काठमाडौँ । खाना पकाउने तेलको मूल्य पछिल्लो एक महिनामा अस्वाभाविक रूपमा आकासिएको छ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको बहानामा व्यापारीहरूले प्रतिलिटर २० देखि ५० रुपैयाँसम्म यसको भाउ बढाएका छन् ।
माघ अन्तिम सातातिर प्रतिलिटर २५० देखि २७५ रुपैयाँमा पाइने सनफ्लावर तेल फागुन मध्यसम्म आइपुग्दा प्रतिलिटर २९० रुपैयाँभन्दा माथि पुगेको छ ।
तर सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भने हाल बजार मूल्यभन्दा केही सस्तोमा तेल बिक्री गरिरहेको जनाएको छ । लिमिटेडको वेबसाइटमा भटमासको तेल प्रतिलिटर २४०, सनफ्लावर २७५ र विभिन्न ब्रान्डका तोरीका तेल २५५ देखि ३६० रुपैयाँसम्ममा उपलब्ध छन् । यद्यपि, निजी क्षेत्रका खुद्रा पसलहरूमा भने मूल्य वृद्धि निकै उच्च देखिएको छ ।
किन बढ्यो त तेलको मूल्य ?
नेपाल चामल, तेल, दाल उद्योग संघका कार्यसमिति सदस्य विभोर अग्रवालले अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्य वृद्धि र ढुवानी मार्गमा देखिएको अवरोधलाई मुख्य कारण रहेको बताए । बाह्य मुलुकबाट हुने आयात प्रक्रियामा ठुलो समस्या देखिएको र त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको उनको भनाइ छ ।

अग्रवालका अनुसार अर्जेन्टिना र इन्डोनेसिया जस्ता मुलुकहरूबाट कच्चा तेल बोकेर आउने ठुला जहाजहरू बाटोमै रोकिएका छन् । ‘अहिले विश्व बजारमा डलरको मूल्य बढेको छ र ढुवानीको बाटो ब्लक भएकाले सबै भेसलहरू बाटोमै अड्किएका छन्,’ उनले भने । ढुवानी मार्गमा आएको यस्तो अवरोधले आपूर्तिमा अभाव सिर्जना गरेको र ट्रान्सपोर्टेसन खर्चसमेत ह्वात्तै बढेको उनको दाबी छ ।
धान र चामल छिमेकी मुलुक भारतबाट सहजै आउने भए तापनि खानेतेलका लागि तेस्रो मुलुकमै भर पर्नुपर्ने बाध्यता रहेको उनले स्पष्ट पारे । अन्तर्राष्ट्रियस्तरमा भइरहेका युद्धहरूले ढुवानी सेवा प्रभावित हुँदा र कच्चा पदार्थको मूल्य बढ्दा नेपाली उपभोक्ताले महँगी खेप्नुपरेको पनि उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय बजारमा अहिले कच्चा पाम तेल प्रतिटन ९५० देखि १ हजार डलरमा कारोबार भइरहेको छ । त्यसैगरी सोयाबिन तेलको मूल्य प्रतिटन ९८० देखि १ हजार ५० डलर र सूर्यमुखी तेल ९०० देखि ९५० डलर हाराहारीमा पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघको तथ्याङ्कले पनि घ्यू तथा तेलको मूल्यमा ७.६१ प्रतिशतको वृद्धि भएको देखाएको छ । फागुनमा यो वृद्धि दर अझै उच्च हुने अनुमान गरिएको छ ।
वाणिज्य विभागको अनुगनमा सक्रियता
बजारमा खाने तेलको अनियन्त्रित मूल्यवृद्धि र कालोबजारी भइरहेको गुनासो बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आफ्नो सक्रियता बढाएको छ । विभागका निर्देशक नरहरि तिवारीले अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न अनुगमनलाई तीव्र पारिएको जानकारी दिए ।
तिवारीका अनुसार विभागले अहिले मूल्यवृद्धिको सत्यतथ्य बुझ्न सूक्ष्म अध्ययन र ‘भेरिफिकेसन’ गरिरहेको छ । ‘अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलामा अवरोध आएको भनिए पनि हामी यसको गहिराइमा पुगेर अध्ययन गर्दैछौँ,’ उनले भने । बजारमा खाने तेलको मौज्दात पर्याप्त रहेको दाबी गर्दै उनले कृत्रिम अभाव सिर्जना गर्ने वा कार्टेलिङ गरी मूल्य बढाउने जो–कोहीलाई पनि नछोड्ने चेतावनी दिए ।
‘बजारमा खाने तेलको मौज्दात पर्याप्त छ, ठुलो समस्या देखिएको छैन,’ तिवारीले भने, ‘यद्यपि, कृत्रिम अभाव सिर्जना गर्ने वा कार्टेलिङ गरी मूल्य बढाउनेलाई भने कारबाही हुन्छ । विभागले अहिले विशेषगरी तेलको मूल्य र मौज्दातलाई केन्द्रित गरेर बजार निरीक्षण गरिरहेको छ ।
उपभोक्ता अधिकारकर्मीले भने अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नुभन्दा पहिल्यै मौज्दात रहेको तेललाई समेत नयाँ मूल्य तोकेर बेच्ने प्रवृत्ति बढेको भन्दै सरकारले कडा कदम चाल्नुपर्ने माग गरेका छन् ।
कुन–कुन मुलुकबाट आयात हुन्छ तेल ?
नेपालमा विभिन्न प्रकारका तेलहरूको आयात विश्वका विविध मुलुकहरूबाट भइरहेको छ । भटमास तेल, सूर्यमुखी तेल, पाम तेल, जैतुनको तेल, तोरीलगायत खाद्य तथा अन्य प्रयोगका तेलहरूको आयातमा अर्जेन्टिना, इन्डोनेसिया र युक्रेनजस्ता देशहरू प्रमुख आपूर्तिकर्ताका रूपमा देखिएका छन् ।
चालु आर्थिक वर्षको ७ महिना (२०८२ माघ मसान्तसम्म) मा ९३ अर्ब ७५ करोड ४६ लाख रुपैयाँ बराबरको खाने तेल आयात भएको छ । यसमध्ये ७८ अर्ब १९ करोड ६२ लाख रुपैयाँ बराबरको निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।
यसमध्ये कच्चा भटमासको तेल आयातमा अर्जेन्टिनाको प्रभुत्व रहेको छ । अर्जेन्टिनाबाट मात्रै ३७ करोड २४ लाख २७ हजार ८१९ लिटर भटमासको तेल आयात भएको छ, जुन कूल आयातको ठुलो हिस्सा हो । यसबाहेक, चीनबाट १५ करोड ७३ लाख ९९ हजार ९११ लिटर, ब्राजिलबाट ३ करोड ३८ लाख ८४ हजार २३ लिटर, थाइल्याण्डबाट १ करोड ४३ लाख २७ हजार ८१ लिटर र युक्रेनबाट २२ लाख ६ हजार १३२ लिटर कच्चा भटमासको तेल भित्रिएको छ । यस्तै चीन, भारत, कुवेत र ओमानबाट पनि सानो परिमाणमा आयात भएको छ ।
भटमासको तेल आयातको अवस्था:

