जीवनका धेरै अध्यायहरू छन्, जसलाई हामी आफैंले बाँड्न हिच्किचाउँछौं । महिनावारी, गर्भ, प्रसूति र रजोनिवृत्ति, यी सबै अनुभवलाई समाजले अझै पनि महिलाको निजी वा लुकाउनुपर्ने जिम्मेवारी जस्तै बनाइदिएको महसुस हुन्छ । तर, जीवनको एउटा मोडमा आइपुग्दा मैले बुझेँ, जति आवश्यक महिनावारीबारे खुला कुरा गर्नु छ, उति नै आवश्यक रजोनिवृत्तिका कुरा पनि छन् । लाज, डर र गलत धारणाका कारण धेरै महिलाहरू यो चरणलाई मौनतामै बिताउँछन् । आज म यही मौनता तोड्न चाहन्छु, आफ्ना अनुभव, अनुभूति र ती स-साना तर गहिरा संवेदनशील क्षणहरू साझा गर्दै, ताकि रजोनिवृत्ति डरको विषय नभई बुझाइ, समर्थन र सहानुभूतिको विषय बन्न सकोस् ।
यौवनका ती दिनहरू महिनावारीसँगै तालमेल मिलाउँदै बिते कहिले पेट दुख्ने, कहिले थकानले शरीर ढलेको जस्तो लाग्ने, कहिले आफूलाई नै असहज महसुस गर्ने । तर, समयसँगै मैले बुझेँ महिनावारी केवल जैविक प्रक्रियामात्र होइन, यो मेरो शरीरको शक्ति, जीवनको निरन्तरता र आत्मविश्वासको चक्र पनि रहेछ ।
रजोनिवृत्ति महिलाको जीवनमा एउटा स्वाभाविक जैविक प्रक्रिया हो, जुन विश्वव्यापी रूपमा प्रायः ४५-५५ वर्षको उमेरमा देखापर्छ । नेपालमा रजोनिवृत्तिको औसत उमेर ४८, ०२ वर्ष रहेको पाइन्छ । म कहिल्यै बिर्सिनँ पहिलो पटक महिनावारी भएको दिन, अनि त्यसलाई लुकाउन खोज्दै बाथरूममा चुपचाप बसेको मेरो मनको हलचल । एकातिर डर, अर्कोतिर लाज । आमाले भन्नुहुन्थ्यो ‘अब तिमी ठूली भयौ, महिनावारी हुनुपर्छ, छोरी मान्छे ।’ त्यही क्षणसँगै, मेरो जीवनमा एउटा नयाँ अध्याय खुलेको थियो अञ्जान, अलमलिएको, तर केही आशाको उज्यालो लिएर । यौवनका ती दिनहरू महिनावारीसँगै तालमेल मिलाउँदै बिते कहिले पेट दुख्ने, कहिले थकानले शरीर ढलेको जस्तो लाग्ने, कहिले आफूलाई नै असहज महसुस गर्ने । तर समयसँगै मैले बुझें महिनावारी केवल जैविक प्रक्रियामात्र होइन, यो मेरो शरीरको शक्ति, जीवनको निरन्तरता, र आत्मविश्वासको चक्र पनि रहेछ । हरेक पीडा, हरेक भावनाले मलाई स्त्री भएको अनुभूति दिन्छ र जीवनलाई अझ गहिरो अर्थ दिन थाल्छ ।
हाम्रो समाजमा महिनावारीको कुरा आधा बोलीने, आधा लुकाइने हुन्छ र रजोनिवृत्तिको कुरा त झनै लाजिलो, अनावश्यक वा बुढ्यौलीको संकेत जस्तो मानिन्छ । महिलाको जीवनचक्रलाई लाजसँग जोड्ने परम्परा यतिसम्म फैलिएको छ कि महिनावारीमा हामी आधा कुरामात्रै बोल्छौं र रजोनिवृत्तिमा त झन् पूर्ण मौनता अपनाउँछौं । तर किन ? कसका लागि ? जीवनको सबैभन्दा प्राकृतिक प्रक्रिया भएर पनि स्त्रीले किन यसबारे चुप लाग्नुपर्छ ।
