२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

विद्यार्थी आन्दोलनको ऐतिहासिक विरासत



विष्णुबहादुर राउत ‘विज्ञान’ ।
राणाविरोधी विद्यार्थी आन्दोलन, पञ्चायत विरूद्धको आन्दोलन र निरङ्कुश राजतन्त्र विरूद्धको विद्यार्थी आन्दोलन इतिहासमा दर्ज भएका छन् । तर अहिले संसदवादी विद्यार्थी संगठनहरू सत्ता र कुर्सीकेन्द्रीत देखिन्छ भने सत्ता बाहिर रहेका विद्यार्थी संगठनहरू दलाल सत्ताविरूद्ध निरन्तर सङ्घर्षमा केन्द्रीत छन् । अहिले शिक्षामा तीव्र व्यापारीकरण भएको छ । युवाहरू सर्टिफिकेट दराजमा थन्क्याएर विदेश जान गोली खाएका छन् । नेपालको विद्यार्थी आन्दोलनको सुरूवात निरङ्कुश राणाशासन विरूद्धको आन्दोलनबाट भएको थियो । निरङ्कुश राणाशासनको प्रतिरोधमा भारतको बनारसमा अध्ययनरत नेपाली विद्यार्थीहरूले वि.सं. १९९१ मा नेपाली ‘छात्र सङ्घ’को गठन गरी सङ्घर्ष केन्द्रीत गरे ।

राणाकाल र विद्यार्थी आन्दोलन

राणाशासनका विरूद्ध विद्यार्थीहरूको आन्दोलनको सुरूभएको मानिन्छ । सन् १९९५ सालमा गंगालाल श्रेष्ठ लगायत विद्यार्थीहरूले सङ्घर्ष गरे । वि.सं. १९९७ सालमा गंगालाल श्रेष्ठ र टंकप्रसाद आचार्यलगायत विद्यार्थीहरूले सम्पूर्ण राणाविरोधी प्रचारप्रसार सहित सङ्घर्ष सञ्चालन गरे । गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द, शुक्रराज शास्त्रीहरूलाई फाँसी दियो तर आन्दोलन रोकिएन । वि.सं. २००४ सालमा ‘संस्कृतिको जय होस्’ भन्ने हेतुले सङ्घर्ष सञ्चालन भयो । वि.सं. २००६ सालमा नेकपाको स्थापनापछि वि.सं. २००६ असार १ गते भूमिगत रूपमा प्रचण्डराज सिंहको नेतृत्वमा ‘अखिल नेपाल विद्यार्थी फेडेरेसन’ गठन भयो ।

२००७ सालपछिको विद्यार्थी आन्दोलन

वि.सं. २००७ सालमा राणा विरोधी सङ्घर्षमा विद्यार्थीहरूले कठिन सङ्घर्ष गरे । वि.सं. २००८ कार्तिक २० गते ‘दिल्ली सम्झौता’ विरूद्धको सङ्घर्षमा अखिल नेपाल विद्यार्थी फेडेरेसनद्धारा भएको विरोध प्रदर्शनमा तत्कालीन गृहमन्त्री विपी कोइरालाको आदेशमा अनेबिफेका कार्यकर्ता चीनियाँ काजीको हत्या गरियो । वि.सं. २००९ सालमा भीमदत्त पन्तको विद्रोह दवाउन परिचालन गरिएको भारतीय सेनाको विरूद्ध र शिक्षा विधान विरूद्ध विद्यार्थी आन्दोलन भयो । वि.सं.२०१० सालमा ‘कोशी सम्झौता’ विरूद्ध विद्यार्थी आन्दोलन भयो । अखिल विद्यार्थी फेडेरेसनलगायत अन्य विद्यार्थी संगठनहरू नेपाल छात्रा सङ्घ, संस्कृति छात्रा सङ्घ, अन्तरकलेज विद्यार्थी युनियन सबैलाई एकताबद्ध गर्ने प्रयास अनेविफेले गर्‍यो ।

