कपिलवस्तु।
वाणगंगा नगरपालिका ७ भुइपुराका महिलाहरू जलवायुमैत्री गाउँ निर्माण अभियानमा सक्रिय रूपमा जुटेका छन्। गाउँका ३३ घरधुरीका महिलाले सामूहिक प्रतिबद्धतासहित भुइपुरालाई जलवायुमैत्री नमुना गाउँका रूपमा विकास गर्ने लक्ष्य राखेका हुन्। महिलाहरूको नेतृत्व, संस्थागत सहयोग र जलवायु अनुकूल कृषि अभ्यासले गाउँमा नयाँ उत्साह थपेको छ।
देउराली आपसी सहयोग समूहमा आबद्ध महिलाहरू अहिले जलवायुमैत्री गाउँ निर्माणका विभिन्न गतिविधिमा सक्रिय छन्। समूहकी सचिव रोशिका पराजुली भन्छिन्, ‘हामी गाउँका सबै दिदीबहिनी एकजुट भएका छौं। हाम्रो लक्ष्य भुइपुरालाई जलवायुमैत्री गाउँको नमुना बनाउनु हो।’
उनले भनिन्, “हामी गाउँलाई जलवायुमैत्री नमुना गाउँ बनाउने अभियानमा जुटेका छौं। धेरै पटक बैठक बसेका छौं। सहजकर्ताबाट नियमित सिकाइ भइरहेको छ। अब सिकेका कुरालाई व्यवहारमा उतार्दै प्रत्येक घरमा आवश्यक संरचना निर्माण र कृषि अभ्यास गरिरहेका छौं।”
समूहकी उपाध्यक्ष मनकला पाैडेलले पनि गाउँभर उत्साह बढेको बताइन्। उनका अनुसार महिलाहरूले जलवायु परिवर्तनका असरलाई मध्यनजर गर्दै वातावरणमैत्री र दिगो कृषि प्रणाली अपनाउन थालेका छन्। “सिंगो गाउँका महिलाहरू उत्साहित छन्। हामी जसरी पनि गाउँलाई जलवायुमैत्री तथा कृषि उत्पादनमा आत्मनिर्भर गाउँ बनाउने लक्ष्यमा अघि बढेका छौं,” उनले भनिन्।
३ वर्षदेखि निरन्तर सहयोग
स्ट्रोम फाउन्डेशनको सहयोगमा सिद्धार्थ सामाजिक विकास केन्द्रद्वारा सञ्चालित उत्थानशील समुदाय विकासका लागि जीविकोपार्जन तथा शिक्षा सबलीकरण (बिलिफ) परियोजना अन्तर्गत भुइपुरामा विगत तीन वर्षदेखि विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
सन् २०२४ मा देउराली आपसी सहयोग समूह गठन भएपछि महिलाहरू थप संगठित भएका हुन्। समूहले नियमित बैठक, बचत संकलन, आन्तरिक ऋण लगानी तथा आयआर्जनका गतिविधि सञ्चालन गर्दै आएको छ। गाउँमा समूहले सरसफाइ अभियान, सदस्यलाई आवश्यक सहयोग तथा अन्य सामाजिक कार्यमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।
समूहका सदस्यहरू पहिले अधिकांश तरकारी बजारबाट खरिद गरेर उपभोग गर्ने गर्थे। अहिले भने आफ्नै घरबगैंचामा तरकारी उत्पादन गरी आत्मनिर्भर बन्दै गएका छन्। परम्परागत खेतीबाट व्यावसायिक तथा उत्पादनमुखी कृषितर्फ उनीहरूको आकर्षण बढेको छ भने केही सदस्यले सामूहिक खेतीको अभ्याससमेत सुरु गरेका छन्।
संवाद कार्यक्रमले बढायो आत्मविश्वास
समूहमा छ महिनासम्म सञ्चालन गरिएको संवाद कार्यक्रमले महिलाहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणसँगै जीविकोपार्जन र सीप विकासमा महत्वपूर्ण योगदान पुर्यामएको छ।
समूहका प्रत्येक सदस्यले मासिक १०० रुपैयाँ बचत गर्दै आएका छन्। हाल समूहको बचत एक लाख रुपैयाँभन्दा बढी पुगेको छ। परियोजनाबाट विगतमा समूहको खातामा करिब १ लाख ६५ हजार रुपैयाँ उपलब्ध गराइएको छ। सो रकम समेत सदस्यमै लगानी भइ आयआर्जन गरिरहेका छन् ।
यसअघि ‘नमुना घरबगैंचा’ कार्यक्रमअन्तर्गत तीन जना सदस्यलाई आर्थिक सहयोग प्रदान गरिएको थियो। घरबगैंचा कार्यक्रमबाट उत्साहित भएका महिलाहरूले त्यसपछि जलवायुमैत्री गाउँ निर्माणको अभियान सुरु गरेका हुन्।
समूहकै सिफारिसमा करिष्मा पाण्डे स्थानीय सहजकर्ताका रूपमा छनोट भई समुदायमा काम गरेकी छन्। आवश्यक तालिम प्राप्त गरेपछि उनले समुदायलाई प्राविधिक परामर्श, सहजीकरण तथा नियमित अनुगमनमार्फत सहयोग गर्दै आएकी छन्।
परियोजनाले विभिन्न समयमा तालिम, अभिमुखीकरण, प्राविधिक परामर्श तथा आर्थिक सहयोग उपलब्ध गराउँदै समुदायलाई सशक्त बनाइरहेको छ।
जलवायुमैत्री गाउँ कसरी बन्छ ?
