१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

रोटरी क्लब बुटवल साउथद्धारा जहदीमा हेण्डपाइप वितरण



मायादेवी अनलाइन, कपिलवस्तु ।
रोटरी क्लब अफ बुटबल साउथले कपिलवस्तुका विपन्न परिवारलाई हेण्ड पाइप वितरण गरेको छ । कपिलवस्तु नगरपालिका वडा नं. ११ जहदीमा भएको कार्यक्रममा रोटरीले दुई वडाका ५५ जनालाई हेण्डपाइप वितरण गरेको हो ।
वितरण गरिएका व्यक्ति कपिलवस्तु नगरपालिका वडा नं. ९ र ११ का बडाबासी हुन । तराई क्षेत्रमा हेण्डपाइपको अनिवार्य प्रयोग गर्ने गरिए पनि यी विपन्न समुदायले आर्थिक अभावको कारण हेण्डपाइप जडान गर्न सकेका थिएनन ।
हेण्डपाइप हाल्न नसेकेका आर्थिक रुपमा विपन्न परिवारका लागि रोटरीले सक्दो सहयोग गरेको क्लबका प्रेसिडेन्ट प्रकाश पौडेलले बताउनुभयो । हेण्डपाइप वितरण कुनै सरकारी तथा गैरसरकारी संस्थाबाट ल्याएर वितरण गरेको नभई आफैले चन्दा उठाएर वितरण गरेको प्रेसिडेन्ट पौडेलले बताउनुभयो । सेवाको भावनाले आफुहरुले कपिलवस्तुमा आई हेण्डपाइप वितरण गरेको भन्दै हेण्डपाइपको सही सदुपयोग गर्न उहाले आग्रह गर्नुभयो ।
बर्षौ देखि हेण्डपाइप राख्ने आर्थिक क्षमता नहुदा यस क्षेत्रका विपन्न नागरिकले कुवाँ, पोखरी र खोलाको दुषित खान बाध्य भएका थिए । वडा कार्यालय र प्रदेश सांसद विष्णु पन्थीको पहलमा रोटरी क्लब अफ बुटबल साउथले यहाँ आएर हेण्डपाइप वितरण गरेको हो ।
हेण्डपाइप वितरण कार्यक्रममा बोल्दै रोटरी क्लब नेपाल भुटानका प्रेसिडेन्ट चिन्तामणी भट्ट्राईले रोटरी क्लब बुटबल साउथले हेण्डपाइप वितरण गरेर सामाजिक रुपमा राम्रो काम गरेको बताउनुभयो । नगरपालिकाबासी भएर पनि हेण्डपाइप जडान गर्न नसक्ने विपन्न परिवारलाई रोटरीले आफु सक्दो सहयोग गरेको उहाले बताउनुभयो ।
वितरण गरिएका हेण्डपाइपको सहि सदुपयोग हुनुपर्ने भन्दै यसमा वडातहलाई निगरानी राख्न आग्रह गर्नुभयो । विकास आफु अग्रसर नहुँदा सम्म नहुने भन्दै गाउँठाउँको विकासमा लाग्न उहाले सबैमा आग्रह गर्नुभयो । जहदी लगायतका आसपासका स्थानमा आफुले भ्रमण गरेको भन्दै यस स्थानमा शिक्षा, स्वास्थ्य र खानेपानीको अभाव रहेको बताउनुभयो । आगामी दिनमा रोटरीले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रदेश सांसद विष्णु पन्थीले विपन्न समुदायका लागि हेण्डपाइप वितरण गरेर रोटरीले राम्रो काम गरेको बताउनुभयो । हेण्डपाइप नहुदा नागरिकहरुले दुषित पानीको प्रयोग गर्न बाध्य भएको भन्दै अब त्यो स्थिती नआउने बताउनुभयो । रोटरी क्लब अफ बुटबल साउथले आफ्नो आग्रहमा यस स्थानमा हेण्डपाइप वितरण गरेको भन्दै आगामी दिनमा पनि सहयोग गर्दै जान आग्रह गर्नुभयो ।

प्रकाशित मिति : १० कार्तिक २०७५ शनिबार ००:००  १ : ४० बजे