बाबुराम रायमाझी, भलवाड ।
स्वाधीन अर्थतन्त्रका लागि समावेशी वित्तीय प्रणालीको निर्माण भन्ने मूल नाराका साथ फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १६औँ वार्षिकोत्सवको अवसरमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड बनगाइ शाखाको व्यवस्थापनमा वाणगंगा ७ बनगाइमा वित्तीय साक्षरता कार्यक्रम तथा सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्न गरेको छ।
वाणगंगा नगरपालिका अन्तर्गत वडा नं. ७ र ९ का ५० जना महिलाहरूलाई लक्षित गरी आयोजित उक्त कार्यक्रममा महिलाहरूलाई वित्तीय कारोबार, बचत, ऋण व्यवस्थापन तथा आर्थिक सशक्तीकरणसम्बन्धी वित्तीय साक्षरता प्रदान गर्नुका साथै ५० थान सेनेटरी प्याड वितरण गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा वाणगंगा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष विष्णु गिरीले “स्वास्थ्य नै धन हो” भन्ने कुरालाई आत्मसात गर्दै महिलाहरूको आधारभूत आवश्यकता मध्ये सेनेटरी प्याड अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले महिनावारी महिलाको प्राकृतिक प्रक्रिया भएको उल्लेख गर्दै यस अवधिमा विशेष सरसफाइमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका थिए ।
सेनेटरी प्याडको सही प्रयोगले महिलाहरूलाई सुरक्षित र स्वस्थ राख्न ठूलो सहयोग पुग्ने बताउँदै उनले महिलाको सीप विकास तथा आय–आर्जनका कार्यक्रमका लागि वडा कार्यालयबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
त्यसैगरी कार्यक्रममा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय बुटवलका नायब कार्यकारी अधिकृत सूर्यप्रसाद उपाध्यायले संस्थाले वित्तीय सेवासँगै शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, आवास तथा वैदेशिक रोजगार र लगानीजस्ता क्षेत्रमा पनि निरन्तर काम गर्दै आएको जानकारी गराउदै रचनात्मक र सिर्जनात्मक कार्यक्रममार्फत सामाजिक रूपान्तरणमा संस्थाले उल्लेखनीय योगदान पुर्याउँदै आएको उल्लेख गर्दै वित्तीय कारोबारलाई सुरक्षित र व्यवस्थित बनाउन वित्तीय साक्षरताको महत्वबारे सहभागी महिलाहरूलाई जानकारी गराएका थिए ।
कार्यक्रम जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड बनगाइ शाखाका सञ्चालन अधिकृत गिरिराज रेस्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सिर्जना महतले गरेकी थिइन्। कार्यक्रममा सहभागी महिलाहरूले यस्ता कार्यक्रमले आफूहरूलाई आर्थिक रूपमा सचेत र स्वास्थ्यप्रति जिम्मेवार बनाएको प्रतिक्रिया दिएका थिए।







प्रतिक्रिया