चिकित्सा विज्ञानले भन्छ, रजोनिवृत्ति भनेको १२ महिनासम्म महिनावारी रोकिएपछि सुरु हुने जीवनको स्वाभाविक चरण हो । यो कुनै रोग होइन । तर शरीरमा हुने हर्मोनल उतार–चढाव, अचानक रिस वा भावनात्मक संवेदनशीलता, थकान, निद्रा नपर्नु र तातो–चिसोको अनुभवले जीवनलाई कहिलेकाहीँ चुनौतीपूर्ण बनाउन सक्छ । यिनै परिवर्तनका बीचमा म पनि एक दिन आइपुगेँ न कुनै तयारी न कुनै जानकारी र आफ्नै साथीहरूसँग पनि खुल्न नसकेर एक्लै बुझेको यात्रामा ।
समाजशास्त्रीहरूले भन्छन्, महिलाको जीवनचक्रमा महिनावारी र रजोनिवृत्तिले केवल व्यक्तिगत अनुभवमात्र होइन, पारिवारिक र सामाजिक सम्बन्धमा पनि गहिरो प्रभाव पार्ने अवस्था हो । महिनावारी युवावस्थाको सन्देश हो भने, रजोनिवृत्ति जीवनानुभूतिको परिपक्वता हो ।
रजोनिवृत्तिमा शरीर हर्मोनको नयाँ तालमा समायोजन खोज्छ, दिमाग अत्यधिक संवेदनशील बन्छ, सुरक्षित महसुस गर्न चाहना बढ्छ र घरपरिवार र साथीभाइको व्यवहारबाट छिटो प्रभावित हुन्छ । भित्रभित्रै खालीपन वा असन्तुलन झल्किन सक्छ र कहिले आफैंलाई आफैं चिन्न कठिन हुन्छ । यी परिवर्तनहरूले महिलामात्र होइन, उनीसँग जोडिएका परिवार र कार्यस्थललाई पनि असर पार्नसक्छ । तर एक–अर्काको समझदारी, साथ र सहानुभूति मिलेमा यो यात्रा सहज, सुरक्षित र प्राकृतिक बनाउन सकिन्छ ।
रजोनिवृत्ति सुरु भएको अनुभव मैले एकदिन अचानक महसुस गरेँ । राति निद्रा कम पर्नु, कहिलेकाहीँ एक्कासि शरीर तातो हुनु, बिहानै उठ्दा असह्य थकान, र साना-साना कुरामा मन खिन्न हुनु । यी सबै परिवर्तनहरूले मलाई आफ्नै भित्री संसारसँग जुधाइरहेका थिए । कहिले रिस एकाएक बढेजस्तो लाग्थ्यो, कहिले मन चसक्क दुख्थ्यो र कहिलेकाहीँ बिना शब्द आँखा रसाइरहन्थ्यो । सुरुमा मैले आफैँसँग प्रश्न गरेँ, ‘के म कमजोर हुँदैछुरु’ तर समय र अनुभवले मलाई सिकायो, यो कमजोरी होइन, परिवर्तन हो, जीवनको स्वाभाविक अर्को चरण हो । चुनौतीहरू बाहिरबाट आएका जस्तो देखिए पनि भित्रैबाट मैले महसुस गरें, म सक्षम छु र यी परिवर्तनहरूले मलाई अझ सचेत, धैर्यवान् र बलियो बनाएका छन् ।
अध्ययनहरूले देखाएका छन् कि रजोनिवृत्तिका समयमा हुने हर्मोनको उतार-चढावका कारण तातो-चिसो महसुस हुनु, थकान, निद्रासम्बन्धी समस्या तथा भावनात्मक अस्थिरता जस्ता लक्षण देखा पर्न सक्छन् । यस्ता अवस्थालाई डरको विषय बनाउनुको सट्टा सही जानकारी, समयमै मानसिक समर्थन र स्वस्थ जीवनशैली अपनाउन सके यी लक्षणहरूलाई सहज र प्रभावकारी रूपमा व्यवस्थापन गर्न सकिन्छ ।
