कपिलवस्तु । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को प्रविधि संकायले कपिलवस्तुको वाणगंगा नगरपालिकामा उत्पादन हुँदै आएका परम्परागत हस्तकला सामग्रीको अध्ययन तथा अभिलेख गरेको छ। सो अवसरमा स्थानीय महिला समूह, सहकारी तथा सामुदायिक वन उपभोक्ता समूहसँग हस्तकला सामग्रीको उत्पादन, संरक्षण, आधुनिकीकरण र बजारीकरणका विषयमा अध्ययन तथा छलफल गरिएको हो।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वरिष्ठ प्राविधिक डा. शालिकराम भण्डारीको नेतृत्वमा आएको टोलीमा प्रविधि अधिकृत कविता पाण्डेय, प्रवर्द्धन अधिकृत लिपिका कर्माचार्य तथा प्राविधिकहरू शुभम शाक्य र मनिषा योगी सहभागी हुनुहुन्थ्यो। टोलीले वाणगंगा–११ हथौसास्थित सहकारी तथा वाणगंगा–२ स्थित मनकामना सामुदायिक वनका उपभोक्ता समूहसँग अन्तरक्रिया गरेको थियो।
परम्परागत प्रविधिको आधुनिकीकरण कार्यक्रम अन्तर्गत सजावटका सामग्रीको संकलन, उत्पादन प्रक्रिया र बिक्री व्यवस्थापनका विषयमा विस्तृत छलफल गरिएको नास्टले जनाएको छ। छलफलका क्रममा हस्तकलाका सामग्रीको माग बढ्ने सम्भावना हुदा हुदै पनि मागअनुसार उत्पादन गर्न नसकिएको समस्या औँल्याइएको थियो।
श्री नवज्योति महिला बहुउद्देश्यीय सहकारी संस्थाकी व्यवस्थापक जगरानीदेवी चौधरीले माग अनुसार काम उपलब्ध भए सहकारीका सदस्यहरूलाई नियमित रूपमा संलग्न गराउन सकिने बताउनुभयो। यस्तै, सहकारीकी अध्यक्ष तारावन्त कुमारी चौधरीले बुन्ने कच्चा पदार्थ सधैँ उपलब्ध नहुनु मुख्य समस्या रहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार हाल गाउँघरमै सीमित रूपमा बिक्री हुँदै आएको छ भने बाहिरी बजारबाट अपेक्षाकृत माग आउन सकेको छैन। माग सिर्जना भए महिला दिदीबहिनीहरूलाई सक्रिय बनाएर व्यवसायिक रूपमा सञ्चालन गर्न सकिने उहाँको भनाइ छ।
अध्यक्ष चौधरीले वर्षको एकपटक मात्र कच्चा पदार्थ उपलब्ध हुने, उत्पादनमा धेरै मेहनत लाग्ने जस्ता चुनौतीहरू रहेको बताउनुभयो। आफूले विभिन्न स्थानमा महिला दिदीबहिनीलाई तालिम दिँदै हस्तकलाका सामग्री उत्पादन गरी बिक्री गर्दै आएको जानकारी पनि दिनुभयो। उहाँका अनुसार ढकिया, पेन होल्डर, गमला, हटकेस, कुशन, चकटी, गहना, डस्टबिन, ट्रे लगायतका सामग्रीको माग बढी छ। साथै थाकलबाट टोपी, ब्याग, गमला र पेन होल्डर जस्ता सामग्री बनाउन सकिने बताउनुभयो।
थारू समुदायका परम्परागत हस्तकलाका सामग्री लोप हुँदै जान थालेपछि यसको व्यवसायिक उत्पादन सुरु गरिएको जनाउँदै उहाँले यसबाट हस्तकलाको संरक्षण हुनुका साथै आम्दानीको राम्रो स्रोत बनेको उल्लेख गर्नुभयो।
नास्टका वरिष्ठ प्राविधिक डा. शालिकराम भण्डारीले स्थानीय परम्परागत हस्तकला सामग्रीको प्रवर्द्धनका लागि सरकारी नीतिगत व्यवस्था आवश्यक रहेको बताउनुभयो। उहाँले नास्टको टोलीले स्थानीयस्तरमा उत्पादन हुने हस्तकला सामग्रीको प्रवर्द्धन कसरी गर्न सकिन्छ भन्ने विषयमा सम्बन्धित लक्षित समूहसँग अन्तरक्रिया गरिएको मायादेवी अनलाइनलाइ जानकारी दिनुभयो। कच्चा पदार्थको उपलब्धता, उत्पादन प्रक्रिया र बजार सम्भावनाको अध्ययन गरी आगामी दिनमा नास्टले गर्न सक्ने सहयोग र सम्भावनाबारे अध्ययन गरिएको उहाँले स्पष्ट पार्नुभयो।








प्रतिक्रिया