१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

तिलौराकोट विश्व सम्पदामा सूचिकृत हुन सकेन



लुम्बिनी ।
पुरातात्त्विक तथा ऐतिहासिक स्थल शाक्यवंशीय राजा शुद्धोदनको राजधानी तथा प्राचीन कपिलवस्तु दरबार तिलौराकोट सहर (प्राचीन कपिलवस्तु) विश्व सम्पदामा सूचिकृत हुन सकेन ।

फ्रान्सको पेरिसमा भइरहेको युनेस्कोको ४७औं सेसनमा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रस्ताव छलफल हुँदा विश्व सम्पदामा सूचिकृत गर्ने विषय पारित हुन सकेन । अस्वीकृत हुन पुग्यो । शुक्रबार छलफल सुरु भएर नसकिएपछि शनिबार बिहान छलफल हुँदा विश्व सम्पदामा सूचिकृत गर्ने प्रयास अपूरो हुन पुग्यो ।

युनेस्कोको मुख्य प्राविधिक सल्लाहकार इकोमस (इन्टरनेसनल काउन्सिल अन मोनुमेन्ट्स एन्ड साइट्स) ले मूल्यांकन गरी दिएको प्रतिवेदनका आधार सूचिकृत प्रयास असफल भयो । कार्य सूचीमा छलफल हुनुअघि नै इकोमसले तिलौराकोटको प्रस्ताव डिफर्ड (स्थगन) मा राख्ने सिफारिस गरेको थियो । कुनै पनि मुलुकले नेपालको पक्षमा संशोधन प्रस्ताव राखेको भए प्रस्ताव पारित हुने सम्भावना हुन सक्थ्यो एक पुरातत्त्व अधिकृतले भने, तर त्यसो हुन सकेन । यसले नेपालको कूटनीतिक पहल कमजोर भएको देखाएको उनले बताए । तीन वर्षदेखिको अथक प्रयास र लाखौं रकम खर्च व्यर्थ गएको छ ।

शाक्यवंशीय राजधानी तिलौराकोट ९प्राचीन कपिलवस्तु०लाई सम्पदा सूचीमा सूचिकृत गराउन र बुद्ध जन्मस्थल लुम्बिनीलाई सम्भावित खतरामा राख्न नहुने विषयमा हुने छलफलमा भाग लिन संस्कृतिमन्त्री बद्रीप्रसाद पाण्डे नेतृत्वमा टोली फ्रान्स गएको थियो । टोली हेरिटेज डिप्लोमेसीमा कमजोर देखिँदा लामो समयदेखिको प्रयास असफल हुन पुगेको लुम्बिनी विकास कोष सदस्य सचिव सानुराजा शाक्यले बताए ।

११ वर्षदेखि भइरहेको उत्खनन, अन्वेषणले पुरातात्त्विक सामग्री र भग्नावशेष इसा पूर्व आठौं शताब्दीसम्मका रहेको पुष्टि भएको छ । पुरातत्त्वविद्हरूले तिलौराकोट दक्षिण एशियामा सबैभन्दा सुरक्षित, सग्लो र महत्त्वपूर्ण ऐतिहासिक सम्पदा स्थल भएको बताएका छन् ।

युनेस्कोले तिलौराकोटलाई सन् १९९६ मा टेन्टेटिभ वर्ल्ड हेरिटेज साइटको सूचीमा राखेको थियो । त्यस यतादेखि त्यो सूचीभन्दा माथि उठ्न सकेको छैन । त्यसपछि सन् २०२३ मा आएर फेरि प्रक्रिया अगाडि बढाउँदै अहिले सरकार नै वर्ल्ड हेरिटेज स्थलमा इन्स्क्राइब गर्न कस्सिएर लागेपनि सफल हुन सकेको छैन ।

यस पटक विश्वभरबाट प्रस्ताव भएका ३२ साइटलाई नोमिनेसन गर्ने नगर्ने विषयमा छलफल भैरहेको छ । जसमध्ये २४ वटा सांस्कृतिक, ७ वटा प्राकृतिक र एउटा मिक्स साइट छन् । ६ जुलाईबाट सुरु भएको सेसन १६ जुलाईसम्म हुनेछ । कान्तिपुरबाट

प्रकाशित मिति : २८ असार २०८२ शनिबार ००:००  ९ : ३७ बजे