कपिलवस्तु । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आगामी फागुन २१ गते हुने आमनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ। पार्टीको जिल्ला संगठन समिति कपिलवस्तुले सोमबार बाणगंगा नगरपालिका–४, सिद्धिपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममार्फत उक्त निर्णय सार्वजनिक गरेको हो।
कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य प्रेम सुवेदीले फागुन २१ को निर्वाचन देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरूको डिजाइनमा हुन लागेको आरोप लगाउनुभयो। उहाँका अनुसार यस निर्वाचनबाट गठन हुने सरकारले नेपाली जनताको हितमा काम गर्न नसक्ने भएकाले आमनिर्वाचन बहिष्कार गर्ने निर्णय गरिएको हो।
सुवेदीले गत भदौ २३ गते भएको ‘जेन्जी विद्रोह’ र ओली नेतृत्वको सरकार बर्खास्तीपछि भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको इसारामा सुशीला कार्की नेतृत्वको सरकार गठन गरिएको दाबी गर्नुभयो।
पार्टीले देशभक्त, गणतन्त्रवादी, क्रान्तिकारी, जनवादी तथा बामपन्थी शक्तिहरूबीच राष्ट्रिय राजनीतिक सम्मेलनमार्फत संयुक्त मोर्चा निर्माण गरी आन्दोलन उठाउने, आन्दोलनको बलमा स्वाधीन संयुक्त सरकार गठन गर्ने, त्यस सरकारमार्फत वर्तमान प्रतिक्रियावादी संविधान खारेज गरी जनसंविधान निर्माण गर्ने कार्यनीतिक शृङ्खला तय गरिएको उहाँले जानकारी दिनुभयो। साथै उहाँले वर्तमान संसदीय निर्वाचन प्रणाली जनविरोधी, प्रतिक्रियावादी तथा विदेशी शक्तिको प्रभावमा रहेको आरोप लगाउनुभयो।
यसैगरी पार्टीका जिल्ला सचिव हिमलाल वाग्ले (रविन्द्र) ले प्रेस वक्तव्यमार्फत २०६२/६३ को जनआन्दोलनपछिका राजनीतिक परिवर्तनहरूले जनताको अपेक्षा पूरा गर्न नसकेको दाबी गर्नुभयो। वक्तव्यमा दलाल तथा नोकरशाही पुँजीवाद हाबी हुँदा किसान, मजदुर तथा उत्पीडित वर्गको अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको उल्लेख छ।
पार्टीले संविधानसभा निर्वाचनदेखि हालसम्म भएका निर्वाचनहरूले जनताको जीवनस्तरमा ठोस परिवर्तन ल्याउन नसकेको जनाउँदै राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र जनजीविकामाथि संकट बढ्दै गएको आरोप लगाएको छ। निर्वाचनलाई विदेशी एजेन्डा कार्यान्वयन गर्ने माध्यम बनाइएको दाबीसमेत वक्तव्यमा गरिएको छ।
देशको वर्तमान राजनीतिक संकटको निकासका लागि वैज्ञानिक समाजवाद स्थापना अपरिहार्य रहेको उल्लेख गर्दै पार्टीले त्यसका लागि जनआन्दोलनलाई सशक्त बनाउँदै उत्पीडित वर्गको पक्षमा संघर्ष अघि बढाइने जनाएको छ।
७ पुस २०८२ सोमबार ००:००
0
Shares







प्रतिक्रिया