कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभुमी नगरपालिकालाई एकै पटक बालश्रम तथा सडक मानवमुक्त नगर घोषणा गरिएको छ ।
नगरपालिका वडा नम्बर ४ बुढ्ढी स्थित हनुमान चोकमा रहेको सभा हलमा १७ औ नगर सभाको दोश्रो बैठकमा मेयर केशव कुमार श्रेष्ठले सो घोषणा गरेका हुन ।
बालश्रममुक्त र सडक मानवमुक्तका सबै प्रकृया र मापदण्ड पुरा गरेका पछि सभाले समेत पारित गरी सो घोषणा गरिएको हो । ‘नगरलाई बालश्रम तथा सडक मानवमुक्तको घोषणा गरेका छौ, यसलाई कडाइकासाथ कार्यान्वयन गर्नेछौ ’ मेयर श्रेष्ठले भने । यो कार्यमा नगरबासी र सरोकारवाला सबैले साथ दिन समेत उनले आग्रह गरे ।
सो अवसरमा नगरपालिकाको आर्थिक ऐन २०८२, नगर दररेट ऐन २०८२, छाडा चौपाया व्यवस्थापन र नियन्त्रण गौशाला सञ्चालन विधेयक २०८२, स्वास्थ्य सेवा ऐन २०८१ संशोधन खानेपानी तथा सरसफाइ २०७९ संशोधन समेत सभाले पारित गरेको छ । यस अघि नै गत असार १० गते सम्पन्न अधिवेशनमा ल्याइएको योजना र कार्यक्रम बारे समेत मेयर श्रेष्ठले जानकारी गराएका थिए । आगामी आर्थिक बर्ष २०८२र०८३ का लागि नगरपालिकाको अनुमानित बजेट १ अर्ब २२ करोड २२ लाख ६१ हजार प्रस्तुत गरिएको थियो ।
मेयर श्रेष्ठले नगरका गौरवका योजनाहरूलाई पुरा गर्न आफुहरु लागी परेको बताए । बुढ्ढी तालको बृहत विकासकालागि निरन्तर लागी परेको तथा यस बर्ष विनियोजित बजेटको काममा ढिलाई गरिदा भुक्तानीमा समस्या आएको बताए । डपिंग साइट र सरसफाईका लागि जग्गाको व्यवस्थापन गरिने तथा छाडा चौपायाको दीर्घकालीन समस्या समाधान गरिने उनले बताए ।







प्रतिक्रिया