२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

सन् २०२३ अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष



काठमाण्डौ ।

संयुक्त राष्ट्र सङ्घले सन् २०२३ लाई कोदो वर्षको रूपमा मनाउँदैछ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पूरक प्रस्तावमा संयुक्त राष्ट्र सङ्घ साधारण सभाको ७५औँ सत्रले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षका रुपमा मनाउने निर्णय गरेको थियो ।

नेपालमा पनि दिवसका रुपमा विभिन्न कार्यक्रम गरिँदैछ । कोदोजन्य बालीको महत्त्वबारे प्रचारप्रसार गरी तिनको उत्पादन र उपभोग बढाउन उत्पादक कृषक, उपभोक्ता र अन्य सरोकारवालालाई प्रेरित गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाइँदैछ ।

कोदोजन्य बालीको विकास र संरक्षण एवम् प्रवर्द्धनमा संलग्न गैरसरकारी एवम् निजी क्षेत्रमा सक्रिय व्यक्ति एवम् निकायहरूको समेत उल्लेखनीय भूमिका हुनेछ । साथै चालु आर्थिक वर्ष २०७९र८० लाई राष्ट्रिय कृषि जैविक विविधता वर्षको रूपमा मनाउने नेपाल सरकारले यसअघि निर्णय गरेको छ । तीन तहका सरकारले कोदोजन्य बालीलाई केन्द्रमा राखेर रैथाने बाली प्रवर्द्धन कार्यक्रम विगत पाँच वर्षदेखि सञ्चालित छ ।

कोदो नेपालको चौथो मुख्य बाली हो । यसको खेती कम मलिलो तथा सुक्खा जग्गामा गर्न सकिन्छ र पहाडी भागमा कम खर्चमा कोदो खेती गर्न सकिन्छ । कोदोबाट ढिँडो, रोटी, सातु, लिटो, खोले, पुवालगायत परिकार बनाएर खान सकिन्छ । खाद्य सुरक्षाको दृष्टिकोणले कोदो ज्यादै महत्त्वपूर्ण बाली हो ।

खाद्य पोषण सुरक्षामा विश्वव्यापी रूपमा नै देखिएको सङ्कटोन्मुख अवस्थाका बीच संयुक्त राष्ट्र सङ्घको आह्वानमा मनाइने अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष, २०२३ लाई पोषण तथा स्वास्थ्यको दृष्टिले कोदोजन्य बालीहरूको महत्व उजागर गरेको विज्ञले बताएका छन् ।

प्रकाशित मिति : १७ पुस २०७९ आइतबार ००:००  १२ : २८ बजे