१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

कपिलवस्तुमा सर्पदंशका घटना बढे, एक महिनामै दुईको मृत्यु



कपिलवस्तु ।
वर्षायाम सुरु भएसँगै कपिलवस्तुमा सर्पदंशका घटनाहरू बढेका छन्।

समयमै उपचार नपाउँदा र झारफुकजस्ता अन्धविश्वासका कारण असार महिनामा मात्र दुई जनाले ज्यान गुमाएका छन् भने सर्पदंश उपचार केन्द्रहरूमा बिरामीको चाप बढेको छ।

गोरुसिङ्गेस्थित सर्पदंश उपचार केन्द्रका अनुसार, गत आर्थिक वर्ष २०८०र८१ मा १ हजार ८४२ जनाले उपचार सेवा लिएका थिए।

चालु महिना असारमा मात्रै ३९७ बिरामी उपचारका लागि आएको केन्द्रका प्रमुख नविन भण्डारीले जानकारी दिए। उनका अनुसार, बैशाखदेखि भदौसम्म सर्पदंशका बिरामीको चाप उच्च हुने गर्दछ।

गत साता मात्रै कपिलवस्तु नगरपालिका–१ की ६० वर्षीया सुमित्रादेवी कान्दुको भान्सामा खाना पकाउँदै गर्दा सर्पले डसेर मृत्यु भएको थियो। टोकेको लामो समयसम्म थाहा नहुँदा र उपचार केन्द्रमा पुर्‍याउन ढिलाइ हुँदा उनको ज्यान गएको हो।

केन्द्र प्रमुख भण्डारीका अनुसार, सर्पले डसेपछि तत्काल स्वास्थ्य संस्थामा नआएर झारफुक र घरेलु उपचारमा लाग्ने प्रवृत्तिका कारण मृत्युको जोखिम बढेको हो। ‘विषालु सर्पले टोकेपछि मानिसहरू झारफुक गर्दै बस्छन्, अवस्था जटिल भएपछि मात्रै उपचारका लागि ल्याउँछन्, अनि बचाउन कठिन हुन्छ,’ उनले भने।

कपिलवस्तु अस्पतालमा पनि सर्पदंशका बिरामी बढेका छन्। अस्पतालका डा। जावेद खाँले असारमा मात्रै २० भन्दा बढी बिरामी आएको बताए।

उनले झारफुक गर्ने, मुखले रगत चुस्ने वा चिरफार गर्नेजस्ता गलत अभ्यासले बिरामीको अवस्था झनै जटिल बन्ने बताए। समयमै उपचार गरे २(३ भाइल औषधिले निको हुने बिरामीलाई ढिलो ल्याउँदा ३० भाइलसम्म लगाउनुपर्ने अवस्था आउने स्वास्थ्यकर्मीहरू बताउँछन्।

स्वास्थ्यकर्मीहरूले सर्पदंशबाट बच्न सतर्कता अपनाउन आग्रह गरेका छन्। विशेषगरी भुइँमा नसुत्ने, घरवरिपरिको झाडी सफा गर्ने, सुत्दा झुलको प्रयोग गर्ने र घरभित्रका दुलाहरू टाल्नाले जोखिम कम गर्न सकिने उनीहरूको सुझाव छ।

गोरुसिङ्गेमा रहेको यो केन्द्रले कपिलवस्तुका साथै अर्घाखाँची, प्यूठान, दाङ र रुपन्देहीका बिरामीलाई समेत सेवा दिँदै आएको छ। केन्द्रको प्राविधिक व्यवस्थापनमा नेपाली सेनाले सहयोग गरिरहेको छ। यस क्षेत्रमा कोब्रा र करेतजस्ता विषालु सर्पको बिगबिगी रहेको छ।

प्रकाशित मिति : १ श्रावण २०८२ बिहिबार ००:००  ८ : ०८ बजे