बाबुराम रायमाझी, भलवाड ।
वाणगंगा नगरपालिका–९ भलवाडमा रहेको नव प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ। सहकारीको समग्र आर्थिक अवस्था, भावी योजना तथा संस्थागत सुदृढीकरणका विषयमा छलफलसहित साधारणसभा भएको थियो ।
साधारणसभामा संस्थाका सचिव दिपक कुँवरले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१/०८२ मा संस्थाले ४२ करोड ४६ लाख ६२ हजार रुपैयाँ बराबरको कुल कारोबार गरेको जानकारी सार्वजनिक गर्नुभएको थियो । उहाँले सहकारीले सदस्यकेन्द्रित सेवा, वित्तीय अनुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै काम गर्दै आएको बताउनुभयो।
त्यसैगरी संस्थाका अध्यक्ष बसन्त खनालले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बचत संकलन, ऋण प्रवाहलाई थप व्यवस्थित बनाउने, उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्ने र सहकारीलाई अझै सबल बनाउने लक्ष्य लिएको बताउनुभयो।
साधारणसभामा लेखा समिति संयोजक निर्मला खरेलले लेखा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आर्थिक गतिविधि पारदर्शी र अनुशासित रहेको उल्लेख गर्नुभयो। साथै उहाँले केही सुधारका सुझावसमेत पेश गर्नुभएको थियो।
कार्यक्रममा सहकारीले विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याउने ४५ जना शेयर सदस्य तथा व्यक्तित्वहरूलाई नगद र मायाको चिनो प्रदान गरी सम्मान गरेको थियो। सम्मानित हुनेहरूमा असल बाल बचतकर्ता लोकेश अधिकारी, सर्वाधिक कारोबारकर्ता नुमलाल आचार्य, उत्कृष्ट ऋणी, उत्कृष्ट शेयर सदस्य, पूर्व सञ्चालक समिति तथा लेखा समिति सदस्यहरू रहेका थिए।त्यस्तै धितो मुल्यांकन ऋण सिफारिस उप समितिका संयोजक छ्त्रमनि पान्डेले
संस्थाको नियम,बिनियम र कार्यबिधि अनुसार शेयर सदस्यहरुको आबस्यकता र माग बमोजिम ऋण प्रबाह गरेको जानकारी गराउनु भएको थियो ।
साधारणसभाका प्रमुख अतिथि तथा वाणगंगा नगरपालिका–९ का वडा अध्यक्ष कमल पौडेलले सहकारीबाट लिएको ऋण उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले देशको वर्तमान आर्थिक मन्दीका कारण सहकारी क्षेत्रमा तरलताको समस्या देखिएको उल्लेख गर्दै, अघिल्ला वर्षको तुलनामा अपेक्षित प्रगति हुन नसकेको अवस्थामा सबै सदस्यको सहकार्य र विश्वास आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा शेयर सदस्य तथा पत्रकार बाबुराम रायमाझी, सल्लाहकार भुवनेश्वर पौडेल, पूर्व लेखा समिति संयोजक लालमणि अधिकारी लगायतले शुभकामना मन्तव्य राख्दै सहकारीको दीर्घकालीन सफलताको कामना गर्नुभएको थियो।
संस्थाका अध्यक्ष बसन्त खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सीता पोख्रेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव दिपक कुँवरले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।
नव प्रभात बचत तथा ऋण सहकारी संस्था आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्यांकनका आधारमा वाणगंगा नगरपालिकाको उत्कृष्ट सहकारीको रूपमा सम्मानित भइसकेको छ। हाल संस्थामा १ हजार ४सय ७ जना शेयर सदस्य आबद्ध रहेका छन्।







प्रतिक्रिया