२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

तलब नलिने कपिलवस्तुका एक्ला वडा अध्यक्ष



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हुन् सञ्जु कुमार सारु (मगर)। उमेरले ४ दशक पार गरेका सारु वैदेशिक रोजगारीको सिलशिलामा कोरिया गएर आएको केहि बर्षपछि नेपाली कांग्रेसबाट वडा अध्यक्ष भएका हुन् । वडा अध्यक्ष हुनु अघि उनी ठेक्कापट्टाको काम गर्थे ।

जहिले पनि मुसुक्क हाँस्ने र सानो स्वरमा बोल्ने उनको स्वभाव छ । उनी न धेरै बोल्छन् न त कुनै कार्यक्रममा गएर भाषण नै ठोक्छन् । धेरै कार्यक्रममा उनलाई प्रमुख अतिथिको रुपमा बोलाइन्छ । उनी जान्छन् पनि । तर उनले प्रस्ताव राख्छन्, ‘म भाषण गर्न जान्दिनँ, मलाई भाषणको क्रममा नराख्नुहोस् । म काम गर्ने जनप्रतिनिधि हुँ । धेरै भाषण गर्दिनँ । गर्नु छैन ।’
वडा अध्यक्ष सारुको यस्तै खाले स्वभाव छ । धेरै नबोल्ने भएकै कारण ७८, वैशाख ३० गते भएको चुनावमा सारुले चुनाव जित्न सक्दैनन् भन्ने धेरैले लख काट्थे ।

पेशाले ठेकेदार रहेका उनको भाषण कला नभएकै कारण प्रतिपक्षीले त्यही कुरालाई चुनावी मसला बनाएर भन्नु भनेका थिए । तर सञ्जुलाई चुनावमा हराउन प्रतिपक्षीले छरेको आरोपले काम गरेन । समाजमा सेवाबाट राम्रो छाप पारेका उनले सहजै चुनाव जिते । नतिजापछि पनि विरोधीहरुले सञ्जुले काम गर्न नसक्ने बताउँथे । तर चुनावपछि उनमा आएको परिवर्तन र जनता प्रति उत्तरदायी भएर गरेको कामको कारण अहिले सबै आश्चर्यमा छन् ।

उनले सार्वजनिक पद धारण गर्दाको महत्व बुझे । अनि आनीबानी र स्वभावमा निकै परिवर्तन ल्याए । ठेकेदार नाम पाएका उनले चुनाव जितेपछि भने एउटा इमान्दार काम गर्ने वडा अध्यक्षको रुपमा परिचय बनाएका छन् । सुरुमा नपत्याएकाहरुले नै अहिले सारुको प्रसंसा गर्न थालेका बताइन्छ ।

तलब नलिने वडा अध्यक्ष

सारु मात्र कपिलवस्तु कै यस्ता वडा अध्यक्ष हुन् जसले तलव नै लिँदैनन् । सरकारबाट आउने तलब उनले शिक्षा र समाजसेवामा खर्च गर्ने गरेका छन् । उनी तलव नलिने वडा अध्यक्षको रुपमा लुम्बिनी प्रदेशमा चिनिन्छन् ।

उनले अहिलेसम्म ६ लाख रुपैयाँभन्दामाथि ब्यक्तिगत खर्च गरिसकेका छन् । वडा अध्यक्ष सारुले वडाका विद्यालय, धार्मिक तथा सांस्कृतिक सम्पदा, गुरुकुलमको संरक्षण र विकास, विपन्न परिवारको बालबालिकाको लत्ताकपडा तथा विद्यालय पोशाक, इत्यादिको लागि करिब साढे ४ लाख खर्चेको बताए ।

यस्तै सिद्धार्थ स्कूलमा उनले ब्यक्तिगत खर्चमै करिब १ लाख ५० हजार रुपैयाँको सिसिटिभी क्यामेरा जडान गरिदिएका छन् भने स्वास्थ्य चौकीमा पनि आवश्यक औषधिहरु ब्यक्तिगत खर्चमै उपलब्ध गराएका छन् । वडा अध्यक्ष सारुले वडाका विपन्न ब्यक्तिको घरमा कसैको निधन भएको खण्डमा पनि ब्यक्तिगत रुपमै जिन्सी सहयोग गर्ने गरेका छन् । लागू पदार्थ दुवर्यसनीकर्ताको पुर्नस्थापना केन्द्रलाई पनि सारुले मनैदेखि सहयोग गरेका छन् ।