वि.सं.२०१३ सालमा अन्तरकलेज विद्यार्थी युनियन र अनेविफेसँग एकता भयो । उक्त एकतापछि सम्मेलनले ‘नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेसन’ गठन गर्यो । एकीकरण पश्चात ने.रा.वि.फे. को केन्द्रीय नेतृत्वमा वैचारिक विचलन आएपछि संगठनमा फुट भयो र केशरजङ्ग रायमाझीले नेतृत्व गरेको संसोधनवादको बाटो लियो । त्यसपछि विभिन्न धाराहरू देखिए । सङ्घर्षद्वारा संगठन निर्माण गर्ने र संगठनद्वारा सङ्घर्ष सञ्चालन गर्ने अभियान सुरू भयो ।

पञ्चायतकाल र विद्यार्थी आन्दोलन

वि.सं.२०१७ सालमा महेन्द्र फौजी काण्डपछि नेपाल विद्यार्थी फेडेरेसनको सिङ्गो पङ्क्तिमा पलायन र निस्क्रियताले जुझारू सङ्घर्षमा समस्या देखियो । वि.सं.२०१९ सालमा भारतमा भेला गरी नेराविफेको नेतृत्वमा देखिएको वैचारिक विचलनका बारेमा बहस गर्यो । वि.सं.२०२० सालबाट अन्तरकलेज विद्यार्थी युनियनद्धारा आन्दोलन उठाउने प्रयत्न गरियो । वि.सं. २०२१ सालमा उपत्यका स्तरीय अन्तरकलेज सम्मेलनलाई सरकारले व्यापक दमन गर्‍यो । त्यसपछिको विद्यार्थी आन्दोलनले ‘स्वतन्त्र विद्यार्थी युनियन’ खोल्न पाउने माग संसोधन गर्न सरकार बाध्य भयो । वि.सं. २०२२ जेठमा उपत्यका स्तरीय भेलाले सुजन (आत्मराम) खरेलको नेतृत्वमा ११ सदस्यीय समिति चयन गर्दै ‘अनेरास्ववियु’को गठन गर्‍यो ।

वि.सं. २०२२ मा अनेरास्ववियुले सुस्तामाथिको भारतीय अतिक्रमण र अमेरिकी साम्राज्यवादले विभिन्न देशमा गरेको आक्रमण विरूद्ध आन्दोलन गर्यो । वि.सं. २०२५ जेठ ६ गते किर्तिपुरमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनले भुमलाल भण्डारीको नेतृत्वमा समिति चयन भयो । वि.सं. २०२६ सालमा २५ जिल्लाको उपस्थितिमा तेस्रो राष्ट्रिय सम्मेलन गरी वामपन्थी, प्रगतिशील, देशभक्त, जनक्रान्ति तथा जनवादी विद्यार्थीहरूको साझा संगठन बन्यो । संगठनले ‘कलम र तारा’ अङ्कित झण्डालाई संगठनको झण्डा बनाउने निर्णय गर्‍यो ।

