८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

पर्सी र ८ गते २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै



काठमाण्डौँ ।

छ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाउने तयारी छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत छ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने तयारी गरेको छ।

सधैँ कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा दसैँ परेकाले कात्तिक ७ र ८ गते खुवाउन लागिएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख केदार पराजुलीले भिटामिन ‘ए’ छ महिनादेखि ११ महिनासम्मका बालबालिकालाई एक लाख युनिट र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई दुई लाख युनिट खुवाइने छ।सोही अवसरमा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइने छ।

२०० मिलिग्राम एकदेखि दुई वर्षका बालबालिकालाई र ४०० मिलिग्राम दुईदेखि पाँच वर्षसम्मका बालबालिकालाई अल्वेन्डाजोल (जुका)को औषधि खुुवाइने छ।पोषण शाखा प्रमुख पराजुलीका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि भिटामिन ‘ए’ क्याप्सुल ३० लाख क्याप्सुल र अल्वेन्डाजोल २५ लाख ट्याब्लेट वितरण गरिने छ।

जुकाको औषधि २४ लाख बालबालिकाले खानेछन्। छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले विसं २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ।

जुकाको औषधि २०५६ बाट खुवाउन थालिएको हो।‘राष्ट्रिय भिटामिन ‘ए’ कामर्यक्रम सञ्चालनका लागि २५ हजार स्वास्थ्यकर्मी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने उनले बताए।

मन्त्रालयले भिटामिन ‘ए’ खुवाउन लैजाँदा अभिभावकलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ। मन्त्रालयले वितरण केन्द्रमा भीडभाड नगर्न, एक व्यक्ति र अर्को व्यक्तिबीच कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्न, आफ्नो र बालबालिकाको सुरक्षाका लागि अनिवार्यरूपमा मास्कको सही तरिकाले प्रयोग गर्न र साबुनपानीले पटक–पटक हात धुन र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरिएको छ।

रासस

प्रकाशित मिति : ५ कार्तिक २०७८ शुक्रबार ००:००  ७ : ३२ बजे