परियोजनाकी जिविकोपार्जन अधिकृत समीक्षा भट्टराईका अनुसार जलवायुमैत्री गाउँ (CSA) घोषणा गर्न निश्चित मापदण्ड र सूचक पूरा गर्नुपर्छ। यसका लागि समुदायमा पटक पटक अभिमुखीकरण, छलफल तथा तालिम सञ्चालन गरिएको छ।
उनका अनुसार जलवायुमैत्री गाउँका लागि आठ वटा मुख्य क्षेत्रमा आधारित सूचक पूरा गर्न आवश्यक हुन्छ। छनोट भएका गाउँका ३३ घरधुरीले ती सबै सूचक पूरा गरेपछि मात्र गाउँलाई जलवायुमैत्री गाउँ घोषणा गर्न सकिनेछ।
ती सूचकअन्तर्गत गोठ सुधार, पशुको पिसाब संकलन, भान्साबाट निस्कने जुठो पानी व्यवस्थापन, गँड्यौला मल उत्पादन, झोल मोलको प्रयोग, फूल तथा अन्य उपयोगी बिरुवा रोपण, एजोला घाँस उत्पादनका लागि पोखरी निर्माण तथा मचान निर्माणलगायतका कार्य समावेश छन्। प्रत्येक परिवारले यी संरचना निर्माण गरी व्यवहारमा लागू गरेपछि मात्र गाउँ जलवायुमैत्री बन्ने उनले बताइन्।

गाउँका ३३ घरधुरीलाई आर्थिक सहयोग
परियोजना कार्यक्रम प्रबन्धक आरटी खानका अनुसार जलवायुमैत्री गाउँ निर्माणका लागि छनोट भएका ३३ घरधुरीलाई प्रति परिवार २५ हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराइँदैछ। हालसम्म कुल अनुदानको ७० प्रतिशत रकम समूहको खातामा हस्तान्तरण गरिसकिएको उनले जानकारी दिए। उनका अनुसार हालसम्म ५ लाख ७७ हजार रुपैयाँ समूहको खातामा पठाइसकिएको छ। बाँकी रकम कार्यसम्पादन र सूचक पूरा भएपछि उपलब्ध गराइनेछ।
समूहकी अध्यक्ष गायत्री अधिकारीका अनुसार अहिले सबै सदस्य जलवायुमैत्री गाउँका सूचक पूरा गर्न आवश्यक संरचना निर्माण तथा कृषि अभ्यासमा सक्रिय छन्। “हामी सबै सदस्य मिलेर गाउँलाई जलवायुमैत्री बनाउने अभियानमा जुटेका छौं। सबै मापदण्ड पूरा गरी भुइपुरालाई नमुना गाउँका रूपमा स्थापित गर्ने हाम्रो लक्ष्य हो,” उनले भनिन्।
नगरका ३ वडामा विस्तार हुँदै अभियान
सिद्धार्थ सामाजिक विकास केन्द्रका अनुसार उत्थानशील समुदाय विकासका लागि जीविकोपार्जन तथा शिक्षा सबलीकरण (बिलिफ) परियोजना अन्तर्गत वाणगंगा नगरपालिकाका तीन वडामा जलवायुमैत्री गाउँ निर्माण अभियान सञ्चालन भइरहेको छ।
वाणगंगा नगरपालिकाको समन्वयमा वडा नम्बर ७, ८ र ९ का क्रमशः भुइपुरा, बन्डौली र बक्सिसपुर गाउँ जलवायुमैत्री गाउँका रूपमा छनोट भएका छन्। ती गाउँमा आवश्यक प्राविधिक परामर्श, तालिम, क्षमता विकास तथा आर्थिक सहयोग उपलब्ध गराउँदै जलवायु परिवर्तनसँग अनुकूल हुने दिगो कृषि प्रणाली विकासमा सहयोग पुर्याइँदै आएको संस्थाले जनाएको छ।
जलवायु परिवर्तनका चुनौती बढिरहेका बेला भुइपुराका महिलाले सामूहिक प्रयासबाट वातावरण संरक्षण, दिगो कृषि र आत्मनिर्भर जीविकोपार्जनलाई जोड्दै जलवायुमैत्री गाउँ निर्माणमा जुटेका छन् । उनीहरूको यो अभियान सफल भएमा भुइपुरा वाणगंगा नगरपालिकामात्र होइन, कपिलवस्तु जिल्लाकै नमुना जलवायुमैत्री गाउँका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।








प्रतिक्रिया