तेस्रो राष्ट्रिय सम्मेलनले बिधान प्रतिवेदन पास गर्दै गोविन्द श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन गर्‍यो । वि.सं. २०२६ सालबाट सुस्ताको विरोध गर्न नचाहने र नसक्ने नेपाली कांग्रेस समर्थक विद्यार्थीहरू संगठनबाट अलग हुने निर्णयमा पुगे । वि.सं. २०२७ सालमा राष्ट्रियताको मामिलामा अलग्गिएर ‘नेविसंघ’ गठन भयो । वि.सं. २०२८ सालमा देशको पूर्वी क्षेत्र नक्सलवादी आन्दोलनको प्रभाव स्वरूप ‘वर्ग–सत्रु सफाया अभियान’ नामको चर्चित ‘झापा विद्रोह’ भइरहेको थियो । बुर्जुवा शिक्षाका नाममा सर्टिफिकेट च्यात्ने र जलाउने कामहरू भइरहेका थिए । वि.सं. २०२९ असार ३ गते पाटनमा ४२ जिल्लाको प्रतिनिधित्वमा अनेरास्ववियुको चौंथो राष्ट्रिय सम्मेलनले मुकुन्दबहादुर श्रेष्ठको नेतृत्वमा केन्द्रीय समिति निर्माण गर्यो । यसले नेपाललाई सिक्किम भारतमा गाभ्ने निर्णय विरूद्ध आन्दोलन गर्‍यो । वि.सं. २०२९ भदौ–असोजमा भएको आन्दोलनका क्रममा धनुषाको गदुकुवा स्कुलमा अध्ययनरत कमिश्व मण्डल र कुशेश्वर मण्डललाई पञ्चायती शासकले हत्या गरे । सिक्किमलाई भारतमा गाभ्ने निर्णयविरूद्ध नेपालमा २ महिना शैक्षिक हड्ताल भएको थियो । वि.सं. २०३३ जेठ ९ गते भारतको अयोध्यामा ३१ जिल्लाको उपस्थितिमा भएको “पाँचौं” राष्ट्रिय सम्मेलनले निरञ्जन चापागाईंको अध्यक्षतामा केन्द्रीय समिति गठन गर्यो । वि.सं. २०३२ सालमा विद्यार्थी आन्दोलनमा तीब्र दमन थियो । राजनीतिक दलहरू प्रतिबन्धित थिए । त्यो अवस्थामा विद्यार्थी मोर्चाले सङ्घर्ष गरिरहेका थियो । त्यतिबेला झापा विद्रोहमाथि व्यापक दमन भएको थियो । वि.सं. २०३६ सालको विद्यार्थीको चर्चित आन्दोलनले मण्डलेहरूलाई एक हदसम्म झुकाउन सफल भयो । निरङ्कुश पञ्चायती शासकहरूलाई आन्दोलनले ब्रेक गर्ने काम भयो । अन्ततः सुधारिएको पञ्चायत कि बहुदल ? भन्नेमा जनमत सङ्ग्रह हुन पुग्यो ।

वि.सं. २०३६ भाद्र २१ गते ललितपुरमा छैठौं राष्ट्रिय सम्मेलन भएको थियो । जसमा ५७ जिल्लाको सहभागिता भएको थियो । वि.सं. २०३७ सालमा अनेरास्ववियुले चैत्र २५ गते ‘नेपाल बन्द’ गरी पञ्चायत विरूद्ध ठूलो सङ्घर्ष गर्‍यो । वि.सं. २०३८ चैत्र १९, २० र २१ गते काठमाडौंमा सातौं राष्ट्रिय सम्मेलनले लीलामणि पोख्रेलको अध्यक्षतामा नयाँ नेतृत्व चुन्यो । जसमा ६८ जिल्लाको सहभागिता थियो । सातौं राष्ट्रिय सम्मेलनपछि तीब्र विवादको कारणले अन्ततः फुटमा विभाजित भयो ।

विवादपछि वि.सं. २०४० सालमा ८ औं राष्ट्रिय सम्मेलन गरी देव गुरूङको अध्यक्षतामा नेतृत्व गठन गर्यो । अर्कोतिर २०४१ सालमा गिरिराजमणि पोख्रेललाई ८ औं राष्ट्रिय सम्मेलनबाट अध्यक्ष चुनियो । वि.सं. २०४३ सालमा ९ औं राष्ट्रिय सम्मेलन सम्पन्न भयो । सम्मेलनले रमन श्रेष्ठको अध्यक्षतामा केन्द्रीय समिति निर्माण गर्‍यो । वि.सं. २०४४ सालमा १० औं राष्ट्रिय सम्मेलन गरी भानु शर्मालाई केन्द्रीय अध्यक्षमा चयन गरियो र अर्कोतिर अखिल (छैठौं) तर्फबाट टोपबहादुर रायमाझीलाई केन्द्रीय अध्यक्षमा निर्वाचित गरेको थियो ।

नेपाल क्रान्तिकारी विद्यार्थी संगठनले २०३९ सालमा प्रथम राष्ट्रिय सम्मेलन गरी ने।क्रा।वि। संगठन नाम राख्यो । २०४० मा दोस्रो, २०४१ मा तेस्रो, २०४५ मा चौंथो, २०४६ मा पाँचौ र सिपी दन्तको नेतृत्वमा छैठौं राष्ट्रिय सम्मेलन सम्पन्न गर्‍यो । वि.सं. २०४५ सालदेखि अनेरास्ववियु र अखिल (छैठौं) बीच ‘को–अर्डिनेसन कमिटी’ बनाउने सहकार्य गरियो । त्यसपछि क्रियाशील संगठनहरू राजावादी, स्वतन्त्र विद्यार्थी युनियन, ने.वि.संघ, ने.प्र.वि.यु, ने.क्रा.वि., अनेरास्ववियु (जनवादी), ने.रा.वि.फे.जस्ता संगठनले आ–आफ्ना वैचारिक पक्षधरता गरिरहेका थिए ।