यस अनुभवले मलाई बुझायो कि रजोनिवृत्ति केवल निजी शारीरिक बदलाबमात्र होइन, यो दाम्पत्य जीवन, परिवार र कार्यस्थलसँग प्रत्यक्ष रूपमा जोडिएको साझा मानसिक अवस्था पनि हो । जब परिवारले परिवर्तनलाई समझदारीपूर्वक स्वीकार्छ, संवेदनशीलतासाथ सुन्छ र अनावश्यक प्रश्न वा आलोचना नगरी साथ दिन्छ, तब घरको वातावरण शान्त र सहज हुन्छ । यस्तो माहोलमा आत्मीयता, आस्था र समझदारी फैलिन्छ । कार्यस्थलमा पनि सहकर्मीहरूले सानो सहयोग गरे, आदर र संवेदनशीलता देखाए, रजोनिवृत्तिको यात्रा धेरै सहज बन्छ । यसले महिलाको आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्छ र उनीलाई हौसला दिन्छ ।
महिलाको जीवनचक्र जैविक, मानसिक र सामाजिक रूपमा विविध चरणहरूले भरिएको हुन्छ । बाल्यकालको निर्दोषता, यौवनको उत्साह, महिनावारीको सुरु, मातृत्व र परिवारको जिम्मेवारी, र उमेरसँगै आउने स्वास्थ्यका उतार-चढाव । यही निरन्तर चक्रभित्र रजोनिवृत्ति एउटा महत्वपूर्ण मोड हो, जहाँ शरीर, मन र स्वास्थ्यले नयाँ तालमेल खोज्छन् । हरेक चुनौती र परिवर्तनले महिलालाई थप बलियो बनाउँछ र जीवनको सम्पूर्ण यात्रा बुझ्न सहयोग पुर्याउँछ । यदि परिवार र साथीले थोरै संवेदनशीलता र समझदारी देखाए, महिलाले यी अवस्थालाई सहजै सामना गर्न सक्छिन्, र समाजमा पारस्परिक सम्मानको संस्कार बलियो हुन्छ ।
परिवर्तनको यो मार्ग, साथ र समझदारीले अझ सहज बन्छ । रजोनिवृत्ति डर मान्नुपर्ने अवस्था होइन, न त महिलाले एक्लै बोकेर हिँड्नुपर्ने भारी हो । यो जीवनको स्वाभाविक मोड हो । बाल्यदेखि यौवन, यौवनदेखि परिपक्वता र परिपक्वताबाट नयाँ अध्यायको सुरुवातको यात्रा ।
कार्यस्थलका पुरुष सहकर्मीहरूलाई म भन्छु रजोनिवृत्तिका बेला महिलाको व्यवहार कहिलेकाहीँ फरक देखिनसक्छ, तर त्यो असामान्य होइन । शरीर र मन दुवैमा भइरहेको स्वाभाविक परिवर्तनको प्रक्रिया हो । यस्तो अवस्थामा समझदारी, धैर्य र सम्मान नै सबैभन्दा ठूलो साथ हुन्छ । सहकर्मीहरूको संवेदनशीलता, साना सहयोग, आदरपूर्ण व्यवहारले यो यात्रालाई सहज बनाउँछ । यस्तो वातावरणले महिलाको आत्मविश्वासमात्र बढाउँदैन, उनीहरूलाई आफ्नो भूमिकामा अझ दृढ र सक्षम भएर अघि बढ्ने ऊर्जा पनि दिन्छ ।
अन्ततः यो लेख मेरो व्यक्तिगत यात्रा र अनुभवमा मात्र सीमित छैन, यो हाम्रा घर-घर र समाज-समाजमा मौन रूपमा बाँचिरहेका सयौं महिलाका साझा अनुभूतिहरूको प्रतिबिम्ब हो । मेनोपोज र रजोनिवृत्तिलाई कमजोरी, डर वा जीवनको अन्त्यका रूपमा होइन, आत्म-स्वीकृति, चेतना र नयाँ सुरुवातको रूपमा हेर्ने दृष्टिकोण विकास गर्न जरुरी छ । मेनोपोजपछि देखिने शारीरिक परिवर्तन वा भावनात्मक उतार–चढावलाई ‘अप्ठ्यारो दिन’को संकेत सम्झिनुको सट्टा, आफूलाई अझ सक्रिय, सचेत र सशक्त बनाउने अवसरको रूपमा लिन सकियो भने, जीवनको यो चरण आत्मबल, सम्मान र सम्भावनाले भरिएको प्रेरणादायी यात्रा बन्न सक्छ । (लेखक पराजुली अधिवक्ता, सामाजिक अभियन्ता तथा महिला अधिकारकर्मी हुनुहुन्छ ।)







प्रतिक्रिया