झापा ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू रास्वपा र माओवादी नभएकाले भ्रष्टाचार‚ अनैतिक र गैरकानूनी काम नगर्ने दावी गरेका छन्।
उनले आफ्नो स्पेन भ्रमण सफल भएको सहन नसकेर प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले वाइसिएल लगाएर भ्रम फैलाउने काम गरेको आरोप लगाएका छन्।
झापाको बिर्तामोडमा आइतवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले यस्तो दावी गरेका हुन्। उनले आफू नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर संयुक्त राष्ट्रसंघको कार्यक्रममा भाग लिन स्पेन गएको बताए। स्पेन भ्रमण सफल भएसँगै त्यसबाट छटपटाएर माओवादी केन्द्रले वाइसिएल लगाएर केपी ओलीले स्पेनमा गएर मान्छे छोड्यो भन्ने दुष्प्रचार गरेको बताए।
अहिलेको देशको प्रधानमन्त्री (केपी शर्मा ओली)ले एक पैसा भ्रष्टाचार नगर्ने, कुनै प्रकारको अनैतिकता नगर्ने र गैरकानूनी काम नगर्ने बताए। भ्रष्टाचार र गैरकानूनी काम गर्नलाई आफू राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादी नभएको प्रधानमन्त्री ओलीको भनाइ छ।
प्रधानमन्त्री ओलीले भने, ‘नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर संयुक्त राष्ट्रसंघको कार्यक्रममा स्पेन गएँ। त्यो सफलताबाट राम्रो सन्देश सम्प्रेषण भयो। त्यसबाट छट्पटाएर प्रमुख प्रतिपक्ष पार्टीले वाइसिएल लगाएर केपी ओलीले स्पेनमा गएर मान्छे छोड्यो भन्ने दुष्प्रचार गरी राम्रा काम ओझेल पर्छन्। यो देशको प्रधानमन्त्री केपी ओली एक पैसा भ्रष्टाचार गर्दैन, कुनै अनैतिकता र गैरकानूनी काम गर्दैन, म रास्वपा होइन। म माओवादी होइन। त्यसकारण कुनै प्रकारको नचाहिने काम गर्दिनँ।’
प्रधानमन्त्री ओलीले योजनाबद्ध रूपमा झूटो कुरा सञ्चारमाध्यममा छपाउने काम राजनीतिक दलहरूले गरेको बताए। बकवास गरेर राजनीति गर्ने घटिया प्रवृत्तिविरुद्ध पनि एमाले लड्नुपरेको बताए।







प्रतिक्रिया