सरिता थारु, कपिलबस्तु ।
कपिलबस्तुको लक्ष्मणघाट बोलबम धाममा एक महिने जर्लापर्ण तथा श्रावणी बोलबम मेला बिहिबार देखि शुभारम्भ भएकोे छ । गुरुपूर्णिमाको दिनदेखि सुरु हुने बोलबल श्रावणी मेला बिहिबारबिहान ८ः०० बजे धामका अध्यक्ष रन बहादुर काउचा र ६ का वडा अध्यक्ष करुण टन्डनको संयुक्त विशेष पूजा–अर्चना तथा मंगलमय समारोहका साथ शुभारम्भ गरिएको हो ।
बोलबम मेला विशेष भजन–कीर्तन, पञ्चेबाजा गाजाको साथ एक विशेष धार्मिक वातावरणमा शुभारम्भ गरिएको हो । सुभारम्भ कार्यक्रममा धामका पदाधिकारी, स्थानिय अगुवाहरु तथा सयौंको संख्यामा सर्वसाधारण भक्तजनहरूको उत्साहजनक उपस्थिति रहेको थियो । धार्मिक आस्थालाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिने यो मेला एक महिना सम्म चल्नेछ । मेलाको दौरान प्रत्येक आइतबार साँझ ७ः०० बजे विशेष सन्ध्याकालीन गङ्गाआरती समेत आयोजना गरिने छ । धाम व्यवस्थापन समितिका अनुसार मेलामा सुरक्षा, सरसफाइ, तथा श्रद्धालुहरूको सुविधाका लागि सम्पूर्ण व्यवस्था मिलाइएको छ ।
कपिलवस्तु जिल्लाकै मुख्य धरोहरको रुपमा मानिने बोलबम धामलाई पर्यटकीय स्थलको रूपमा विकास गरी अन्तरिक तथा बाह्रय पर्यटकहरुको गन्तव्य स्थल बनाउन यस धामलाई पछिल्लो समय व्यवस्थित गर्दै लैजान थालेको धामका अध्यक्ष रणबहादुर काउचाले बताउनुभयो ।
बोलबम मेलामा आउने भक्तजनलाई मध्यनजर गर्दै भक्तजनको आवात जावातलाई ब्यवस्थापनदेखि सुरक्षालाई मध्यनजर गर्दै आवश्यक कार्यको तयारी समेत गरी रहेको धामका सचिव प्रकाश भुषालले जानकारी दिनुभयो ।
श्रावणि मेलाको सुभारम्भ संगै पहिलो दिन आज विहिबार सांझ रुपन्देहीको पर्रोहा परमेश्वर शिव ज्योर्तिलिंग बोलबम धामबाट आई लक्ष्मणघाट धाममा बासबस्ने र भोली शुक्रबार सबेरै जल लगि पर्रोहा बोलबम धाममा जलार्पण गरिने बताइएको छ । यसबिचमा आज रातभर जाग्राम बस्ने र विभिन्न धार्मिक भजनकृतन समेत गरिने छ ।
पश्चिम नेपालको प्रमुख ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्वको प्रसिद्ध तिर्थस्थलका रुपमा परिचित लक्ष्मणघाट बोलबम धाममा गुरुपुर्णिमा देखि ऋषितर्पणी जनैपुर्णिमा सम्म एक महिनाभर जलार्पण गर्ने गरिन्छ । पहेँलो गेरुवावस्त्र धारण गरि बोलबम यात्रा गर्दै यहाँस्थित शिव ज्योतिर्लिङ्गमा पवित्र गंगाजल अर्पण गरेमा पुण्य प्राप्ति हुने, बाढी, पहिरो नदी कटान, भुक्षय जस्ता प्राकृतिक प्रकोप र बर्षायाममा लाग्ने बिभिन्न रोग ब्याधीबाट मुक्ति मिल्ने विश्वास रहेको छ ।
यसैविच बोलबम मेला अवधिर धाम परिसर भित्र जाँड रक्सी बेचविखन तथा सेवनमा रोक लगाएइएको छ । यदि कसैले उक्त कार्य गरे वा गराएमा आवश्यक कारवाही समेत गरिने धामका अध्यक्ष काउचाको भनाई छ । साथै बोलबम मेलालाई सफल पार्न सरोकारवाला सबैलाई आग्रह समेत गर्नुभएको छ । गुरुपुर्णिमाको दिन देखी क्रषि तर्पण जनैपुर्णिमा सम्म संचालन हुने बोलबम मेलाको आज विहिबार देखि शुभारम्भ भएको हो ।







प्रतिक्रिया