वाणगंगा । वर्षायाममा वाणगंगा नदीमा नदीजन्य पदार्थको ठेक्का तथा निकासी बन्द हुने गरे पनि यही मौका छोपेर रातको समयमा चोरी निकासी हुने गरेको पाइएको छ। वाणगंगा नगरपालिकाको नगर प्रहरीले गस्ती बढाएसँगै नदीजन्य पदार्थ चोरी निकासीमा संलग्न ट्याक्टर नियन्त्रणमा लिन थालेको हो।
नगर प्रहरीका अनुसार वाणगंगा नदीका मधुवन, सिसेनी र धनेसपुर नाकाबाट साउन र भदौ २५ गतेसम्म ७ वटा ट्याक्टर नियन्त्रणमा लिइएको छ। नगर प्रहरी हवल्दार बाबुराम मरासिनीका अनुसार गोप्य सूचनाका आधारमा रातको समयमा गस्ती गर्दा चोरी निकासीमा संलग्न ट्याक्टरहरू नियन्त्रणमा लिइएका हुन्।
गएराति पनि नगर प्रहरीले खोलामा गस्ती गर्ने क्रममा दुई स्थानबाट दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ। मधुवन नाकाबाट लु ३ त १६०८ नम्बरको ट्याक्टर र मधुवन कुलो घाटगद्दीबाट लु ३ त ८९४५ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको हो। दुवै ट्याक्टरलाई वाणगंगा नगरपालिका कार्यालयमा ल्याई नियमानुसार जरिवाना गरिएको नगर प्रहरीले जनाएको छ।कुनै ट्याक्टर पटके कार्वाहीमा परेका छन् ।
हवल्दार मरासिनीले रातको समयमा खोलामा गस्ती गर्न चुनौती हुने बताए। ‘रातको समयमा चुनौती मोलेर खोलामा जानुपर्छ। चोरी निकासीमा संलग्न समूहले हातपात गर्नसमेत खोज्छन्। हामी पनि धेरै जनाको संख्यामा गस्तीमा जाने गरेका छौँ,’ उनले भने।
उनले नदीजन्य पदार्थको चोरी निकासी नियन्त्रणमा नगर प्रहरी सक्रिय रहे पनि स्थानीय प्रहरी प्रशासनको सहयोग आवश्यक रहेको बताए। ‘हामीलाई काम गर्न गाह्रो छ। कतिपय अवस्थामा हातपात गर्न खोज्छन्। चोरी निकासी रोकथामका लागि स्थानीय प्रहरी प्रशासनको पनि सहयोग आवश्यक छ,’ उनले भने।
वाणगंगा नगरपालिकाको राजस्व शाखाले नगर प्रहरीको सक्रियताले नदीजन्य पदार्थको अवैध चोरी निकासी नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको जनाएको छ। शाखाका अनुसार नगर प्रहरीको सक्रियताले नगरको राजस्व वृद्धिमा समेत उल्लेखनीय योगदान पुगेको छ।
नगरपालिकाका अनुसार पछिल्लो दुई महिनामा खोलानालाबाट मात्रै करिब ४ लाख रुपैयाँ राजस्व संकलन भएको छ।









प्रतिक्रिया