१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

दाउन्नेमा सडक हिलाम्मे हुँदा नारायणगढ–बुटवल सडकको यात्रा कष्टकर



काठमाण्डौ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक विस्तारको काम समयमा पूरा नहुँदा नवलपुरको दाउन्ने क्षेत्रमा यात्रुले सास्ती खेप्नुपरेको छ । तीन वर्षमा सक्नेगरी २०७५ सालमा ठेक्का सम्झौता भएको सडक सात वर्षदेखि निर्माणाधिन रहँदा यात्रुले सास्ती खेपिरहनु परेको हो ।

दाउन्नेमा घण्टौं जाम र कष्टपूर्ण यात्रा त्यो सडक हुँदै यात्रा गर्ने सबैले भोग्नुपरेको छ । अहिले दाउन्ने पार गर्न घण्टौ लाग्ने गरेको छ । पुल भाँचिएपछि बनाइएका अस्थायी डाइभर्सन र सामान्य पानी पर्दा पनि चिप्लिने दाउन्नेको सडकले निर्धारित समयमा गन्तब्यमा पुग्न असम्भव जस्तै भएको छ । बर्दघाटबाट दुम्कीवास आउजाउ गर्न १२ घण्टासम्म जाममा बस्नु परेको यात्रुहरु बताउँछन् ।

दाउन्नेको सडक विस्तारका लागि भन्दै एक महिनासम्म राति पाँच घण्टा र पाँच दिनसम्म दिउँसो पाँच घण्टा गाडीको आवागमन रोकेर काम गरिएपनि काममा खासै प्रगती भएको छैन । त्यसैले यो वर्षायाममा यात्रुले झनै समस्या भोग्नुपर्ने संभावना छ ।

सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी, इन्जिनियर शिव खनाल वर्षाअघि सकेसम्म दाउन्नेसहित सबै बाटोको एकतर्फी कालोपत्रे गरिसक्ने नभ्याएमा दाउन्ने बाहेकको काम सक्ने लय भए पनि अब त्यो लक्ष्य टाढा बन्दै गएको बताउनुहुन्छ । वर्षा लागिसक्दा पनि चोरमारा, आरुङखोला, दुम्किवासको मुख्य सडक एकतर्फी पनि कालोपत्रे हुन सकेको छैन ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२ बिहिबार ००:००  ३ : ३७ बजे