उनले भने ‘म जनताको सेवक हुँ । सेवा गर्न आएको हुँ । तलब खान आएको होइन । मेरो कार्यकालभरि आउने रकम शैक्षिक, मानवीय र सामाजिक काममा खर्च गर्ने छु ।’ आगामी ४ बर्ष पनि तलब नै नलिई जनताको सेवा गर्ने उनको उद्घोष छ ।

आफूलाई अझै विद्यार्थी ठान्छन्

वडा अध्यक्ष पद कस्तो पद हो उनलाई सुरुमा थाहा थिएन । पदबारे अझै पनि आफू विद्यार्थी नै रहेको शारुले बताए ।

उनी भन्छन्, ‘ म त एउटा सामान्य किसानको छोरो, धेरै पढेको पनि छैन । पार्टीले टिकट दियो । चुनावमा उठेँ । जितेँ । धेरै कुराहरु सिकिरहेको छु । पहिलो वर्ष भएकाले धेरै कुरा सिक्ने मौका पनि भइरहेको छ । विभिन्न सुझाव सल्लाह लिएर अघि बढिरहेको छु ।’

वडा अध्यक्ष भएर सार्वजनिक पद धारण गरेपछि सामान्य जीवनभन्दा धेरै फरक रहेको आफूले अनुभूति गरेको उनले सुनाए ।
चुनावी घोषणा पत्रमा समावेश भएका कुरा, जनताका अपेक्षा र दुखलाई आफूले प्र्रत्येक पल सम्झने गरेको उनी बताउँछन् । उनी थप्छन्, ती राम्रो गर्छु थाहा छैन तर कार्यकालभरी नराम्रो गर्दिनँ ।’

५ बर्षे कार्यकालको पहिलो बर्ष सकिन लागेको भन्दै उनले यो वर्ष पनि धेरै काम भएको दावी प्रस्तुत गरे । वडाको बजेटबाट अहिले सडक तथा बिभिन्न निर्माण, सेवा प्रवाह र लक्षित वर्गका घोषित कार्यक्रम पनि राम्रैसंग गरिएको उनले बताए । उनका अनुसार अहिले वडाले हिजोकोभन्दा धेरै गति लिएको छ । ठ्रूला काम भन्दा पनि समस्यामा परेका मानिसका कुराहरु सुन्ने उनको सबैभन्दा राम्रो विशेषता हो ।

के भन्छन् वडाबासी ?

वडा अध्यक्ष सारुको कामबाट सेवाग्राही पनि खुसी रहेका छन् । उत्तम नगरका सेवाग्राही बुद्धि सागर बेलबासेले आफूहरु वडाको कामबाट सन्तुष्ट रहेको बताए ।

स्थानीय समाजसेवी तथा राजनीतिज्ञका रुपमा रहेका उनले वडा अध्यक्ष सारुलाई आफूले इमान्दार र सोझा जनप्रतिनिधिको रुपमा लिने गरेको बताए ।

बेलबासे थप्छन्, ‘उहाँको कार्यसम्पादन शैली कस्तो छ ? थाहा भएन तर जनताले खोजेजस्तो जनप्रतिनिधि हुनुहुन्छ । सोझा, सज्जन, काम गराउन सजिलो, जनतासंग सजिलै भिज्ने उहाँलाई सबैले राम्रो मान्छन् । अन्य वडा अध्यक्षजस्तो कमाऔँ भन्ने भावना पनि उहाँमा छैन ।’

‘वडामा हुने स–साना समस्या, बाटाका खाल्डाखुल्डी पुर्ने, भत्केका बाटा बनाउने, पिच गर्ने, सामाजिक भवन बनाउने लगायतका काममा उहाँ सक्रिय देखिनु भएको छ । एक बर्षमा उहाँलाई प्रश्न उठाउने ठाउँ छैन’, बेलबासे भन्छन् ।

कसैलाई दुख परे पनि सहयोग गर्ने शारुको बानी छ । बाटोघाटो या वडामा कोही कसैलाई दुख परेको रहेछ भने सारुले गोजीमा जे जति छ झिकेर सहयोग गर्ने गरेको वडाबासी बताउँछन् ।

वडाबासीको माया र सद्भावले जिम्मेवारी थप बढेको भन्दै वडा अध्यक्ष सारुले आफ्नो कार्यकाल भरी इमान्दार भएर जनताको सेवा गर्ने बताए ।

प्रकाशित मिति : १२ जेष्ठ २०८० शुक्रबार ००:००  १० : ०४ बजे