काठमाण्डौ ।
अस्ति मङ्गलवार राति आएको बाढीले बाग्लुङको जैमिनी नगरपालिका ९ पैयुँथन्थापमा करिब एक अर्ब चार करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
पैयुँथन्थाप ९ हुँदै बग्ने कालुङखोलामा आएको बाढीले कालुङखोला जलविद्युत् आयोजनामा पूर्ण रूपमा क्षति पुर्याएको जैमिनी नगरपालिकाले जनाएका छ ।
जलविद्युत् आयोजना बगाउँदा झन्डै दुई करोड रुपैयाँ बराबरको क्षति भएको नगरपालिका उपमेयर हरिहर शर्माले बताउनुभयो । आयोजनामा क्षति पुग्दा त्यस ठाउँका १२२ घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन् ।
बाढीले मात्रै ३५ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको पुल बगाएको छ । केन्द्रीय विद्युत् प्रसारण लाइनको ‘ट्रान्सफर्मर’मा समेत क्षति पुर्याएको छ ।
खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । वार्षिक आठ सयदेखि एक हजार मुरी धान उत्पादन हुने खेत बगरमा परिणत भएको उपमेयर शर्माले बताउनुभयो ।
बाढीका कारण छ घर पहिरोको उच्च जोखिममा परेका छन् । स्थानीय कुलबहादुर थापा, टेकबहादुर थापा, खड्गबहादुर थापा, केयरसिंह थापा, पहलसिंह थापा र खेमबहादुर थापाको घर पहिरोको उच्च जोखिममा परेको छ । बाढीले ठेउलेका पाँच घर जोखिममा परेका छन्, दुई गोठमा पूर्ण क्षति भएको छ ।







प्रतिक्रिया