने हिसाबले बुझ्न नहुने धारणा राखिन । उनले थुप्रै सामाजिक चुनौतीको सामना गर्नुपरेको सुनाउँदै महिलाले चुनौतीको सामना गरी राजनीतिलाई निरन्तरता दिए सफल हुने धारणा राखिन ।

‘महिलाहरूले थुप्रै चुनौतीको सामना गर्नुपर्छ । तैपनि महिलाले पार्टीको काममा निरन्तरता दिने हो भने अवसरहरूले आफैँ पछ्याउँदै आउँछन् । हुन त पार्टीको कुनै काम नै नगरेका, अनुभव नै नभएकाले पनि अवसर त पाएका छन् । तर, त्यस्तो अवसर पाउने थोरै हुन्छन् भने जिम्मेवारी बहन गरेको र काम गरेको अनुभवको हिसाबले अवसर पाउने कुरा बढी महत्त्वपूर्ण हो ।’

चुनाव हारेकाले राष्ट्रिय सभामा जानै हुँदैन भन्ने तर्क गलत
राष्ट्रिय सभा राजनीतिक दललाई चुनाव हरेका नेता थन्काउने ठाउँ भयो भन्ने भनाइले पछिल्लो समय निकै चर्चा पायो । हुन पनि दलहरूले राष्ट्रिय सभा गठनको उद्देश्य र विशेषता सँगै जुन मर्म आत्मसात् गर्नुपर्ने थियो त्यसमा पटक पटक चुके पनि । राष्ट्रिय सभालाई नेता व्यवस्थापनको थलो र आफ्नो दलगत स्वार्थको रूपमा मात्र उपयोग गर्ने गरेकै कारण सभाको गरिमामाथि टीकाटिप्पणी चारैतिरबाट भए ।

दलका नेताहरूको स्वार्थ व्यवस्थापन, गुट र हारेका नेताहरूको व्यवस्थापन तथा आफ्ना नजिकका मान्छेलाई रिझाउन पठाइने ठाउँको रूपमा सभालाई दलले प्रयोग गरेको भनी आलोचना भइरहँदा व्यवस्था प्रति औँला उठाउने ठाउँ दलका नेतृत्वले छोडेकै छन् ।

तर, उपाध्यक्ष घिमिरे भने निर्वाचन हारेको व्यक्ति राष्ट्रिय सभामा जानै नहुने बुझाई राख्नु गलत भएको तर्क गर्छिन् । सङ्घीय निर्वाचन हारेको व्यक्तिलाई सोही अवधिभित्र सभामा ल्याउनु स्वाभाविक नहुनेमा उनले जोड दिए पनि केही समयको अन्तरालमा निर्वाचन हारेका उपयुक्त व्यक्तिलाई दलले सभामा स्थान दिनुलाई उनी उचित मान्छिन् ।

उनले भनिन्, ‘चुनाव हारेकाहरू राष्ट्रिय सभामा आए भन्ने विषयमा सङ्घीय निर्वाचनमा हारेकाहरू सोही अवधिमा राष्ट्रिय सभामा ल्याउनु त्यति राम्रो होइन भन्ने कुरा स्वाभाविक हो । मेरो सन्दर्भमा स्थानीय तहको प्रमुखमा लडेको दुई वर्षपछि मात्रै राष्ट्रिय सभामा आएको हो । मेरो नाम जोडेर कुरा त आयो आए पनि हार्न त हारेकै हुँ । हारियो भन्दैमा राजनीति नगरी जिन्दगीभरि थपक्क बस्ने कुरा हुँदैन ।’ उनले थपिन, ‘ लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित हुँदै गर्दा पनि तत्कालीन समयमा पार्टी एकीकरण भएकाले हामी (तत्कालीन नेकपाका उम्मेदवार) लाई प्रदेश र स्थानीय सभामा मतदान गर्ने साथीहरू धेरै थिए । र पनि हाम्रो सङ्ख्या भन्दा पनि अझ धेरै सङ्ख्यामा मलाई भोट दिएर जिताए । हारेको र जितेको दुवै अनुभव रह्यो ।’

पार्टी भित्रकै संगठनहरुमा बढी सक्रिय भएर लागेकी उनी आफूमा निर्वाचनमा जाने इच्छ्या त्यति नहुँदा पनि कामको मूल्याङ्कनको आधारमा पार्टीले जिम्मेवारी दिँदा त्यसलाई स्वीकारेको सुनाउँछिन् ।