२०४६ सालपछिको विद्यार्थी आन्दोलन

वि.सं. २०४५ चैत्र १० गते भारतीय विस्तारवादले पारवहन सन्धीको निहुँ बनाएर आर्थिक नाकाबन्दी गर्‍यो । को–अर्डिनेसन कमिटीको नेतृत्वमा उक्त नाकाबन्दी विरूद्ध आन्दोलन भयो । निरङ्कुश पञ्चायती शासन विरूद्ध आन्दोलन सम्पन्न भयो । वि.सं. २०४६ चैत्रमा ऐतिहासिक विद्रोह भयो । वि.सं. २०४८ भदौ १५ गते अखिल छैठौं र अनेरास्ववियुबीच एकता भयो । एकतामा पाँच संगठन मिलेर वि.सं . २०४८ फागुन २२–२९ सम्म काठमाडौमा ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन सम्पन्न भयो । त्यसलाई संगठनले १२ औं राष्ट्रिय सम्मेलन मान्यो । वि.सं. २०४७ पुस २९ गते अखिलका दुई संगठन अनेरास्ववियु र नेपाल क्रान्तिकारी विद्यार्थी संगठनबीच एकता सम्पन्न भई नाम ‘अनेरास्ववियु’ नै राख्ने निर्णय गर्यो । वि.सं. २०५० सालमा हेटौंडामा सम्पन्न भेलाले ‘सार’ अनुसारको ‘रूप’ निर्माण गर्न संगठनको नाम पछाडी (क्रान्तिकारी) पदावली राख्ने निर्णय गर्‍यो । वि.सं. २०५२ बैशाखमा १३ औँ राष्ट्रिय सम्मेलनले कृष्णध्वज खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्‍यो । २०५२ फागुन १ गते जनयुद्धको प्रारम्भसँगै अनेरास्ववियु (क्रान्तिकारी) ले सामन्तवाद, साम्राज्यवाद र विस्तारवादको शोषण उत्पीडन विरूद्ध नयाँ जनवादी राज्यसत्ता स्थापना गर्नका नयाँ अध्यायको थालनी गर्‍यो । झापा विद्रोहको अगाडी निर्माण भएको अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बीच एकतापछि वि.सं. २०५८ असोजमा एकताको १५ औं राष्ट्रिय सम्मेलन विराटनगरमा सम्पन्न भयो । नेकपा मालेबाट विद्रोह गरी आएको विद्यार्थी समूह पनि एकता सम्मेलनमा सहभागी थियो । वि.सं. २०६० असारमा काठमाडौंमा सम्पन्न १६ औं राष्ट्रिय सम्मेलनले लेखनाथ न्यौपानेलाई अध्यक्षमा निर्वाचित गर्‍यो । वि.सं. २०५१ को फुटपछि बनेको अर्को धारा अखिल (क्रान्तिकारी) को नेतृत्व डीआर पौडेलले गरेका थिए । वि.सं.२०५२ सालमा चितवनमा भएको १३ औं राष्ट्रिय सम्मेलनले डाचाराग वाग्लेलाई अध्यक्ष निर्वाचित गर्यो । वि.सं.२०५६ फागुन १७ मा भएको १४ औं राष्ट्रिय सम्मेलनले प्रकाश पोख्रेलको नेतृत्वमा केन्द्रीय समिति निर्माण गर्‍यो । वि.सं. २०५९ असोजमा अखिल (क्रान्तिकारी) र अखिल छैठौंबीच एकता भई कृष्ण अधिकारीलाई अध्यक्षमा निर्वाचित गर्यो । संगठनको नाम अनेरास्ववियु (एकीकृत) राख्ने निर्णय गर्‍यो ।

