काठमाण्डौ ।
मध्यपूर्व एशियाको द्वन्द्वका क्रममा संयुक्त अरब इमिरेट्स (यूएई) मा आक्रमणमा परी घाइते भएका सबै नेपाली नागरिक सबै खतरामुक्त रहेका छन् । आक्रमणमा परेर सात जना नेपाली घाइते भएका थिए । घाइते नेपाली नागरिक सबै खतरामुक्त रहेका यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ ।
राजदूतावासले गम्भीर घाइतेसहित सातै जनासँग टेलिफोन सम्पर्क गरेको र उनीहरुले खतरामुक्त रहेको जानकारी गराएका परराष्ट्र मन्त्रालयले जनाएको छ । घाइतेमध्येका चारजनालाई दूतावासका अधिकारीहरूले आजै भेट गरी उनीहरुको अवस्थाका बारेमा बुझेका र आवश्यक सहयोगका लागि समन्वय गर्ने उल्लेख गरेका छन् । बाँकी तीन जनासँग पनि छिट्टै भेट गरी आवश्यक जानकारी लिइने मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो ।
प्रवक्ता क्षेत्रीका अनुसार ६ जना सामान्य उपचारपछि अहिले अस्पतालबाट फर्किएका र गम्भीर चोट लागेको भनिएका थप एकजना नेपालीको पनि उपचार चलिरहेको र खतरामुक्त रहेका छन् ।
यस घटनाका सम्बन्धमा जानकारी प्राप्त हुनासाथ आवश्यक समन्वयका लागि मन्त्रालयले दूतावासलाई निर्देशन दिएको थियो । यूएईका सम्बन्धित निकायहरूबाट समयमै उनीहरुलाई उचित उपचारको प्रबन्ध गरिएको थियो । राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई आवश्यक पर्ने कुनै पनि प्रकारको सहयोगका लागि प्रतिबद्ध र तयार रहेको जनाएको छ ।







प्रतिक्रिया