‘म पार्टी संगठनमै काम गर्न रुचाउने, पहिले देखि नै निर्वाचनमा जान्छु भन्ने इच्छ्या मेरो थिएन । समय क्रममा पार्टीभित्र काम गरेको मूल्याङ्कनको हिसाबले मलाई पार्टीले अवसर दियो’ घिमिरेले भनिन् ।

संसदीय समिति प्रभावकारी हुनुपर्छ
चार वर्षे राष्ट्रिय सभा सदस्यको भूमिका निर्वाह गरेर हालमात्रै उही सभाको उप सभामुख बनेकी घिमिरे संसदीय समिति अझै बढी प्रभावकारी हुनुपर्नेमा जोड दिन्छिन् । राष्ट्रिय सभामा दलीय आधारमा पाएको समयमा बोल्नुपर्ने त्यो पनि औपचारिकता सहित, तर संसदीय समितिमा जुनसुकै विषयमा पनि औपचारिक सँगै कतिपय अनौपचारिक कुरा समेत गर्न पाउने छुटले घिमिरे संसदीय समिति र सभामा भिन्नता केलाउँछिन् । सभामा प्रस्तुत हुने विधेयक, होस कि कुनै विषय सो बारेमा सबै छलफल पूर्ण रूपमा संसदीय समितिमै हुने गर्छन् । त्यसपछि मात्र सभामा प्रस्तुत गरिने हो ।

‘सभामा बोल्दा एक त समयको अभाव हुने अर्को पार्टीको पाएको समयलाई हिसाब गरेर बोल्नुपर्ने हुनाले सधैँ सबैले बोल्न पनि पाउँदैनन् । सदनमा निश्चित समयमा तयारीको साथ बोल्ने हो भने, त्यही कुरालाई हामीले समितिमा पर्याप्त छलफल गर्न सक्छौँ । बोल्नलाई रोकावट समितिमा त्यति धेरै हुँदैन । एकै दिनमा प्रस्तुत विषयमा सबैले बोल्न पाउँछन् । सदनमा बढी औपचारिकता हुन्छ भने समितिमा केही कुरा अनौपचारिक रूपमा गर्न पनि पाइन्छ र समय पर्याप्त हुन्छ । खास विषयमा छलफल समितिमै हुन्छ,निश्चित कुराहरू मात्रै सदनमा बोल्ने भएको हुनाले दुई बिचमा भिन्नता छ । समिति नै प्रभावकारी हुनुपर्छ भन्ने मलाई लाग्छ, । संसद् प्रभावकारी हुनुपर्नेमा दुई मत छैन,’ राष्ट्रिय सभाका चार वर्षे अनुभव उनले यसरी सुनाइन् ।

मिडियाको उपेक्षा
राष्ट्रिय सभालाई मिडियाले उपेक्षा गरेको उपाध्यक्ष घिमिरेको गुनासो छ । प्रतिनिधि सभालाई जस्तो महत्त्व राष्ट्रिय सभाले मिडियामा नपाएको सुनाउँदै उनले भनिन्, ‘प्रतिनिधिसभामा अलि बढी मिडियाको पनि ध्यान जाने, राष्ट्रिय सभामा त्यति धेरै ध्यान नजाने । कतिपय राष्ट्रिय सभाको समाचारमा प्रतिनिधि सभाको फोटो हाल्ने गरेको पनि मैले पाएको छु । त्यति मात्रै होइन कहिलेकाहीँ एउटा समितिको समाचार लेखेर अर्को समितिको फोटो हालिरहेको पाइन्छ । समग्रमा राष्ट्रिय सभालाई मिडियाले कम महत्त्व दिएका छन् ।’ उनले थपिन, ‘अर्को सभामा पनि महिलालाई मिडियाले कम महत्त्व दिए भन्ने टिप्पणी भइरहन्छ । त्यसमा मिडियाको फेरी आफ्नै तर्क छ । महिलाले राम्रै कुरा बोलिरहेको हुन्छन् तर, मिडियाले स्थान नदिएको गुनासो आउने गरेको छ । यो दुवै पक्षको बिचमा रहेर हामीले अब काम गर्नुपर्ने छ ।’

