३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

मातेर श्रीमती कुट्ने वडाअध्यक्षको प्रहरी माथि आरोप



कपिलवस्तु ।
रक्सी सेवन गरि पटक–पटक श्रीमती कुटेर विवादमा आउने कृष्णनगरका जनप्रतिनिधीले आफुलाई प्रहरीले कुटेको आरोप लगाएका छन् । वडा नं. ११ का वडाअध्यक्ष जीवन श्रीवास्तवले घरायसी विवादमा आफुलाई प्रहरीले पक्राउ गरि कुटपिटको आरोप लगाएका हुन् । शुक्रबार राती रक्सीले मातेका वडाअध्यक्ष श्रीवास्तवले श्रीमती कुटेपछि प्रहरीले उनलाई ल्याएर इलाका प्रहरी कार्यालय कृष्णनगरमा राखिएको थियो ।

लगत्तै प्रहरी माथि गाली बेज्यती गर्न थालेपछि उनको मेडिकल जाँच गराउन बहादुरगंज अस्पताल लगेको थियो । अस्पतालमा समेत प्रहरीमाथि अभद्र व्यवहार गरेका वडाअध्यक्ष श्रीवास्तवलाई अभद्र व्यवहारमा मुद्धा चलाउन खोजेपछि उनले प्रहरीमाथि कुटपिटको आरोप लगाएका हुन् । हाल उनी उपचारका लागि भन्दै भैरहवा मेडिकल कलेजमा छन् ।

शिवराज अस्पताल बहादुरगंजको मेडिकल रिर्पोटमा वडाअध्यक्ष श्रीवास्तवले मादक पदार्थ सेवन गरेको उनको टाउकोमा र मुखमा चोट देखाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले घटनाको अनुसन्धान भइरहेको बताएको छ । “ हामीले तत्कालिन अवस्थामा खटिएका सुरक्षाकर्मी, अस्पतालकर्मी र अभद्र व्यवहार गर्ने वडाअध्यक्ष संग सोधपुछ गरिरहेका छौ, दोषि देखिए कारवाही हुन्छ” उनले भने ।

तर अस्पताल श्रोतका अनुसार अत्याधिक मापसे गरेको श्रीवास्तवले मेडिकल गराउन नखोजेको र मुद्धा चल्ने भनिएपछि रिसाएर आफै भित्तामा टाउको र मुख ठोक्याएका थिए । लगत्तै विहान कृष्णनगर उद्योग बाणिज्य संघका अध्यक्ष रितेश शर्मा तथा आफन्तहरु संग मिलेर विवाद सिर्जना गरेपछि प्रहरीले उपचार पश्चात प्रहरीमा हाजिर हुने शर्तमा छाडेको थियो । वडा अध्यक्ष श्रीवास्तवले वैशाख १३ गते पनि मापसे गरेर श्रीमती रक्ताम्मे हुने गरि कुटेपछि प्रहरीले सम्झाई बुझाई छाडेको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०८३ आइतबार ००:००  ८ : ०७ बजे