२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

अन्ततः कांग्रेस पोखरा नगर समितिले ताला खोल्यो



पोखरा ।
नेपाली कांग्रेस पोखरा नगर समितिले कास्की कांग्रेस कार्यालयमा गरेको तालाबन्दी खोल्ने निर्णय गरेको छ।

पोखरा महानगरको मेयर नेकपा एकीकृत समाजवादीलाई दिने निर्णयविरुद्ध आक्रामक बनेको पोखरा नगर समिति तालाबन्दीको केही घण्टामै तालाबन्दीको निर्णयबाट फिर्ता भएको हो।

आज पोखरामा भएको वडा इकाइका सभापतिसहितको भेलाले कास्कीका सभापति किशोरदत्त बरालले ताला खोल्न र कांग्रेसका तर्फबाट सिफारिस भएका मेयर र उपमेयरको नामावली केन्द्रमा पठाउँछौँ भनेपछि ताला खोल्ने निर्णयमा पुगिएको पोखरा नगर समितिका सभापति सुरेन्द्रमान विजुक्छेले बताए।

यो निर्णयसँगै घुमाउरो तरिकाले कांग्रेस पोखरा नगर समितिले केन्द्रको निर्णय स्वीकारेको छ। स्रोतका अनुसार कास्की कांग्रेसको अबको ध्यान उपमेयरतर्फ केन्द्रित भएको छ।

‘केन्द्रले निर्णय गरिसक्यो, अब रिसले खाँबो चिथोरेकोजस्तो गरेर भएन’,एक कांग्रेस नेताले भने,‘ जे हुनु भयो, हाम्रो अधिनमा नभएको कुरामा बखेडा झिकेर के गर्नु भन्ने नै देखियो।’

प्रकाशित मिति : ७ बैशाख २०७९ बुधबार ००:००  ८ : ४० बजे