अस्थिर सरकार
संसद्मा प्राय उठिरहने, कतिपय दलका सांसदले सदनमा निरन्तर उठाइरहने तर समाधान नभएका मुद्दाहरूमा सरकारको अस्थिरताले समाधान हुन नसकेको ठम्याइ उनको छ । उखु किसानले हरेक वर्ष भोग्दै आएको सरकारले समयमै उखुको मूल्य नतोक्दिने, भुक्तानी नपाउने, रासायनिक मल अभाव देखि दुग्ध किसानका समस्या भ्रष्टाचार, नक्कली शरणार्थी प्रकरण, सुनको अवैध तस्करी प्रकरण जस्ता समस्या ज्युँका त्युँ रहनुमा अस्थिर सरकार नै मुख्य कारण रहेको बुझाइ उनको छ ।

‘यस्तो हुनुको मुख्य कारण अस्थिर सरकार नै हो । सदनमा सरकारले मुद्दा उठाउने हो, लागु गर्ने गराउने त सरकारले नै हो । विषयवस्तु उठिसकेपछि त्यसको जवाफ सरकारले दिने र संसदीय समितिबाट निर्देशन भएका कुराहरू पालना गर्नुपर्ने हो । कतिपय विषयमा सभाले पनि सरकारलाई ध्यानाकर्षण गरेको हुन्छ । अब सरकारले पालना नगरेपछि सांसदले बोले त्यसपछि हरायो भन्ने जनतामा परेकै छ । म आफैँ सदस्य हुँदा यसमा गुनासो गर्थे ।’

अबको बजेट अधिवेशनमा सरकारलाई जनताप्रति जबाफदेही बनाएर प्रतिनिधिमा मात्रै नभएर राष्ट्रिय सभामा समेत विधेयक दर्ता गराउने र छिटो गरी दुवै सभाबाट विधेयक पास गराउनुपर्नेमा उनले जोड दिइन् । कतिपय कानुनहरूको परीक्षण गर्नुपर्ने समय भएकोले त्यसमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिँदै उपाध्यक्ष घिमिरेले मौलिक हकका सन्दर्भमा आवश्यक कानुन निर्माणलाई तिव्रता दिनुपर्ने, प्रतिनिधि सभामा भएका विधेयकलाई कानुनसम्मत सरकारले छिटो अगाडि बढाएर टुङ्ग्याउनुपर्ने बताइन ।

‘बजेट अधिवेशन भन्दैमा बजेट मात्र छलफल हुने होइन । यसमा हामी विधेयक पनि अगाडि बढाउँछौँ । राष्ट्रिय सभामा त विधेयक छैनन्, प्रतिनिधिमा कतिपय दर्ता भएर रोकिएको मिडिया विधेयक र कतिपय नयाँ ल्याउने विधेयकहरूलाई सरकारले जतिसक्दो छिटो अगाडि बढाउनुपर्छ । त्यसको मतलब फास्ट ट्र्याकबाट जानुपर्छ भनेको होइन कि रोकिएका विधेयकहरू समितिले पनि अगाडि बढाउनुपर्छ, प्रतिनिधि सभाले पनि अगाडि बढाएर राष्ट्रिय सभामा पठाउनुपर्छ ।’

उनले थपिन, ‘मिडिया काउन्सिल विधेयकको जुन कुरा आएको छ सरकार अघिल्लो पटक पनि एकलौटी रूपले जान खोजेर ब्याक भएको हो । सरकारले त्यसलाई सरोकारवालासँग छलफल गरेर सकेसम्म समृद्ध बनाएर ल्याउनुपर्छ । प्रक्रिया एकातिर सम्झौता अर्कोतिर गरेर विधेयकहरू ल्याउने र पछि ब्याक हुने प्रवृत्ति अबको अधिवेशनमा सरकार र सरोकारवाला निकाय कसैले पनि गर्नु हुँदैन ।’ उनले थपिन, ‘विधेयकहरूलाई व्यवस्थित ढङ्गले अगाडि बढाएर छिटो छरितो ढङ्गले यसलाई पास गर्ने कुरामा हामी सरकारलाई सहजीकरण गर्छौँ । यही गर्दा मात्र सदन प्रभावकारी ढङ्गले सञ्चालन हुन सक्छ ।’

(नेपाल न्यूज बैंकसँगको विस्तृत सम्वादको अंश)

प्रकाशित मिति : २३ बैशाख २०८१ आइतबार ००:००  ६ : ३५ बजे