एजेन्सी ।
विश्व बजारमा कच्चा तेलको मूल्य फेरि १०० डलर प्रति ब्यारेल नाघेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गमा नाकाबन्दीको घोषणा गरेसँगै तेलको मूल्य बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
कच्चा तेलको मूल्य झण्डै ८ प्रतिशतले बढेर प्रतिब्यारेल १०२ डलर पुगेको छ । यस्तै अमेरिकी कच्चा तेलको मूल्य १०४ डलरसम्म उकालो लागेको र यसले विश्व शेयर बजारमा समेत नकारात्मक प्रभाव पारेको सीएनएनले जनाएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई आफूखुशी तेल बेच्न नदिने चेतावनी दिनुभएको छ । यसले खाडी क्षेत्रमा तनाव थप बढाएको छ । हर्मुज विश्वकै सबैभन्दा महत्वपूर्ण तेल मार्गमध्ये एक हो, त्यहाँबाट दैनिक ठूलो परिमाणमा कच्चा तेल ओसारपसार हुन्छ ।
यता इरानी सेनाले हर्मुज जलमार्गमा आउने सैन्य जहाजहरूमाथि कडा कारबाही गर्ने जनाएको छ । यसले मध्यपूर्वमा सम्भावित युद्धको जोखिम अझ बढाएको छ । विश्लेषकहरुका अनुसार तेलको मूल्य बढ्दै गएमा पेट्रोलियम पदार्थ महँगो हुने, खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको मूल्यमा पनि वृद्धि हुने जोखिम बढेको छ ।







प्रतिक्रिया