१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

कुष्ठरोग निको हुने रोग हो, तर समाजको डरले बिरामी लुक्छन्: प्रमुख ढकाल



दिपा महत, तौलिहवा ।

कपिलवस्तुमा कुष्ठरोगीको संख्या बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरव ढकालले बताउनु भएको छ । समयमै नियमित रुपमा औषधी सेवनले रोग निको हुने भएपनि समाजको डर र लान्छनाकै कारण विरामी लुक्ने गरेको बताउनु भयो ।

ढकालले अन्य जिल्लाको तुलनामा कपिलवस्तुमा कुष्ठरोगीको संख्या बढी रहेको बताउनुभयो । स्वास्थ्य कार्यालको तथ्यांक अनुसार गत आर्थिक वर्षमा मात्र जिल्लामा १ सय २८ जना नया कुष्ठरोगी फेला परेका छन् ।

ढकालले भन्नुभयो, जिल्लामा धेरै छाला शिविर सञ्चालन गर्नुका साथै घरघर र समुदायमै गएर खोजीकार्य गर्ने गरिएकोले लुकेर बसेका धेरै केसहरू बाहिर आएका हुन्, “कहिलेकाहीँ एउटै घरका तीन जनासम्ममा कुष्ठरोग देखिने गरेको छ।”

ढकालका अनुसार, कुष्ठरोग नियन्त्रणमा मुख्य चुनौती समाजले लगाउने लान्छना र भेदभाव हो। समाजमा कुष्ठरोगबारेको दृष्टिकोण गलत रहेको बताउँदै उहाले भन्नुभयो, “यो पनि अन्य रोगझैं सामान्य रोग हो, औषधि खाएमा निको हुन्छ, तर अझै पनि मानिसहरूबीच देवीदेवताले श्राप दिएको रोग हो भन्ने भ्रम रहिआएको छ।”

प्रमुख ढकालका अनुसार अनुसार, धेरै मानिसहरूमा आफूलाई कहिल्यै यो रोग लाग्दैन भन्ने गलत बुझाइ रहेको छ। “कुष्ठरोग धनी–गरिब, साना–ठूला, महिला–पुरुष सबैलाई लाग्न सक्ने रोग हो,” ढकालले स्पष्ट पार्नुभयो।

लान्छना र भेदभावकै कारण धेरै बिरामी पत्ता नलाग्ने अवस्था रहेको उहाले बताउनुभयो सरकारले निशुल्क औषधि वितरण गरिरहेको भए पनि बिरामीहरू समाजको डरले घरमा औषधि नखाने र बाहिरी जिल्ला र पालिकातिर गएर औषधि खाने गरेको उल्लेख गर्नुभयो।

ढकालका अनुसार, खुला सिमानाको कारण पनि यो रोग नियन्त्रण चुनौतीपूर्ण बनेको छ। “उताबाट बिरामी यता आउँछन्, यताका बिरामी उतातिर जान्छन्,” उहाले भन्नुभयो।

कुष्ठरोगले तत्कालै मान्छे मर्ने होइन तर अंगभंग गराउने र जीवनलाई असहज बनाउने भएकाले यसबारे समयमै चेतना जगाई रोगी पत्ता लगाएर उपचार गर्नुपर्नेमा ढकालको जोड छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२ मंगलबार ००:००  ८ : २३ बजे