२०६२्/२०६३ सालपछिको विद्यार्थी आन्दोलन

चितवनको नारायणघाटमा अखिलको १५ औँ राष्ट्रिय सम्मेलन भएको थियो । संगठनभित्र तीब्र मतभेदका साथ सुरू भएपछि २०६२–६३ को आन्दोलन लगत्तै अखिल (एकीकृत) बहुमत पक्षबाट वि.सं. २०६३ फागुन ८ गते एकताको १६ औं राष्ट्रिय सम्मेलन भब्य रूपमा गर्‍यो । वि.सं. २०६५ सालमा अखिल (क्रान्तिकारी) र अखिल (एकीकृत) बीच एकता अधिवेशनले संगठनको नाम ‘अखिल (क्रान्तिकारी)’ राख्दै १७ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय अध्यक्षमा लेखनाथ न्यौपानेलाई चयन गर्‍यो । वि.सं. २०६३ असोज २–५ गते किर्तिपुरमा भएको १७ औं राष्ट्रिय सम्मेलनबाट लेखनाथ न्यौपाने निर्वाचित हुनुभयो । वि.सं. २०६७ मंसिर २४–२८ गते किर्तिपुरमा एकताको १८ औं सम्मेलनबाट हिमाल शर्माको अध्यक्षमा २०२ केन्द्रीय सदस्य निर्वाचित गर्‍यो ।

१८ औं सम्मेलनसम्म आइपुग्दा नेराबिफे गणतान्त्रिक विद्यार्थी मञ्च, अखिल छैंठौ, अखिल (पाँचौ), अनेरास्ववियु, तराइ मधेस विद्यार्थी फ्रन्ट, नेविसंघ र बिजय हमालले नेतृत्व गरेको अखिल (एकीकृत) सँग एकता भयो । वि.सं.२०६८ बैशाख–जेठ मसान्तसम्म केन्द्रीय समिति बैठकसम्म आउँदा पार्टी, संगठनभित्र विवाद एक उत्कर्षमा आइपुग्यो । वि.सं. २०६८ मंसिर १३ गतेका दिन तत्कालीन संगठन उपाध्यक्ष शरद रसाइलीको अध्यक्षतामा बैठक बसी संगठन पुनर्गठन गर्ने तयारी गरियो । वि.सं. २०६९ बैशाख १८ गतेका दिन देशभरिका १००० जना प्रतिनिधिहरूको बीचमा राष्ट्रिय भेला भयो । वि.सं. २०६९ असार २२–२६ गतेसम्म किर्तिपुरको ल्याब्रेटरी स्कुलमा केन्द्रीय समितिको विस्तारित बैठक बसी शरद रसाइलीको संयोजकत्वमा १०१ सदस्यीय १९ औं आयोजक समिति गठन भएको थियो । वि.सं. २०६९ असोज १६–१९ गतेसम्म किर्तिपुरमा १९ औँ राष्ट्रिय सम्मेलन सम्पन्न भयो । सम्मेलनले अध्यक्षमा शरद रसाइलीलाई निर्वाचित गर्‍यो । वि.सं.२०७२ असोज १२–१३ सम्म सम्पन्न सम्मेलनबाट अध्यक्षतामा पूर्णबहादुर सिंह निर्वाचित हुनुभयो । वि.सं.२०७४ फागुन २७–३० गतेसम्म दाङमा सम्पन्न २१ औं सम्मेलनबाट अध्यक्षमा चिरञ्जीवी ढकाल निर्वाचित हुनुभयो । वि.सं. २०७८ असोज ६–१० सम्म पोखरामा सम्पन्न २२ औँ राष्ट्रिय सम्मेलनबाट प्रकाश शाही अध्यक्षमा र वि.सं. २०८० फागुन ६–९ सम्म किर्तिपुरमा सम्पन्न २३ औँ राष्ट्रिय सम्मेलनले संगठनको नाम परिवर्तन गरी ‘अखिल (समाजवादी)’ राख्ने निर्णय गर्दै नरेन्द्र सीको नेतृत्वमा १८१ जना केन्द्रीय सदस्य निर्वाचित गर्‍यो। संगठनले रातो पृष्ठमा सेतो कलरमा कलम र तारा अङ्कित झण्डा परिवर्तन गरी रातो पृष्ठमा सुनौलो कलरमा कलम र तारासहित झण्डा बनाउने निर्णय गर्‍यो ।

प्रकाशित मिति : ३१ भाद्र २०८१ सोमबार ००:००  १० : १६ बजे