७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

बाँकेमा पूर्व सूचना दिन १० ठाउँमा साइरन



नेपालगन्ज।
बाढी र डुबानको उच्च जोखिम रहने बाँके जिल्लाका दुई गाउँपालिकाका अति जोखिमपूर्ण १० ठाउँमा विपद् पूर्व सूचना प्रणाली अन्तर्गत बाढीको पूर्व सूचना दिने साइरन जडान गरिएको छ।

मनसुनमा आउने सम्भावित बाढीबारे समयमै चेतावनी दिन राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका तटीय क्षेत्रका १० स्थानमा सो साइरन जडान गरिएको हो।

नरैनापुर गाउँपालिकाको–५ अन्तर्गत मटेहिया र गङ्गापुर तथा वडा नम्बर ६ अन्तर्गत भगवानपुर र सोनवर्षामा साइरन जडान गरिएको छ भने राप्ती सोनारी गाउँपालिका– २ को दर्शनापुर, टिकुली र वडा नम्बर ३ तथा ७ का अन्य ६ स्थानमा साइरन राखिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको सहकार्यमा साइरन जडान गरिएको गाउँपालिकाले जनाएका छन्।

नदीले तोकिएको सतह नाघेपछि साइरनले स्वतः बाढीको जोखिमबारे सूचना दिने जनाउँदै यसले सर्वसाधारणलाई जोगिन ठुलो सहयोग गर्ने राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले बताउनुभयो।

नरैनापुर गाउँपालिकाको विपद् व्यवस्थापन शाखा प्रमुख भरत महतोका अनुसार गत वर्ष नदीले सतह नाघेन, जसका कारण साइरन बजाउनु परेको थिएन।

राप्ती सोनारी गाउँपालिकामा भने साइरनमार्फत सूचना प्रसारण भइरहेका छन्। गाउँपालिकाका सूचना अधिकारी जीवन न्यौपानेले केही दिनअघि लगातार तीन दिन परेको वर्षाले नदीको सतह उच्च भएपछि साइरनबाट जानकारी दिइएको बताउनुभयो।

प्रकाशित मिति : २४ असार २०८२ मंगलबार ००:००  ९ : १७ बजे