स्रोतः भन्सार विभाग
सूर्यमुखी तेलः युक्रेन र अर्जेन्टिना मुख्य स्रोत
सूर्यमुखी तेल आयातमा युक्रेन र अर्जेन्टिना प्रमुख आपूर्तिकर्ता हुन् । युक्रेनबाट १ करोड ७१ लाख ३७ हजार १०२ लिटर कच्चा सूर्यमुखी तेल र ५४ हजार ५९४ लिटर सूर्यमुखी (कच्चा बाहेक) तेल आयात भएको छ । अर्जेन्टिनाबाट ४ करोड ७४ लाख ८८ हजार ४९ लिटर कच्चा सूर्यमुखी तेल भित्रिएको छ । भारत, चीन, कुवेत, मलेसिया, कतार, स्पेन, टर्की र संयुक्त अरब इमिरेट्सबाट पनि विभिन्न परिमाणमा सूर्यमुखी तेल र यसका अंशहरू आयात भएको देखिन्छ ।
सूर्यमुखी तेल आयातको अवस्था:

स्रोतः भन्सार विभाग
पाम तेलः इन्डोनेसिया र मलेसियाको बाहुल्य
पाम तेलको आयातमा इन्डोनेसिया र मलेसियाले बजारमा वर्चस्व जमाएका छन्। इन्डोनेसियाबाट ३ करोड ४२ लाख ८ हजार २२३ लिटर कच्चा पाम तेलसहित शोधित तथा ब्लीच गरिएको पाम तेल र ओलीन गरी कुल ३ करोड ७५ लाख १५ हजार २४३ लिटर पाम तेलजन्य उत्पादनहरू आयात भएका छन् । मलेसियाबाट पनि १ करोड २९ लाख ८५ हजार १२ लिटर कच्चा पाम तेल, शोधित पाम तेल, ओलीन र स्टेयरिन गरी कुल १ करोड ५३ लाख १२ हजार ५६३ लिटर आयात भएको छ । फिलिपिन्स र थाइल्याण्डबाट पनि ठुलो परिमाणमा कच्चा पाम तेल भित्रिएको छ ।
जैतुनको तेलका विभिन्न प्रकारहरू बहराइन, साइप्रस, भारत, इटाली, कुवेत, ओमान, कतार, साउदी अरब, स्पेन, टर्की, ट्युनिसिया र संयुक्त अरब इमिरेट्सबाट आयात भएका छन् । यसमा स्पेनबाट अतिरिक्त भर्जिन जैतुनको तेल १७,०३९ किलोग्राम र जैतुनको तेल १७,६१८ लिटर गरी कुल ३४,६५७ एकाइ आयात भएको छ । टर्कीबाट पनि जैतुनको तेलको आयात उल्लेख्य रहेको छ ।
तोरीको तेल र यसका अंशहरू भारत र चीनबाट आयात भएका छन् । भारतबाट कुल ६८,६५२ लिटर तोरीको तेल भित्रिएको छ भने चीनबाट ७३ लिटर आयात भएको छ ।
यी प्रमुख तेलहरूका अतिरिक्त, कडलिवर तेल संयुक्त राज्य अमेरिकाबाट, जनावरको बोसो भारत र थाइल्याण्डबाट, माछाको बोसो र तेल अस्ट्रेलिया, हङकङ, साउदी अरब र संयुक्त राज्य अमेरिकाबाट, नरिवलको तेल भारत, मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स, इन्डोनेसिया र श्रीलंकाबाट, मकैको तेल मलेसिया र टर्कीबाट, अँडिरको तेल भारत, स्पेन र संयुक्त अधिराज्यबाट, तिलको तेल चीन, भारत, जापान, कोरिया, गणतन्त्र, कतार र सिंगापुरबाट, र अन्य विभिन्न वनस्पति बोसो तथा मार्गारीन चीन, भारत, इन्डोनेसिया, इजरायल, कुवेत, मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स, इटाली र श्रीलंकाबाट आयात भइरहेको छ ।







प्रतिक्रिया