७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

कागज बनाउने मेसिन सञ्चालनमा, प्लाष्टिक मुक्त नगर अभियानमा सहयोग



बाबुराम रायमाझी, वाणगंगा ।

वाणगंगा नगरपालिका–४ मा अवस्थित सिद्धार्थ सामाजिक विकास केन्द्रले वातावरण संरक्षण र प्लाष्टिक न्यूनीकरण अभियानलाई सहयोग पुर्‍याउने उद्देश्यसहित कागज बनाउने मेसिन सञ्चालनमा ल्याएको छ।

उक्त मेसिन भारतको दिल्लीबाट आयात गरिएको हो र यसको उद्घाटन तथा पूजाआजा कार्यक्रम एक विशेष समारोहका बीच सम्पन्न भयो। कार्यक्रममा केन्द्रकी अध्यक्ष सूर्यकुमारी शाहीले धार्मिक परम्परा अनुसार पूजाआजा गरी मेसिनको शुभारम्भ गर्नुका साथै सहभागीहरूसँग खुसी साटासाट गरेकी थिइन्।

संस्थाले आफ्नो स्थापनाकालदेखि नै वातावरणीय क्षेत्रको संरक्षणमा आफूलाई समर्पित गर्दै आएको छ। यस मेसिनमार्फत अब फोहोर कागज पुनःप्रयोग गरेर नयाँ कागज उत्पादन गरिनेछ, जसले प्लास्टिकजन्य उत्पादनहरूको प्रयोगलाई घटाउने विश्वास गरिएको छ।

कार्यक्रममा वाणगंगा नगरपालिकाका सामाजिक अभियन्ता, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

अध्यक्ष सूर्यकुमारी शाहीले कार्यक्रममा बोल्दै भनिन्, “प्लास्टिकले पृथ्वीलाई क्षति पुर्‍याउँदै लगेको छ। हामी स्थानीय स्तरमै यसको विकल्प खोज्ने प्रयासमा छौं। यस मेसिनले वातावरणमैत्री व्यवहारलाई प्रोत्साहन गर्नेछ।”

वाणगंगा नगरपालिका स्वयं पनि प्लास्टिक मुक्त नगर घोषणा गर्ने अभियानमा जुटिरहेको अवस्थामा यस्तो प्रयासले नगरपालिका र स्थानीय समुदायलाई थप उत्साहित बनाएको छ।

स्थानीय बासिन्दाहरूले संस्थाको प्रयासको खुलेर प्रशंसा गर्दै कागज उत्पादन कार्यलाई सहकार्यमा अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए।

सिद्धार्थ सामाजिक विकास केन्द्रको यो पहलले स्थानीय स्तरमा हरित विकासको नमूना प्रस्तुत गर्ने विश्वास गरिएको छ। आगामी दिनमा यो मेसिनमार्फत उत्पादन हुने कागज विद्यालय, कार्यालय तथा दैनिक प्रयोगमा ल्याएर प्लास्टिकको विकल्प सिर्जना गरिने योजना रहेको छ।

प्रकाशित मिति : ३२ असार २०८२ बुधबार ००:००  ८ : ०६ बजे