७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

देशकै सर्वोत्कृष्ट बन्यो जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, कार्यसम्पादन मूल्याङ्कनमा पहिलो



डिलाराम भुसाल, कपिलवस्तु।

नेपाल प्रहरीको आन्तरिक कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले देशभरका ‘ख’ श्रेणीका २२ जिल्ला प्रहरी कार्यालयलाई पछि पार्दै प्रथम स्थान हासिल गरेको छ। आर्थिक वर्षको असार महिनाको मूल्याङ्कनमा ९१ अङ्क प्राप्त गर्दै कपिलवस्तु देशकै सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालय बन्न सफल भएको हो।

सीमावर्ती तथा संवेदनशील जिल्लाका रूपमा चिनिने कपिलवस्तुमा अपराध नियन्त्रण, शान्ति सुरक्षा सुदृढीकरण तथा नागरिकमुखी सेवा प्रवाहमा देखाएको प्रभावकारी कार्यसम्पादनका आधारमा यो उपलब्धि हासिल भएको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोहर प्रसाद भट्टले यो सफलता सम्पूर्ण प्रहरी टोलीको सामूहिक मेहनत, स्पष्ट कार्ययोजना र व्यावसायिक अनुशासनको प्रतिफल भएको बताए। उनका अनुसार प्रभावकारी नेतृत्व, प्रविधिमैत्री सेवा, अनुशासित कार्यशैली र नागरिकप्रति उत्तरदायी व्यवहारले उत्कृष्ट नतिजा सम्भव भएको हो।

“हाम्रो टोलीको प्रभावकारी नेतृत्व, स्पष्ट कार्ययोजना, व्यावसायिक अनुशासन र प्रविधिमैत्री सेवा नै यो सफलताको मूल आधार हो। प्रभावकारी अपराध नियन्त्रणसँगै नागरिकमुखी प्रहरी सेवा दिन हामी निरन्तर खटिएका छौँ। यो उपलब्धि सम्पूर्ण कपिलवस्तुवासी र अहोरात्र खटिने प्रहरी टोलीको सामूहिक मेहनतको प्रतिफल हो,” एसपी भट्टले भने।

प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्र कुमार सिंहले सीमा सुरक्षा र अपराध नियन्त्रणमा अपनाइएको रणनीतिक सक्रियताले उत्कृष्ट नतिजा ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताए।

उनका अनुसार सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि, लागूऔषधको अवैध कारोबार, राजस्व चुहावट तथा भन्सार छली नियन्त्रणमा प्रहरीले शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको छ। साथै लामो समयदेखि फरार रहेका अपराधीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने कार्यलाई पनि तीव्रता दिइएको उनले बताए।

डीएसपी सिंहले समुदाय तथा विद्यालयस्तरमा लागूऔषध दुरुपयोग, साइबर अपराध र ट्राफिक सुरक्षासम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन गरिएकाले प्रहरी र नागरिकबीचको विश्वास तथा सहकार्य अझ सुदृढ भएको उल्लेख गरे।

प्रहरीका अनुसार कार्यसम्पादन मूल्याङ्कनमा प्राप्त यो उपलब्धि केवल अंक र वरीयतामा सीमित नभई जिल्लाको प्रभावकारी सुरक्षा व्यवस्थापन, निष्पक्ष अपराध अनुसन्धान तथा उत्तरदायी सेवा प्रवाहको प्रमाणका रूपमा लिइएको छ। यस सफलताले आगामी दिनमा अझ प्रभावकारी ढंगले शान्ति सुरक्षा कायम गर्न र नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न थप प्रेरणा मिलेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

प्रकाशित मिति : ७ श्रावण २०८३ बिहिबार ००:००  ८ : ३५ बजे